१०२ प्रतिशत लाभांश घोषणासँगै हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सर्किट ब्रेक

  २०७६ कार्तिक २५ गते १:१६       विकासन्युज

काठमाडौं । सोमबार बजार खुलेको केही समयमै हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । संस्थाले १०२.६३ प्रतिशत लाभांश घोषणा गरेसँगै संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

बजार खुल्दा संस्थाको सेयर मूल्य प्रतिकित्ता १५५५ रुपैयाँ थियो । केही समयमै उक्त मूल्य १५५ रुपैयाँले बढेर प्रतिकित्ता १७१० रुपैयाँ पुगेको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर समेत ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आइतबार बसेको संचालक समितिको बैठकले गरेको हो ।

उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको सभा आगामी पुस १ गते मंगलबार पर्साको लिपनिविर्ता स्थित कम्पनीको रजिष्र्टड कार्यालयमा बस्दै छ ।

सो प्रयोजनको लागि मंसिर १५ गते कम्पनीको बुक क्लोज हुँदै छ । मंसिर १३ गतेसम्म नेप्से मार्फत कारोबार भई कम्पनीको सेयरधनी दर्ता कितावमा नाम दर्ता गराएका सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

हाल संस्थाले प्रस्ताव गरेको लाभांशदर हालसम्मकै उच्च तथा आकर्षक हो । अघिल्लो वर्ष संस्थाले ६८.४२ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । ६ वर्षदेखि नगद लाभांश वितरण गर्दै आएको संस्थाले हरेक वर्ष सेयरधनीलाई दिने लाभांशदर वृद्धि गर्दै आएको छ । संस्थाले आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत, २०७१/७२ मा २०, २०७२/७३मा २०, २०७३/७४ मा २१.०५, २०७४/७५मा २१.०५ र २०७५/७५मा ६८.४२ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।