तीन कम्पनीको ८१ लाख कित्ता सेयर सूचिकृत, कसको कति ?

२०७६ ज्येष्ठ ३१ गते ६:०९ - विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएको छ । सातामा चार दिन मात्र खुलेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोपावरको गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

जसमध्ये स्वाभिमान लघुवित्त र यूनियन हाइड्रोको साधारण सेयर(आईपीओ) र नेपाल कम्युनिटीको बोनस सेयर सूचिकृत भएको हो ।

स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६१० कित्ता र यूनियन हाइड्रोको ७५ लाख कित्ता आईपीओ सूचिकृत भई दोश्रो बजारमा कारोबार समेत भइसकेको छ । स्वाभिमानको स्टक सिम्बोल ‘एसएमएफबीएस’ र यूनियन हाइड्रोको ‘यूएनएचपीएल’ बाट कारोबार भएको छ ।

त्यस्तै, नेपाल कम्युनिटीको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।