निरन्तर बढिरहेको नेप्सेमा लाग्यो ब्रेक, कारोबार रकममा भने वृद्धि कायमै

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । नयाँ वर्ष लागेयता निरन्तर बढीरहेको बजारमा सोमबार भने एक्कासी ब्रेक लागेको छ । करिब दुई सातादेखि दैनिक दोहोरो अंकले उकालो लागेको बजार सोमबार भने ७.२६ अंकले ओरालो लागेको छ ।

सो दिनको परिसूचक आइतबारको तुलनामा ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा झरेको छ । आइतबारको बजारमा नेप्से करिब ३२ अंकले उकालो लागेको थियो ।

निरन्तर बढीरहेको बजार एक्कासी ओरालो लाग्दा बजार करेक्सनतर्फ लागेको भन्ने बुझिन्छ । नेप्से घटेर करेक्सनतर्फ लागेता पनि कारोबार रकममा भने वृद्धि कायमै देखिएको छ ।सोमबारको बजारमा पनि कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको छ । सो दिन कुल १६८ कम्पनीको एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब एक करोड रुपैयाँ बढी हो । आइतबार कुल एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो दिन जस्तै सोमबार पनि बढी कारोबार गर्ने सूचीमा अधिकांश वाणिज्य बैंक परेका छन् । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सिभिल, प्रभु, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि र एभरेष्ट बैंकको ३/३ करोडको हाराहारीको सेयर किनबेच भएको छ ।

बढी कारोबार गर्ने सूचीमा वाणिज्य बैंक परेता पनि बैंकिङ समूहको उपसूचक ओरालो लागेको लागेको छ । आइतबार ४ प्रतिशतले उकालो लागेको बैंकिङ समूह सोमबार १.१९ प्रतिशतले ओरालो लागेको छ । सोमबार जीवन, निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः १५४, ६४ र २३ अंकले हरिया भएका छन् भने बाँकी कारोबारमा आएका सबैसूचक राताम्मे देखिएका छन् ।