सेयर लगानीकर्ताहरुले गुहारे प्रधानमन्त्री, भेटघाटका लागि समय दिन आग्रह

  २०७६ भदौ ३१ गते १४:१६     विकासन्युज

काठमाडौँ । सेयर लगानीकर्ताहरुले पूँजी बजारका क्षेत्रमा देखिएको समस्याबारे अवगत गराउँदै समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका कार्यबाहक अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, लगानीकर्ता दबाब समूहका कावा अध्यक्ष गोपाल स्वामी र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंगलबार विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्रीसँग भेटघाटका लागि समय दिन आग्रह गरेका छन् ।

पूँजी बजारलाई देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइने विश्वव्यापी मान्यतालाई कुनैपनि हालतमा नकार्न सकिदैन, विज्ञप्तिमा भनिएको छ–नेपालमा दुई तिहाई बहुमत सहितको सत्तासीन सरकारका अर्थमन्त्रीबाट पूँजीबजारप्रति उदासिनता देखाएको उल्लेख छ ।

आज समग्र पूँजीबजारमा करीब ४० प्रतिशतको संकुचन आई लगानीकर्ताको अरबौँ सम्पत्ति बिक्री हुने र लिलामीमा जान सक्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरु मजबुत भई राम्रो प्रतिफल प्रदान गरिरहेको अवस्थामा धैर्यता राखी, हल्लाको पछि नलागनी, हतोत्साही नभई कौडीको मूल्यमा सेयर बिक्री नगर्न लगानीकर्ताहरुलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।