जीवन बीमाले बढायो सोमबारको बजार, एनएलआईसीको मात्रै १० करोडको काराेबार

  २०७६ पौष १४ गते ३:२४       विकासन्युज

काठमाडौं । सोमबारको बजारमा जीवन बीमा समूह २५६ अंकले उकालो लागेको छ । उक्त समूह त्रिपल डिजिटले बढेसँगै त्यसको प्रभाव नेप्से परिसूचकमा परेको छ । आइतबार ओरालो लागेको बजार सोमबार भने ५.५३ अंकले उकालो लागेर ११६७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो ।

बजारमा चार समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । जीवन बीमा समूह २५६, निर्जीवन बीमा ६१ र उत्पादन मूलक समूह ५९ अंकले उकालो लागेको छ ।

समूह परिसूचकसँगै कारोबारको तुलनामा पनि जीवन बीमा कम्पनी नै अगाडि रहेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ९८० रुपैयाँ रहेको छ । त्यस्तै शिवम् सिमेन्टको ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बजारमा कूल ६२ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोमबार कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ०४४ कित्ता शेयर किनबेच भएको छ ।