स्वदेशी लघुवित्तले ३५ प्रतिशत लाभांश दिने, मंसिर ६ गतेदेखि बुक क्लोज

  २०७६ कार्तिक २२ गते १२:२९       विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव हालै बसेको संस्थाको संचालक समितिको बैठकले गरेको हो । साथै, समितिले ४ बराबर १ को अनुपात अर्थात २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्तावलाई आगामी मंसिर १६ गते बस्ने पाँचौं वार्षिक साधारणसभाले अनुमोदन गर्दै छ । सभा सो दिन बिहान ११ बजे इटहरीको सुनसरीस्थित पाथीभराको सभाहलमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको मंसिर ६ गतेदेखि मंसिर १६ गतेसम्म बुक क्लोज हुने छ ।

हाल संस्थाको चुक्ता पुँजी २३ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ६० लाख रुपैयाँ कायम हुने छ । बोनस पश्चात कायम भएको पुँजीमा २५ प्रतिशत हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ३४ करोड ४५ लाख रुपैयाँ नाघ्ने छ ।