तीन महिनामा ५ अर्ब ७६ करोडको बोनस सेयर दर्ता, १ अर्ब ८८ करोडको आईपीओ जारी गर्न अनुमति

विकासन्युज                              २०७५ कार्तिक १९ गते ५:१८

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल धितोपत्र बोर्डले १७ वटा संस्थाहरुकोे ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८.८९ प्रतिशत तथा रकमको हिसाबले ५४३.५४ प्रतिशत बढि हो ।

बोर्डका अनुसार आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा जम्मा २५ वटा संगठित संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमतिका लागि बोर्डमा पेश गरेको निवेदन अनुमतिको प्रकृयामा रहेका थिए । निवेदन दिएका मध्ये ३ वटा जलविद्युत कम्पनीहरु र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ ।

आईपीओ अनुमतिको प्रकृयामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रकृयामा रहेका छन् । जसमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको छ भने प्रकृयामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई आईपिओ निष्काशन गर्न सूचित गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै, प्रकृयामा रहेका मध्ये गर्जाङ उपत्यका हाइड्रो पावर लि., लाफिङ्ग बुद्ध पावर नेपाल लि. र यूनिक हाइडेल कम्पनी लि.लाई आवश्यक कागजात तथा प्रकृया पूरा गर्न सूचित गरिएको बोर्डले बताएको छ ।

यस आवको पहिलो त्रैमासमा मात्र ११ वटा संगठित संस्थाले आईपीओको अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेका छन् । गत आवको सोही अवधिमा जम्मा १९ वटा संगठित संस्थाहरुको निवेदन आईपिओ अनुमतिको प्रकृयामा रहेका थिए । गत आ.ब. को सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई १ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको थियो । सोही अवधिको तुलनामा चालु आवको पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य वृद्धि भएको बोर्डले जानकारी दिएको छ ।

यस अवधिमा २ वटा संगठित संस्थाले हकप्रद सेयर निष्काशन गर्न निवेदन पेश गरेको समेत गरी जम्मा ११ वटा संगठित संस्थाहरुको निवेदन प्रकृयामा रहेका थिए । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद सेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । बोर्डका अनुसार यस आवको पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको देखिएकोले हकप्रद शेयर निष्काशनमा कमी आएको बोर्डले जनाएको छ ।

प्रकृयामा रहेका मध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई १६ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । गत आवको सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको थियो ।

त्यस्तै, यस अवधिमा बोर्डले २ वटा संगठित संस्थालाई ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ ।