चौतारी लघुवित्तको आईपीओ आजदेखि, मध्य भोटेकोशीको निष्काशन प्रक्रिया दोस्रो चरणमा

विकासन्युज                              २०७५ मार्ग १९ गते ७:२१

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले ६ लाख कित्ता साधारण शेयर अंकित मूल्य रु १०० मा बिक्री गर्न लागेको हो । उल्लेखित शेयरमध्ये ३०००० कित्ता म्युचअल फण्ड र ९३०० लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७०० कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको हो ।

आईपीओ निष्कासनका लागि एनआईबीएल क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ । आवेदकले आफ्नो बैंक खाता रहेको बैंकमा गएर सीआश्वा फर्म भरेर वा मेरोशेयर प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानबाट पनि उक्त आईपीओका लागि आवेदन गर्न सक्नेछन् ।

सर्वसाधारणले उक्त कम्पनीको आईपीओका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३००० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि आवेदन दिने अन्तिम दिन छिटोमा मंसिर २३ गतेका लागि र ढिलोमा पुस १९ गतेसम्मका लागि तोकिएको छ ।

लघुवित्तले चुक्ता पुँजीको ६ करोड रुपैंया बराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । धितोपत्र बोर्डको स्वीकृतिपछि विवरणपत्र लिएर नेपाल राष्ट्रबैंक पुगेको लघुवित्तको विवरणपत्र राष्ट्रबैंकले गत बिहीबार स्वीकृत गरेसँगै लघुवित्तले आईपीओ निष्कासन मिति तय गरेको हो ।

रुपन्देहीको वुटवल मुख्य कार्यालय रहेको लघुवित्तले गत आर्थिक बर्षमा १ करोड २ लाख रुपैंया नाफा कमाएको थियो जुन प्रतिशेयर २०.०९ प्रतिशत हो ।

उता, मध्य भोटेकोशी जलविद्युत् कम्पनीले पनि दोस्रो चरणमा संस्थापक शेयरधनी र ऋणदाता संस्थाका कर्मचारीहरुका लागि क्रमशः २१ लाख कित्ता र ६ लाख कित्ता गरी कुल २७ लाख कित्ता साधारण शेयर पनि आजदेखि नै खुला गर्ने भएको छ ।

३ बर्षसम्म बिक्रीयोग्य नभएको उक्त शेयर चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र नेपाल अरनिको हाइड्रो कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोवावर लिमिटेडका शेयरधनीहरुले भर्न पाउनेछन् ।

यसका लागि मंसिर २६ गतेसम्मको समय तोकिएको छ । यसअघि उक्त कम्पनीले सञ्चय कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । उक्त कम्पनीले सिन्धुपाल्चोकमा रन अफ रिभरमा आधारित १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।