नेप्सेले नाघ्याे १३१० अंक, एक अर्ब ६९ करोडको कारोबार, दर्जनौं कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

  २०७६ माघ २ गते ३:३५       विकासन्युज

काठमाडौं । लामो समयपछि नेप्से परिसूचकले १३ सय अंक पार गरेको छ । पछिल्लो समय सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको हो ।

एक सातादेखि निरन्तर बढेको बजार बिहीबार पनि २६ अंकले बढेर १३१०.२३ अंकमा पुगेको छ । जुन गत आठ महिना एताकै उच्च अंक हो । करिब ८ महिना अघि परिसूचक १३१९ अंकमा रहेको थियो ।

बजारमा परिसूचकमासँगै सेयर कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । बिहीबारको बजारमा मात्रै एक अर्ब ६९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा एकैदिन ७९ करोड रुपेयाँ बढीको सेयर किनबेच भएको छ । बुधबार जम्मा ९० करोडको सेयर कारोबार भएको थियो ।

बिहीबार कूल १८१ कम्पनीको ५० लाख २५ कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य १०.०६ प्रतिशतले बढेको छ । त्यस्तै, विभिन्न ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मल्टिप्रपोज फाइनान्स, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई लघुवित्त र तिनाउँ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।