नेप्से झिनो अंकले बढ्दा कारोबार रकम आधा अर्ब मै सीमित, दुई कम्पनीको ६ करोड बढीको सेयर किनबेच

  २०७६ जेठ १३ गते १५:२५     विकासन्युज

काठमाडौं । गत बुधबारदेखि निरन्तर ओरालो लागेको नेप्से सोमबार सामान्य अंकले उकालो लागेको छ । १३१९.६३ अंकदेखि झरेर १३०२.६१ मा पुगेको नेप्से सोमबार ०.०३४ अंकले बढेर १३०२..९६ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०३ प्रतिशतको वृद्धि हो ।

पछिल्लो समय नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । सोमबारको बजारमा ५१ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ घटी हो । आइतबारको बजारमा ६२ करोडको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको ७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५८८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ ।

सो दिन कूल ११ वटा समूह कारोबारमा आएको थिए । जसमध्ये ८ वटा समूह हरिया देखिएका छन् भने बाँकी ३ समूह राताम्मे देखिएका छन् । हरिया देखिनेमध्ये सबैभन्दा बढी उत्पादनमूलक समूह ३७ अंकले बढेको छ भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा, निर्जीवन बीमा र बैंकिङ समूह क्रमशः २८.६२, १५.८९ र ०.९६ अंकले घटेका छन् ।

सोमबार कूल १७० कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ८.३३ प्रतिशत कमाएका छन् । सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले भने अघिल्लो दिनको तुलानामा सबैभन्दा बढी अर्थात ८ प्रतिशत गुमाएका छन् ।