सोमबार पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७६ कार्तिक २५ गते ३:४८       विकासन्युज

काठमाडौं । सोमबारको बजारमा विभिन्न पाँच कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । दोहोरो अंकले बढेको बजारमा हिमालयन डिष्टिलरी, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र राधी विद्युत कम्पनीका लगानीकर्ताले ९ प्रतिशत अर्थात सो भन्दा बढी कमाएका हुन् ।

जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य सो मात्राले बढेपछि सर्किट ब्रेक लागेको हो । अघिल्लो कारोबारको तुलनामा कम्पनीको सेयर मूल्य १५५ रुपैयाँले बढेर प्रतिकित्ता १७१० रुपैयाँ पुगेको छ । सेयरधनीलाई १०२ प्रतिशत लाभांश दिने घोषणासँगै कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको हो ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । आइतबारको तुलनामा संस्थाको सेयर मूल्य ४५ रुपैयाँले बढेर प्रतिकित्ता ५०० रुपैयाँ पुगेको हो ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ९.७२ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य ७ रुपैयाँले बढेर प्रतिकित्ता ७९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, आँखुखोला जलविद्युत र राधी विद्युतको सेयर मूल्य क्रमशः ९.४३ र ९.०२ प्रतिशतले बढेको छ । बजारमा यी दुई हाइड्रोको सेयर मूल्य क्रमशः प्रतिकित्ता ७९ र ५८ रुपैयाँ रहेको छ ।

एनएमबि बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य क्रमशः ७.५८, ७.५३ र ७.०४ प्रतिशतले बढेको छ । सोमबार मात्रै लाभांश घोषणा गरेको बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।

कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो ।