नेप्से ५ अंकले बढ्यो, २२ करोडको कारोबार हुँदा सबैभन्दा बढी सिद्धार्थ बैंकको

  २०७६ असोज २८ गते १५:३३     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । सोमबार दोहोरो अंकले ओरालो लागेको नेप्से मंगलबार अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले बढेर ११४२.०४ अंकमा पुगेको हो ।

परिसूचकमा सामान्य सुधार आएसँगै कारोबार रकममा पनि झिनो सुधार देखिएको छ । मंगलबार कूल १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब एक करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार सिद्धार्थ बैंकको सबैभन्दा बढी ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ६९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर, प्रभु बैंकको एक करोड ६६ लाख र कृषि विकास बैंकको एक करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएका छन् ।

सामान्य उकालो लागेको बजारमा प्राय समूह सूचक हरिया देखिएका छन् । कारोबारमा आएका १२ वटा समूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१ अंकले उकालो लागेका छन् । त्यस्तै, होटल समूह १७.३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् र उत्पादनमूलक समूह स्थिर रहेका छन् भने बाँकी समूहको सूचक सामान्य अंकले बढेका छन् ।

बजारमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले ५.९३ प्रतिशत कमाएका छन् । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.९० र ४.१७ प्रतिशतले बढेको छ । सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ५.८८ प्रतिशतले घटेको छ ।