शेयर बजार करेक्सनतर्फः नेप्से सामान्य अंकले घट्दा ६८ करोडको शेयर किनेबेच

  २०७६ मार्ग २९ गते ३:२९       विकासन्युज

काठमाडौं । शेयर बजार पुनः करेक्सनतर्फ लागेको छ । गत साता निरन्तर उकालो लागेर ११७२ अंकमा पुगेको परिसूचक आइतबार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन उतारचढाव देखिएको बजार अन्तमा ४.७८ अंकले घटेर ११६७.८६ अंकमा अडिएको छ । जुन पछिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत कम हो ।

परिसूचकमा जस्तै कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कूल १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन कूल ७६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो ।

आइतबार एनएमबि बैंकको सबैभन्दा बढी अर्थात ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ५४ लाखको साधारण शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ करोड ८५ लाख रुपैयाँको संस्थापक शेयर कारोबार भएको छ ।

बजारमा तीन समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १५१ अंकले घटेको छ । ट्रेडिङ १५, बैंकिङ २.८२ र अन्य समूह २.२९ अंकले उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।