नेप्से २० अंकले घट्दा ९६ करोडको सेयर कारोबार, सबै समूह राताम्मे

  २०७६ माघ १२ गते १६:०३     विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक २०.७९ अंकले घटेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.६० प्रतिशतले घटेर १२७६.६८ अंकमा आइपुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार कूल ९६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा ४२ करोड रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा एक अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

कूल १७४ कम्पनीको कारोबार भएको बजारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी अर्थात ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ३२ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई बैंकको क्रमशः ६ करोड ४५ लाख र ६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका १२ वटै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५१.७४ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूह १२५ अंकले ओरालो लागेको छ । अन्य समूह ६.७२ र म्युचअल फण्ड ०.०६ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले घटेका छन् ।