नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांशदर घटायो, बाेनस र नगद गरी १९ प्रतिशत मात्र

  २०७६ कार्तिक २७ गते १२:५४       विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि सेयरधनीलाई वितरण गर्दै आएको लाभांशदर घटाएको छ । यसअघि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको बैंकले अब १९ प्रतिशत मात्र दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक २७ गते बसेको बैंक संचालक समितिको बैठकले गरेको हो ।

समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । १०.५ प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रुपैयाँ नाघ्ने छ ।

बैंकले अघिल्लो वर्षमा सेयरधनीलाई १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।