लक्ष्मी लघुवित्तको २६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २७ करोड नाघ्यो

  २०७६ मार्ग २० गते ४:३३       विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २६ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव पारित गरेको हो ।

२०७६ आषाढ मसान्तमा कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको थियो । १५ प्रतिशत अर्थात ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ नाघेको छ । सभाले पारित गरेसँगै संस्थाले कर समेत ११.३२ प्रतिशत अर्थात २ करोड ७३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

२०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले ५२ जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले ४ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।