‘सिटिजन्स म्युचअल फण्ड २’ ले एक अर्बको फण्ड जारी गर्दै, हजार रूपैयाँमै लगानी गर्न पाइने

  २०७६ वैशाख ३१ गते ७:१६       विकासन्युज

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स म्युचअल फण्ड २’ ले एक अर्ब रुपैयाँको म्युुचअल फण्डको बिक्री गर्ने भएको छ । संस्थाले प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० करोड म्युुचअल फण्ड बिक्री खुल्ला गर्न लागेको हो ।

सो मध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रर्वधक एनआईसी एशिया बैंकको लागि र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गर्ने संस्थाले जनाएको छ ।

फण्ड निष्कासन तथा बिक्री प्रवन्धक सिबिआईएल क्यापिटल लिमिटेडले आगामी जेठ ९ गतेदेखि उक्त फण्डको बिक्री गर्ने छ । जुन छिटोमा जेठ १३ गते र ढिलोमा असार ८ गते बैंकिङ् समय पश्चात बन्द हुने छ । जसमा सर्वसाधारणले न्युनतम एक सय देखि २ करोड इकाईसम्मको फण्ड खरिद गर्न सक्ने छन् । अर्थात इच्छुक लगानीकर्ताले एक हजार रुपैयाँदेखि २० करोड रुपैयाँ सम्मको आवेदन दिन पाउने छन् ।

‘सिटिजन्स म्युचअल फण्ड २’ सात वर्षे बन्दमुखी योजना हो । जसको आकार एक अर्ब रुपैयाँको छ । जुन बाँडफाँड भएको मितिले सातौँ वर्षमा परिपक्व हुने संस्थाले जनाएको छ ।