अर्थमन्त्रीको अभिव्यक्तिले २ दिन बढेको सेयर बजार पुनः १८.१२ अंकले घट्यो

  २०७६ असोज २ गते ३:३०       विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण लगातार २ दिनमा ५० अंकले उकालो लागेको सेयर बजार साताको अन्तिम दिन आज १८.११ अंकले ओरालो झरेको छ ।

सेयर बजारमा लगानी गर्ने उपयुक्त अवसर आएको छ भन्ने अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तीपछि मंगलवार २६.९१ र बुधबार २२.६८ अंकले सेयर बजार बढेको थियो । साताको शुरुका २ दिन दोहोरै अंकले घटेको बजारले अर्थमन्त्रीको अभिव्यक्तिका कारण २ दिन उकालो यात्रा तय गरे पनि तेश्रो दिन फेरी उही ओरालो झरेको हो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८.११ अंकले घटेकोे छ । १.५४ प्रतिशतले घट्दा परिसूचक ११५५.३० बिन्दुमा पुगेको हो ।

बिहीबार सेयर बजारमा १ सय ६६ कम्पनीले कारोबार गरेका छन् । १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका २ सूचक हरियो देखिएका छन् । ट्रेडिङ्ग समूह २.३७ र म्युचुअल फण्ड ०.०२ अंकले बढेका हुन् ।

त्यसैगरी, बैँक समूह १४.७९, होटल समूह ४८.९३, विकास बैँक समूह ११.७८, जलविद्युत समूह १३.२२, वित्तीय समूह ०.६९, निर्जीवन बीमा समूह १०५.३२, उत्पादनमूलक समूह ४४.१२, अन्य समूह १८.२४, माइक्रोफाइनान्स समूह १२.५६, जीवन बीमा समूह १०५.६ अंकले घटेका छन् ।

समता माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ८.४६ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।