८.४३ अंकले घट्यो नेप्से, सोल्टी होटलको सबैभन्दा बढी कारोबार 

  २०७६ भदौ ३ गते १७:५०     विकासन्युज


काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

सोमबार ७ दशमलव २३ अंकले बढेको नेप्से परिसूचक आज भने ८.४३ अंकले घटेर एक हजार २१३.६३ अंकमा झरेको छ । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता सेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने सेयर घटेको छ । व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बीमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बीमा ५६.१६ अङ्कले घटेको छ ।

कारोवार आधारमा आज होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड ३५ लाख ८४ हजार ८९५ बराबरको सेयर कारोवार भएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ६५ लाख ६० हजार २८०, एनआइसिएसिया बैंक रु एक करोड ३२ लाख ९७ हजार १७१, नेपाल बैंक लिमिटेड रु एक करोड ३४ लाख एक हजार ४८०, नबिल बैंक रु ९७ लाख ४१ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार लिमिटेड रहेको छ । सो कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए । ग्रीन डेभलपमेन्ट बैंक ३.७७, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एण्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले २ प्रतिशतले कमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ९.५६ प्रतिशतले गुमाए । दिव्येश्वरी हाइड्रोपावर पाँच, हिमालयन पावर पार्टनर ४.९३, गुराँस लघुवित्त वित्तीय संस्था ४.७९, अरुण काबेली पावर ४.२९ र नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.०६ प्रतिशतले गुमाए ।