नेप्सेको ४० प्रतिशत नगद लाभांश पारित, विशेष प्रस्ताव नै संशोधन भएन

  २०७६ पौष २९ गते २:२७       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार(पुस २९ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको उक्त दरले नगद लाभांश पाउने छन् । हाल नेप्सेको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४० प्रतिशतका दरले शेयरधनीलाई २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकमा सीए नेरेन्द्र भट्राईलाई नियुक्त गरेको छ । साथै, निजको पारिश्रमिक मूल्य अभिवृद्धि कर बाहेक एक लाख रुपैयाँ तोकिएको छ सभाले जानकारी दिएको छ ।

त्यस्तै, सञ्चालक समितिले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव राखेको थियो । तर उक्त प्रस्ताव भने संशोधन नभएको सभाले जानकारी दिएको छ ।

यस विषयमा प्रष्ट पार्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने- ‘उक्त संसोधनको लागि नेपाल धितोपत्र बोर्ड र नेपाल सरकारको अनुमति लिनुपर्ने, सो क्रममा ओटिसीमै शेयर कारोबार गर्दा करको कारणले समय लाग्यो । अब त्यस विषयमा धितोपत्र बोर्ड र अर्थमन्त्रालयसँग समन्वय गरेर उनीहरुको निर्देशन अनुसार काम अगाडि बढाउँछौं । यदि त्यस्तै, आवश्यक पर्यो भने विशेष साधारणसभाबाट पनि काम अगाडी बढाउने छौं ।’