स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, गत वर्षको भन्दा बढी

  २०७६ कार्तिक ४ गते १५:०५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त नगद लाभांशदर अघिल्लो वर्षकोभन्दा ५ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले सेयरधनीलाई १७.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नगद लाभांश वितरण गर्ने बैंकको उक्त प्रस्ताव सोमबार मात्रै बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । बैंकले आफ्ना सेयरधनीलाई एक अर्ब २५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।