झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उस्तै

  २०७६ श्रावण २७ गते ३:३२       विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन झण्डै ५ अंकले घटेको नेप्से परिसूचक दोश्रो दिन सोमबार भने झिनो अंकले बढेको छ । सोमबार ०.१३ अंकले परिसूचक बढेको हो । परिसूचक ०.०१ प्रतिशतले बढ्दा १२३३.८५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १७१ कम्पनीका १८ लाख २१ हजार ८२२ कित्ता सेयर किनबेच हुँदा ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै मात्र बढेको छ । हिजो १६६ कम्पनीका ११ लाख ४५ हजार ५०७ कित्ता सेयर किनबेच हुँदा ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँको कारोबार भएको थियो ।

झिनो अंकले बजार बढेको दिन बैंकिङ समूह, ट्रेडिङ समूह, जलविद्युत समूह, निर्जीवन बीमा समूह र अन्य समूह घटेका छन् भने बाँकी समूहमा हरियाली छाएको छ ।

होटल समूह २०.५९, विकास बैंक समूह ५.२१, वित्त समूह २.९१, उत्पादनमूलक समूह ८.१५, लघुवित्त समूह ५.०५, जीवन बीमा समूह १९.६१ र म्युचुअल फण्ड ०.०४ अंकले बढेका हुन् । त्यसैगरी बैंकिङ समूह ०.४२, ट्रेडिङ समूह ६.२५, जलविद्युत समूह २.५२, निर्जीवन बीमा समूह ३४.३२ र अन्य समूह ०.८५ अंकले घटेका छन् ।

झिनो अंकले बजार बढेको दिन नाडेप लघुवित्तीय संस्था लिका सेयरधनीहरुले सबैभन्दा बढी ९.८९ प्रतिशतले कमाएका छन् भने विशाल बजार कम्पनी लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।