नेप्से १४.४५ अंकले ओरालो, कारोबार रकममा भने सुधार

  २०७६ भाद्र १६ गते ४:३०       विकासन्युज


काठमाडौँ । साताको दोश्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १४.४५ अंकले परिसूचक घटेकोे हो । १.२२ प्रतिशत परिसूचक घट्टा ११७०.३४ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १७१ कम्पनीका १३ लाख ८० हजार ६ सय ६० कित्ता सेयर किनबेच हुँदा ४० करोड ७५ लाख ६९ हजार ७१२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ । हिजो ११.६३ अंकले सेयर बजार घट्दा २९ करोड ७३ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज सबै परिसूचक राताम्मे भए । बैंकिङ समूह १२.५९, होटल समूह ०.३४, विकास बैंक समूह १२.९, जलविद्युत समूह १४.७४, वित्त समूह ६.०४, निर्जीवन बीमा समूह ७१.२७, उत्पादनमूलक समूह २०.२, अन्य समूह ७.३६, लघुवित्त समूह २४.९८, जीवन बीमा समूह ९५.६८ र म्युचुअल फण्ड ०.०६ अंकले घटेका छन् ।

बजार घटेको दिन दिव्यस्वरी हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै ५.४५ प्रतिशतले नाफा कमाएका छन् भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ७.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।