एक वर्षपछि नेप्सेमा २ अर्ब बढीको कारोबार, २३ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

  २०७६ माघ ५ गते १५:१९     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आजै पहिलो पटक हो ।

नेप्सेमा २ अर्बको कारोबार एकदमै कम भएको छ । जुन आज दोश्रो पटक हो । आइतबार कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार सँगै नेप्से परिसूचकमा पनि उछाल आएको छ । आईतबारको परिसूचक ३३.४३ अंकले बढेर १३४३.६५ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा २.५५ प्रतिशतले बढी हो ।

२७ कम्पनीले कमाए ९ प्रतिशतभन्दा बढीः

उच्च कारोबार भएको बजारमा २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये ४ कम्पनीको १० प्रतिशत र १९ कम्पनीको ९.५ प्रतिशतभन्दा बढीले सेयर मूल्यमा वृद्धि भएको छ ।


आइतबार बीमा समूह त्रिपल डिजिटले बढेको छ । सबैभन्दा बढी जीवन बीमा ४०३ र निर्जीवन बीमा समूह ३३७ अंकले उकालो लागेका छन् । विकास बैंक ६६, उत्पादनमूलक ६०, होटल ४९, हाइड्रोपावर ४५.४६, फाइनान्स ३५, माइक्रोफाइनान्स ३२, बैंकिङ् १७, अन्य १२ र म्युचअल फण्ड ०.५४ अंकले उकालो लागेको छ । ट्रेडिङ समूह ७.९८ अंकले घटेको छ ।

३३ अंकले उकालो लागेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.७० प्रतिशत गुमाएका छन् ।