गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने, मंसिर १३ गतेदेखि बुक क्लोज

  २०७६ मंसिर ५ गते १२:३०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेकाे बैंक संचालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफबाट चुक्ता पुँजीको १६.१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

संस्थाले आगामी मंसिर २७ गते पोखराको होटल पोखरा ग्राण्डमा आफ्नो १३औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी मंसिर १३ गतेदेखि मंसिर २७ गतेसम्म संस्थाको बुक क्लोज हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ रहेको छ । १६.१५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी तीन अर्ब २३ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । यस अघि संस्थाले सेयरधनीलाई कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।