स्वाभिमान लघुवित्तको आईपीओमा ३२ गुणा बढी आवेदन, जनसेवीमा कति ?

  २०७६ वैशाख ३१ गते ६:००       विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ३२.६६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले कुल ६० लाख ६१ हजार ७७० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ ।

स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

त्यस्तै, जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४.१९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६१ करोड ४२ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख ३५ हजार ६२१ जना आवेदकले कुल ६१ लाख ४२ हजार ६४० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, जनसेवीले कूल ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । सो मध्ये कर्मचारीलाई ७ हजार १४५ कित्ता र म्युचुअल फण्डलाई २३ हजार १६५ कित्ता छुट्याई बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

सेयरमा मागभन्दा बढी आवेदन परेपछि यी दुबै संस्थाले मंगलबार नै सेयर बिक्री बन्द गरेका हुन् । दुबै संस्थाले गत वैशाख २७ गते शुक्रबारदेखि वैशाख ३१ गते सो मात्राको सेयर बिक्री खुला गरेका थिए । उक्त सेयरमा न्युनतम १० कित्ता सेयर भर्न पाउने व्यवस्था रहेको थियो ।