वेष्टर्न डेभलपमेन्ट बैंक असार १२ गते साधारणसभामा जाँदै, १४% नगद लाभांश दिने प्रस्ताव

  २०७६ ज्येष्ठ १९ गते १:२३       विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंक आगामी असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा बस्न लागेको हो ।

सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, दुई संस्था गाभिएपश्चात डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ । संस्थाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सो मात्रामा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २०७५ असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, हाल कायम रहेको संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपातलाई परिवर्तन गर्ने भएको छ । उक्त अनुपातलाई परिर्वतन गरी ५१ः४९ गर्ने संस्थाको प्रस्ताव रहेको छ । यसअघि संस्थाको संस्थापक र सर्वसाधार सेयरधनीको सेयर संरचना अनुपात ५५.१७:४४.८३ रहेको थियो ।

साथै, साधारणसभामा जाने प्रयोजनको लागि हाल बुक क्लोज भइरहेको यस संस्थाको आगामी असार २६ गतेसम्म बुक क्लोज हुने छ ।