मंगलबारको बजारमा एक अर्ब ४० करोडको कारोबार, सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको

  २०७६ माघ १४ गते १५:२६     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको बजारमा काराबार बन्द हुँदा परिसूचक ५.५२ अंकले बढेर १३०६.१५ अंकमा पुगेको छ ।

बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा करिब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबारको बजारमा कूल ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने मंगलबारको बजारमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार कूल १७८ कम्पनीको ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाख रुपैयाँ कारोबार भएको छ ।

सो दिन शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ ।

मंगलबार कारोबारमा आएका मध्ये ४ समूह बाहेक बाँकी समूहको सूचक हरिया देखिएका छन् । जीवन बीमा सबैभन्दा बढी १५९.२८ अंकले बढेको छ भने होटल समूह ३९.४२ अंकले ओरालो लागेको छ । बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर समूह ओरालो लागेका छन् ।