सेयर बजार दोहोरो अंकले उक्लियो, सबै सूचक हरिया

विकासन्युज                              २०७५ कार्तिक १९ गते ३:१८

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार शुरु भएदेखि सामान्य उकालो लाग्दै आएको बजार अन्त्यमा नेप्से परिसूचक १२.३७ अंकले उकालो लागेर १२१९.६५ अंकमा पुगेको छ ।

सोमबार नेप्से परिसूचकमा सुधार देखिएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । आइतबार ५६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको बजारमा सोमबार भने जम्मा २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ ।

सो दिन प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन ४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २ करोड, एनआईसी एशिया बैंकको एक करोड ५५ लाख र जनता बैंक नेपालको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएका १० वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६९, होटल ३७, माइक्रोफाइनान्स १७, विकास बैंक १३ र बैंकिङ् समूह ११ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहहरु सामान्य अंकले बढेका छन् ।

सो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । उता सिर्जना फाइनान्स(वित्तीय संस्था)का लगानीकर्ताले सबैभन्दा बढी १.८७ प्रतिशत गुमाएका छन् ।