ओमसँग मर्जपछिको पहिलो कारोबारमै एनएमबि बैंकको ११ करोडको सेयर किनबेच

  २०७६ कार्तिक २१ गते ३:४०       विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग मर्जपश्चात पहिलो दिनको कारोबारमा एनएमबि बैंकको ११ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम बिहीबार कारोबारमा आएका १६३ कम्पनीमध्ये सबैभन्दा बढी हो ।

कारोबार रकममा वृद्धि भएको बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । प्रतिकित्ता ३५१ रुपैयाँदेखि कारोबार शुरु भएको बैंकको सेयर मूल्य बजार बन्द हुँदा ४.३२ रुपैयाँले घटेर प्रतिकित्ता ३४७ रुपैयाँमा झरेको छ । दिनभरको बजारमा बैंकको सेयर बेच्नेको भन्दा किन्नेको बढी चाप देखिएको थियो । मूल्य घटेर प्रतिकित्ता ३३३ रुपैयाँसम्म पुगेको थियो । उक्त मूल्यले बजार बन्द हुने बेलामा गति दिएको हो ।

समग्रमा बिहीबारको नेप्से परिसूचक ६.०५ अंकले घटेर ११३१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । बिहीबारको बजारमा कूल १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँमा किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १७ करोड रुपैयाँ बढी हो ।

प्रभु बैंकको ५ करोड ६५ लाख, नेपाल बैंकको दुई करोड ८१ लाख, नबिल बैंकको एक करोड ७७ लाख साधारण सेयर र प्रभु बैंकको एक करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी साल्ट टे«डिङ कर्पोरेसनको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । ट्रेडिङ, निर्जीवन बीमा र म्युचअल फण्ड समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।