साेमबारकाे सेयर बजार घटेन तर नेप्से रातो

  २०७६ मार्ग ९ गते ३:४३       विकासन्युज

काठमाडौं । सोमबारको बजार स्थिर रहेको छ । आइतबार १० अंकले घटेर १११०.०८ अंक बन्द भएको नेप्से सोमबार पनि बराबर अंकमा रहेको छ । १११० अंकबाट कारोबार शुरु भएको साेमबारकाे बजार दिउँसो घटेर ११०२ अंकमा झरेको थियो । त्यसपछि विस्तारै बढेर बजार बन्द हुँदा १११०.०८ अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा बजार नघटेकाे देखिए पनि नेप्सेले भने रातो सिङ्नल देखाएको छ ।

नेप्सेले दशमलब भन्दा पछि दुई डिजिट मात्र देखाउने गरेको छ । दशमलब भन्दा दुई डिजिटको अंकमा घटबढ नभएकोले नेप्से स्थिर देखिएको हो । तर दशमलब भन्दा दुई डिजिट पछिको अंकमा सामान्य गिरावट देखिएकाले नेप्से रातो देखिएको जानकारहरू बताउँछन् ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने अघिल्लो दिनको तुलनामा ०.५२ अंकले बढेर २४५.३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ०.२१ प्रतिशतले बढी हो ।

बजारमा कूल १६८ कम्पनीको २८ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८३ लाख रुपैयाँ बराबरको बढी कारोबार भएको छ । अघिल्लो दिनको बजारमा कूल २८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको ३ करोड ५२ लाख र एनएमबि बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन जीवन बीमा समूह २४ अंकले घटेको भने निर्जीवन बीमा समूह १८ अंकले घटेका छन् । ट्रेडिङ, बैंकिङ्, विकास बैंक र म्युचअल फण्ड सामान्य अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।