सूर्योदय लघुवित्तले ४६% लाभांश दिने, शतप्रतिशत हकप्रद पछि चुक्ता पुँजी ४३ करोड नाघ्ने

  २०७६ मार्ग १२ गते ३:४०       विकासन्युज

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४६.८५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४४.४८ प्रतिशत बोनस शेयर र २.३४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

साथै, सभाले सूर्योदय लघुवित्त वित्तीय संस्था र त्रिलोक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त वित्तीय संस्था ‘सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड’ गरि सो नामबाट वित्तीय कारोबार गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । मर्ज पश्चात सेयर आदान प्रदान अनुपात एक बराबर ०.९७ निर्धारण गरिने संस्थाले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड ५९ लाख रुपैयाँ रहेको छ । ४४.४८ प्रतिशत बोनस शेयर पछि लघुवित्तको चुक्ता पुँजी १५ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । त्रिलोक लघुवित्त वित्तीय संस्थाको हाल कायम चुक्ता पुँजी ६ करोड ९ लाख रुपैयाँको शेयर स्वाप रेसियो(१ः०.९७) बाट चुक्ता पुँजी ५ करोड ९१ करोड रुपैयाँ गरि कूल २१ करोड ५० लाख रुपैयाँ कायम हुने छ । त्यसपछि उक्त पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरी ४३ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने संस्थाले जनाएको छ ।

संचालक समितिको प्रस्ताव पारित गर्न संस्थाले आगामी पुस ५ गते वार्षिक साधारणसभा बोलाएको छ ।