सिभिल बैंकको ४ करोड रुपैयाँ बराबरको संस्थापक समूहको सेयर किनबेच

  २०७६ भाद्र २३ गते ३:३०       विकासन्युज


काठमाडौँ । साताको पहिलो दिनदेखि नै ओरालो लागेको नेप्से परिसूचक आज दोश्रो दिन झण्डै दोहोरो अंकले घटेको छ ।
सोमबार ९.५४ अंकले नेप्से घटेको हो । ०.८१ प्रतिशतले परिसूचक घट्दा ११६८.९१ बिन्दुमा पुगेको छ । आज १७३ कम्पनीका १४ लाख २८ हजार ८ सय ३८ कित्ता सेयर किनबेच हुँदा २९ करोड ९२ लाख ७६४ रुपैयाँ बराबरको कारोबार भयो ।

बजार घटेको दिन उत्पादनमूलक समूह बाहेक सबै सूचक राताम्मे भए । उत्पादनमूलक समूह ५.३९ अंकले बढेको हो । उता बैंकिङ समूह ६.८१, ट्रेडिङ समूह ४.७३, होटल समूह ४४.५९, विकास बैंक समूह ३.०३, हाइड्रोपावर समूह ८.४६, वित्त समूह २.४८, निर्जीवन बीमा समूह ६६.०८, अन्य समूह १०.८३, लघुवित्त समूह १३.७६, जीवन बीमा समूह ६४.६ र म्युचुअल फण्ड ०.१३ अंकले घटेका हुन् ।

बजार घटेको दिन आँधीखोला लघुवित्तका सेयरधनीले सबैभन्दा बढी ५.१८ प्रतिशतले नाफा कमाएका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी ५.३१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंक लिमिटेडको भएको छ । सिभिलको एकै दिन ४ करोड रुपैयाँ बराबरको संस्थापक समूहको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले जनाएको छ ।