नेप्से दोहोरो अंकले बढ्दा ५५ करोडको कारोबार, सबैभन्दा बढी एनएमबि बैंकको

  २०७६ कार्तिक २५ गते ३:२५       विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । पछिल्लो समय ओरालो लागिरहेको नेप्से सोमबार १३.७७ अंकले उकालो लागेर ११४५.५७ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा १.२२ प्रतिशतले वृद्धि हो ।

सो दिन परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । केही साता देखि २० देखि ३० करोडमा सीमित हुँदै आएको सेयर कारोबार सोमबार ५४ करोड ९९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।  सोमबार १७५ कम्पनीको कूल १९ लाख ९५  हजार ०४८ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन १३ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बैंकले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताहरु बढी आकर्षित भएका हुन् । सो दिन बैंकको सेयर मूल्य ७.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, प्रभु बैंकको मात्रै १० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ३३ लाख रुपैयाँ बराबरको साधारण र ३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक सेयर गरी सो मात्राको सेयर किनबेच भएको हो ।माछापुच्छ्रे बैंकको ३ करोड ५९ लाख, नेपाल बैंकको एक करोड ७६ लाख, नबिल बैंकको एक करोड १६ लाख, चिलिमे हाइड्रोपावर कम्पनीको एक करोड ५ लाख  र एनसीसी बैंककाे एक कराेड २ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएका छन् । प्राइम कमर्शियल बैंकको दुई करोड १३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएकामध्ये अन्य बाहेक सबैसमूह उकालो लागेका छन् । जीवन बीमा र निर्जीवन बीमा क्रमशः ७९ र ६७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक, होटल, माइक्रोफाइनान्स, विकास बैंक र बैंकिङ समूह दोहोरो अंकले बढेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । अन्य समूह भने सामान्य ०.६ अंकले ओरालो लागेको छ ।