देवः विकास बैंकको सेयर कारोबार रोक्का

  २०७६ माघ २ गते १:२१       विकासन्युज

काठमाडौं । देवः विकास बैंकको बिहीबार(पुस २ गते)देखि सेयर कारोबार रोक्का भएको छ । कुमारी बैंकसँग एक्विजिशनमा जाने प्रयोजनको लागि विकास बैंकको सेयर कारोबार रोक्का भएको हो ।

कुमारी बैंक र देवः विकास बैंकबीच प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै संस्थाको दोश्रो बजारमा कारोबार बन्द भएको हो ।

बुधवार नागपोखरीस्थित काठमाडौं मेरिएट होटेलमा आयोजित समारोहमा सो सम्बन्धि प्राप्तीको लागि (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्र(एमोयू)मा कुमारी बैंक लिमिटेडको तर्फबाट संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवाली र देव विकास बैंकको तर्फबाट संचालक समितिका सदस्य भरत बहादुर हमालले हस्ताक्षर गरेका हुन् ।

उक्त एक्विजिशन पश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब रुपैयाँ नाघ्ने छ । यसैगरी बैंकको शाखा संजाल २०० भन्दा बढी हुने कम्पनीले जनाएको छ ।