समता लघुवित्तको प्रस्तावित ३१.५८ प्रतिशत लाभांश घट्न सक्ने !

  २०७६ असोज २७ गते १२:५२     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको ३१.५८ प्रतिशतको लाभांश(१५ प्रतिशत बोनस र कर सहित १६.५८ प्रतिशत नगद) दर घट्न सक्ने भएको छ । संस्थाले सोमबार एक सूचना जारी गर्दै हाल खुला भइरहेकाे हकप्रद सेयरको बाँडफाँड आगामी हुने वार्षिक साधारणसभाको बुक क्लोज अगाडि नै भयो भने सो मात्राको लाभांशको दर घट्ने बताएको हो ।

उक्त बोनस तथा लाभांश प्रतिशत नयाँ पुँजीको आधारमा गणना गर्दा सो प्रतिशत कम हुन आउने संस्थाले जनाएको छ । तर वार्षिक साधारण सभाको बुक क्लोज भन्दा पछाडि हकप्रद सेयर बाँडफाँड भए सेयरधनीले सो मात्रा अर्थात ३१.५८ प्रतिशत नै लाभांश पाउने छन् ।

संस्थाले सोमबार(आज)देखि नै २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । सो मात्राको हकप्रदको लागि गत भदौ ३१ गतेसम्म कायम रहेका सेयरधनीले आगामी मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन् ।