नेप्से परिसूचक १०६ अंकले घट्यो

  २०७६ कार्तिक ६ गते १९:०९     विकासन्युज

२०७५ भदाैदेखि २०७६ भदाैसम्मकाे नेप्से परिसूचक

काठमाडौं । एक वर्षको अवधिमा नेप्से परिसूचक १०६ अंकले घटेको छ । २०७५ भदौ मसान्तमा १२५६.५ अंकमा रहेको परिसूचक २०७६ को सोही अवधिमा घटेर ११५०.७ अंकमा झरेको छ । जुन सोही अवधिको तुलनामा ८.४ प्रतिशतले घटी हो । गत असार मसान्तमा नेप्से परिसूचक १२५९ अंकमा रहेको थियो ।

बजारमा नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि वार्षिक विन्दुगत आधारमा २.३ प्रतिशतले घटेको छ । गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण १४६१ अर्ब ५४ करोड कायम भएको छ । असार मसान्तमा बजार पुँजीकरण १५६७ अर्ब ५० करोड रहेको थियो ।

त्यस्तै, सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरणको हिस्सा ७८.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको ६.५, उत्पादन र प्रशोधन उद्योगको ४.१, होटलको १.७, व्यापारिक संस्थाको ०.१ र अन्य समूहका कम्पनीको हिस्सा ९.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । नेप्सेमा गत भदौसम्म कूल २१८ वटा कम्पनी सूचीकृत भएका छन् ।