६ महिनाकाे सेयर बजारः साढे १६ अर्बको ऋणपत्र, ३२ अर्बकाे कारोबार

  २०७६ माघ १ गते ४:००       विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बार्डले पुँजी बजारमा कूल १६ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएकाे छ । बार्डले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा सार्वजनिक निष्काशन मध्ये सो मात्राको ऋणपत्र निष्काशन गर्न अनुमति दिएकाे हो । जुन कूल सार्वजनिक निष्काशन रकमको ८३ प्रतिशत हो ।

साउनदेखि पुससम्ममा २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन भएको थियो । सो अवधिमा १६ वटा सूचीकृत संस्थाले सो मात्राको सेयर निष्काशन गर्न अनुमति पाएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा २१.२ प्रतिशत बढी हो ।

त्यस्तै, दोश्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीको संख्यामा भने वृद्धि भएर २१२ पुगेको छ । सूचीकृत कम्पनीको संख्या वृद्धि भएको बजारमा कारोबार रकम भने घटेको छ । साउनदेखि पुससम्ममा कूल ३२ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत वर्षको तुलनामा २.८ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा बजारको पुँजीकरण बढेर १६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, फ्लोट बजार पुँजीकरणमा पनि वृद्धि भएर ५ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो ६ महिनाको बजारमा आईपीओ निष्काशन घटेको छ । सो अवधिमा एक जलविद्युत कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएका थिए । जसमध्ये सर्वसाधारणमा ७ करोड अर्थात २१ प्रतिशत मात्र बिक्री भएको बोर्डले जनाएको छ ।

अघिल्लो आवको सोही अवधिमा ९ जलविद्युत कम्पनी र दुई लघुवित्त गरी ११ वटा कम्पनीले आईपीओ जारी गरेका थिए । उनीहरुले कूल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएका थिए जुन सबै लगानीकर्तामा बिक्री भएको थियो ।

त्यस्तै, पहिलो ६ महिनामा ३७ कम्पनीको ११ अर्ब ६ करोड रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ प्रतिशत बढी हो । अघिल्लो आवको पुस मसान्तसम्मा कूल ८ अर्ब ६० करोड रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको थियो ।