नाडा अटो शो डेढ लाख जनाले गरे अवलोकन, उड्ने ट्याक्सी र रोबोटले जित्यो मन
काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हलमा ६ दिनसम्म चलेको सवारीसाधनको महाकुम्भ १७ औं संस्करणको नाडा अटो शो आइतबार सम्पन्न भएको छ । भदौ ३ गतेदेखि सुरु भएको यो मेला केवल गाडीहरूको प्रदर्शनी मात्र नभई भविष्यको यातायात प्रविधिको एक उत्सव पनि बन्यो । डेढ लाखभन्दा बढी अवलोकनकर्ताले नाडा अटो शोमा अवलाेकन गरेकाे नाडाले जनाएको छ । विगतमा गाडी र पार्टपुर्जाको प्रदर्शनीमा सीमित नाडाले यसपटक प्रविधिको फड्को मार्दै ‘उड्ने ट्याक्सी’ र ‘रोबोट’ लाई प्रदर्शनीको केन्द्रमा राख्यो । यही नवीनताले नै अवलोकनकर्ताको मन जित्यो र अटो शोलाई चर्चाको शिखरमा पुर्यायो । यसपटकको अटो शोको आकर्षणको केन्द्रबिन्दु थियो, ‘उड्ने कार’ । सहरको आकाशमा गुड्ने गाडीको कल्पनालाई साकार पार्ने यो प्रविधि हेर्न सर्वसाधारण मात्र होइन, देशका शीर्ष नेतृत्वको पनि बाक्लो उपस्थिति देखियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालजस्ता राजनीतिज्ञहरूले चासोका साथ यसको अवलोकन गरेका थिए । अध्यक्ष चौधरीले यस पटकको अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै यसलाई सम्पूर्ण अटोमोबाइल क्षेत्रको सफलताको रूपमा रहेको दाबी गरे । ‘यो सफलता सम्पूर्ण व्यवसायी र अवलोकनकर्ताहरूको हो । प्रदर्शनकर्ताहरूको मुहारमा देखिएको सन्तुष्टि र खुसी नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने, ‘यसले मलाई राम्रो काम गर्न थप ऊर्जा मिलेको छ । ’ यस संस्करण विगतका संस्करणभन्दा फरक र विशेष रहेको बताउँदै अध्यक्ष चौधरीले विगतमा गाडी मात्र प्रदर्शन हुने गरेकोमा यस पटक ‘उड्ने ट्याक्सी’ र ‘मेकानिकल रोबोट’ जस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शन गरेर नयाँ सम्भावनाको ढोका खोलिएको बताए । उनले भने, ‘हामीले ‘स्काई इज द लिमिट’ भन्ने सोचेर काम गर्नुपर्छ । १७ औं संस्करण सकिएलगत्तै भोलिबाटै १८ औं संस्करणलाई अझै भव्य र नयाँ बनाउन हामी योजना सुरु गर्नेछौं ।’ अध्यक्ष चौधरीले अब नेपाल आयातमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा पनि विशेष जोड दिए । करण चाैधरी ‘अब हाम्रो देशमा उड्ने कार आयात गर्ने होइन, उड्ने ट्याक्सी उत्पादन गर्न सक्नुपर्छ । जुन दिन हामी उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिनबाटै समृद्ध नेपालको निर्माण सुरु हुन्छ,’उनले भने । उनले यसका लागि नीतिगत तहबाट सरकारले विशेष पहल गर्नुपर्ने सरकारलाई झकझकाए । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने समापन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरे । यो अटो शोमा सवारीप्रेमीहरू मात्र नभई देशका नीति निर्माण र कार्यान्वयन तहका व्यक्तित्वहरूको पनि उपस्थिति थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलदेखि बागमती प्रदेशका मन्त्री जयराम थापासम्म अनि प्रतिनिधिसभा सदस्यहरू योगेश भट्टराई, हरि ढकाल र शिशिर खनालसम्मको उपस्थिति थियो । यसैगरी पूर्वअर्थमन्त्री युवराज खतिवडाकाे पनि उपस्थिति रहेकाे थियो । त्यस्तै, प्रशासन, सुरक्षा र आर्थिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति पनि उत्तिकै उल्लेखनीय थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङदेखि राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसम्मले प्रदर्शनी अवलोकन गरे। नाडा अटो शोले यसपटक अन्तर्राष्ट्रिय ध्यान पनि खिच्न सफल भयो । भारतीय अटोमोबाइल जगतका दुई प्रतिष्ठित संस्थाहरू सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेण्ट म्यानुफ्याक्चर्स एशोसिएशन (एक्मा) का उच्चस्तरीय प्रतिनिधि मण्डलले शोको अवलोकन गरे । यसले नाडा अटो शोलाई क्षेत्रीय स्तरमा समेत एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित गर्न मद्दत पुगेको छ ।
नाडा अटो शोको अन्तिम दिन आज, दीपलको आकर्षक अफरले झुम्मिए ग्राहक
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन र विशेष अफरहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्न सफल भएको छ । विशेषगरी विद्युतीय गाडी ब्रान्ड दीपलले भर्खरै सार्वजनिक गरेको एस-०५ एसयुभी र दुई पाङ्ग्रे सवारीको लोकप्रिय ब्रान्ड हिरोले ल्याएको नयाँ जुम १२५ स्कुटर तथा सुपर स्प्लेन्डर १२५ बाइकले ग्राहकहरूको ध्यान केन्द्रित गरेका छन् । कम्पनीहरूले नाडालाई लक्षित गरी सीमित अवधिका लागि विशेष छुट र योजनाहरू घोषणा गरेका छन् । जसकारण स्टलहरूमा ग्राहकहरूको भीड उल्लेख्य देखिएको छ । दीपलको स्टलमा नयाँ विद्युतीय एसयुभी एस-०५ हेर्न र बुझ्न आउनेहरूको बाक्लो उपस्थिति छ । दीपलका मार्केटिङ म्यानेजर रमेश दनेखूका अनुसारका नाडा अगाडि लन्च गरिएको एस ०५ ले छोटो समयमै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एस-०५ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि हाइ भेरियन्टको ५७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । यसैगरी, कम्पनीकी सेल्स रितु भट्टराईका अनुसार यो गाडीमा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाटको ब्याट्री छ । जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली सडकका लागि उपयुक्त १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १६० लिटरको फ्रंक स्पेस (अगाडिको बुट) र ४९२ लिटरको विशाल बुट स्पेस यसका थप विशेषता हुन् । यसमा पार्क असिस्ट, १४ वटा स्पिकर, कुलिङ बक्स, र दुवै अगाडिका सिटमा हिटिङ तथा कुलिङजस्ता प्रिमियम फिचरहरू छन् । नाडाको अवसरमा एस-०५ खरिद गर्ने ग्राहकले एक वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर, फ्लोर म्याट र आकर्षक छुट पाउनेछन् । दीपलको चर्चित मोडल एस-०७ (२०२५ मोडल) मा कम्पनीले ‘जेरो ओनरसिप’ र ‘बाई ब्याक’ नामक विशेष अफर ल्याएको छ । भट्टराईका अनुसार ‘जेरो ओनरसिप’ अफर अन्तर्गत ग्राहकले ५ वर्षसम्मको इन्स्योरेन्स, रोड ट्याक्स, सर्भिसिङ र चार्जिङ खर्चसमेत कम्पनीले व्यहोर्नेछ । ‘बाई ब्याक’ योजनामा ग्राहकले निश्चित समयपछि आफ्नो गाडी कम्पनीलाई नै फिर्ता बेच्न सक्नेछन् । नाडामा दीपपलका गाडीहरूको १५० भन्दा बढी युनिट बुक भइसकेको कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारीको सेगमेन्टमा सिजी मोटर्सद्वारा वितरित हिरो मोटोकर्पले पनि आफ्ना नयाँ उत्पादनहरूसहित ग्राहकलाई आकर्षित गरिरहेको छ । सिजी मोटर्सका सहायक सेल्स म्यानेजर सोहन शाहीका अनुसार नाडामा ४वटा मोडल प्रदर्शनमा राखिएको छ । जसमध्ये दुईवटा नयाँ मोडल सुपर स्प्लेन्डर १२५ र जुम १२५ को बुकिङ खुला गरिएको छ । ‘सुपर स्प्लेन्डर हिरोको एक लेजेन्ड बाइक हो, जसलाई अहिले बीएस ६ इन्जिन र एफआई सिस्टमसहित अपग्रेड गरिएको छ,’ शाहीले भने, ‘यसको मुख्य विशेषता भनेकै यसको उत्कृष्ट माइलेज हो, जसले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिन्छ ।’ नाडा अवधिभरका लागि यसको परिचयात्मक मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, हिरोले भर्खरै नेपाली बजारमा ल्याएको जुम १२५ स्कुटर पनि आकर्षणको केन्द्र बनेको छ । ११० सीसीको पुरानो मोडलमा ग्राहकबाट आएको पावर र अफरोड क्षमताको सुझावलाई ध्यानमा राखेर यसलाई १२५ सीसी इन्जिन र १४ इन्चको ठूलो टायरसहित अपग्रेड गरिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसनसहितको डिजिटल मिटर जडान गरिएको छ, जुन यो सेग्मेन्टमा नयाँ हो। यसको परिचयात्मक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ राखिएको छ र नाडामा बुकिङ गर्ने ग्राहकले उपहारस्वरूप ‘अल्तिमा’ को एयरबड्स पाउनेछन् । हिरोका सबै मोटरसाइकल तथा स्कुटरहरू नेपालमै एसेम्बल हुने र सबैमा ५ वर्षको इन्जिन वारेन्टी, ४ पटक निःशुल्क सर्भिसिङ र एउटा हेल्मेट उपलब्ध गराइने शाहीले जानकारी दिए । यी बाहेक १६० सीसीको स्कुटर र २१० सीसीको बाइक पनि प्रदर्शनमा छन्, जुन परीक्षणपछि जनवरी-फेब्रुअरीतिर लन्च गर्ने कम्पनीको योजना छ । अब नेपाली सडकमा दीपलका गाडीहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले दाबी गरेको छ । नाडा अटो शो नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बनेको छ, जहाँ एकै ठाउँमा विभिन्न ब्रान्डका नयाँ उत्पादनहरू हेर्न, तुलना गर्न र विशेष छुटमा खरिद गर्न सकिन्छ । यी परिचयात्मक मूल्य र विशेष अफरहरू नाडा अवधिभरका लागि मात्र सीमित भएकाले खरिदकर्ताका लागि यो सुनौलो मौका हो । नाडा अटो शो आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले यसपटको नाडा अटो शो सोचेको भन्दा उत्कृष्ट भएको भन्दै गरिरहेको छ । चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको छ । यो पटक प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । आज अन्तिम दिन भएकाले प्रर्दशनी स्थलमा ग्राहक तथा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
काठमाडौं । चीनको प्रख्यात कमर्शियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो । कमर्शियल सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन् । चीनमा करिब दुई दशकदेखि कमर्शियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी ९चाइना० लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ । अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो । अक्वेलले कमर्शियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ । ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ । अक्वेल ब्रान्डका विद्युतीय कमर्शियल सवारी ७० भन्दा बढी देशहरूमा बिक्री हुँदै आइरहेको छ । अब अक्वेलका विद्युतीय कमर्शियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएका छन् । सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए । यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ । अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ । अक्वेलको आफ्नै आर एन्ड डी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ । अक्वेल ब्रान्डको मुख्य विशेषताका रूपमा सवारी उत्पादनसँगै स्पेयर पार्ट्समा स्पेसियालिटी रहेको छ । चीनका अन्य विद्युतीय कमर्शियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन तथा उपलब्ध गराउँदै आएको छ । अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ । सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ । त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ ।
नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।
वीरगञ्जमा टाटा ईभी अटो शो सुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । आइतबारसम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने सिप्रदी ट्रेडिङले जनाएको छ । अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध छ । अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू समावेश छन् । यस अटो शोमा राखिएका ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन केथ्री ईभी, पञ्च ईभी र टियागो ईभी रहेका छन् । यससँगै अटो शोमा फूड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ । यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने सिप्रदी ट्रेडिङले जनाएको छ।
फोटोनको नयाँ ईभी पिकअप ‘ई-टुनल्यान्ड’ नाडा अटो शोमा सार्वजनिक
काठमाडौं । नेपालका लागि फोटोनका आधिकारिक वितरक एमएडब्लु कमर्सियलले नयाँ विद्युतीय पिकअप ई-टुनल्यान्ड सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा यो पिकअप सार्वजनिक गरिएको हो । ई–टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ । जसले एमएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरको रेन्ज प्रदान गर्न सक्ने कम्पनीकाे दाबी छ । यसमा १३० किलोवाटको मोटर छ । टु ह्विल ड्राइभ अप्सनमा उपलब्ध सो पिकअपमा ८ वर्ष वा ४ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ । त्यसैगरी मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । ई-टुनल्यान्डको बजार मूल्य ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । नाडा अटो शो अफरको रूपमा हाल यसमा १ लाखसम्मकाे छुट दिइएकाे छ । यसअघि पनि नेपाली बजारमा फोटोनका विभिन्न पिकअपहरू उपलब्ध छन् ।
नाडा अटो शोमा बीवाईडीको स्टलमा झुम्मिए अवलोकनकर्ता, तेस्रो दिनमै ३०० भन्दा बढी बुकिङ
काठमाडौं । १७ औं संस्करणको नाडा अटो शोमा विश्वप्रसिद्ध विद्युतीय सवारी निर्माता बीवाइडीको नयाँ कम्प्याक्ट एसयूभी ‘एट्टो २’को स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । नाडा अटो शोमै सार्वजनिक गरेको उक्त गाडी तेस्रो दिनसम्ममा ३०० भन्दा बढी युनिट बुकिङ भइसकेको सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार एट्टो २ लाई कम्पनीले इन्ट्रोडक्टरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रस्तुत गरेको हो । नेपाली सडकका लागि विशेष उपयुक्त मानिएको यो गाडीमा २०० एमएमको ग्राउन्ड क्लेरेन्स रहेको छ। एट्टो ३ कै जस्तै 'ड्रागन फेस' डिजाइनमा आधारित एट्टो २ को बाहिरी लुक्स आकर्षक र आफ्नो सेग्मेन्टमा अलि ठूलो देखिन्छ। गाडीमा एडास लेभल २, अटोमेटिक ब्रेकिङ सिस्टम र लेन असिस्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू समावेश छन् । ५१.१३ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । नाडा अटो शोलाई लक्षित गर्दै बीवाइडीले नगद छुटभन्दा पनि वारेन्टीमा विशेष जोड दिएको छ । कम्पनीले गाडीमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ । सेल्स म्यानेजर श्रेष्ठले भनिन्, ‘यो वारेन्टीले ग्राहकलाई दीर्घकालीन फाइदा दिन्छ र भोलि गाडी बिक्री गर्दा पनि यसले राम्रो रिसेल भ्यालु सुनिश्चित गर्छ।’ यसका साथै ग्राहकले इन्सोरेन्स, रोड ट्याक्स, एसेसरिज, ट्राभल चार्जर र वाल बक्स चार्जर जस्ता सुविधा पनि पाउनेछन् । शोको चौथो दिनसम्म आइपुग्दा बीवाइडीको स्टलमा ग्राहकको बाक्लो भीड देखिएको छ । धेरै ग्राहकहरू विशेष गरी नयाँ एट्टो २ हेर्नकै लागि आएको श्रेष्ठ बताउँछिन् । ‘ग्राहकहरूले गाडीको मूल्य र फिचरलाई निकै मन पराउनुभएको छ, जसको प्रमाण ३०० भन्दा बढीको बुकिङ हो,’ उनले भनिन्। एट्टो २ बाहेक, प्रिमियम सेग्मेन्टमा बीवाइडी सीलले पनि ग्राहकको ध्यान खिचेको छ ।
राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादक भनेको छैन, प्राथमिकतामा राखेको छः ईडी पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) गुरु प्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा बैंक तथा वित्तीय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गरिरहेकाे बताए । उनले २०७० साल यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनले बताए । उनका अनुसार अटाे क्षेत्र अनुत्पादक हाेइन । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोबाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी हुने उनले बताए । ‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनै पनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी ब्याज लगाउँछन् ।’ नेपालमा २०४१/४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदा सम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे । ‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टीभिटी आवश्यकता नै छ भनेर बैंकहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायर पर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन ।’ नेपालमा उत्पादन गर्ने उद्योगहरूलाई बैंकहरुले सहज रुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमुलक उद्योगले २ करोड रूपैयाँसम्म कर्जा लिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ब्याजदर लिने गरेको उनको भनाइ छ । उनले भने, ‘व्यवसायीले ब्याजदर नबढाए हुन्थ्यो भन्ने जिज्ञासा देखिएको छ । नेपालमा फिक्स्ड र परिवर्तन हुने कर्जा रहेका छन् ।’
३ दिनमै साढे ७८ हजारले अवलोकन गरे नाडा अटो शो
काठमाडौं । नाडा अटो शो २०२५ मा ३ दिनमै साढे ७८ हजारले अवलोकन गरेका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको नाडा अटो शो २०२५ मा ३ दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेको जनाएको छ । यो तथ्यांकले आर्थिक चुनौती र कठिनाइबीच पनि नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए । यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको उनको भनाइ छ । ‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटो मोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ उनले भने ।
कृषि विकास बैंकका सीईओ गुरुङ भन्छन्- अन्य क्षेत्र भन्दा अटोमा खराब कर्जा कम छ
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कृषि बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरता, अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा सीईओ गुरुङले ऋण विविधीकरणमा जोड दिइरहेको बताए । अटोमोबाइल्स क्षेत्रमा पनि बैंकले कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले अटो क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या कम भएको बताए । ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराब कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम छ,’ उनले भने । बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडी प्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ । ‘व्यवसायीक गाडीमा लगानी गर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,’ उनले भने । उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायिक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।
सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्याे एक्प्रेस-टी ईभी फ्लिट पार्टनरलाई सम्मान
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु¥याउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस-टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ । एक्प्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ । नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।
नाडा अटो शो : टाटाको स्टलमा झुम्मिए अवलोकनकर्ता, के के छन् अफर ?
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो- २०२५ मा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना नयाँ तथा पुराना मोडलहरूले अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । टाटाको स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । जहाँ थेग्न नसकिने भीड लागेको छ । टाटाले नाडा अटो शोको अवसर पारेर ‘अल न्यु टाटा सफारी’ डिजेल इन्जिन र टियागो ईभीमा ‘एरिजोना ब्लू’ नामक नयाँ रङ प्रदर्शनमा राखेको छ । नाडा अटो शोमा गत साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोमा जस्तो छुट नभए पनि बिक्रेताहरूले विभिन्न आकर्षक अफर भने ल्याएका छन् । अटो शोमा बिक्रेताले आफ्नो गाडीको बिक्री बढाउँछन् भने क्रेताले आकर्षक मूल्यमा गाडी किन्न पाउँछन् । नाइमामा एउटै गाडीमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो। सिप्रदी ट्रेडिङका सेल्स निरज डाँगीले भर्खरै सार्वजनिक गरिएको ‘अल न्यु टाटा सफारी’ कर्पोरेट र ठूला व्यवसायीहरूलाई लक्षित गरी बनाइएको बताए । उनका अनुसार यो सेभेन-सिटर गाडी हो । यो नेपाली बजारमा पहिलेदेखि नै रुचाइएको सफारीको नयाँ र परिष्कृत भर्सन हो । यसका साथै टियागो ईभीमा थपिएको नयाँ ‘एरिजोना ब्लू’ रङले ग्राहकलाई थप विकल्प दिएकोे छ । नाडा अटो शोमा टाटाले आफ्ना लोकप्रिय ईभी मोडलहरूलाई प्राथमिकताका साथ प्रदर्शनमा राखेको छ । स्टलमा पन्च ईभी, नेक्सन केथ्री र कुपे डिजाइनको प्रिमियम गाडी कर्भ ईभी आकर्षणको केन्द्र बनेका छन् । कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । हालै मात्र यो गाडीले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको सफल यात्रा गरेको थियो । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर रहेको यो गाडीले ३२५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर रहेको पन्च ईभीले २७० किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टिआगो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको छ । नाडालाई लक्षित गर्दै सिप्रदीले ईभी गाडी खरिदमा विशेष अफर ल्याएको छ । नगद छुटका साथै ग्राहकले अटो प्लस इन्स्योरेन्स र विभिन्न एक्सेसरीज सुविधाहरू पाउनेछन् भने ३ वर्षसम्मको लागि ‘कन्जुमेबल’ पार्टसहित निःशुल्क सर्भिसको सुविधा दिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी अवधिभित्र देशभरका डीसी चार्जिङ स्टेसनमा पूर्ण रूपमा निःशुल्क चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री, र कर्भ ईभीमा लागू हुनेछन् । नेपालमा टाटा ईभी लोकप्रिय हुनुको पछाडि सिप्रदीको ४० वर्षभन्दा लामो विरासत र बलियो सर्भिस नेटवर्क रहेको डाँगी बताउँछन् । देशभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क, १६ भन्दा बढी ईभी डेडिकेटेड सर्भिस सेन्टर र नैकापस्थित ब्याट्री डाइग्नोसिस तथा रिपेयर सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवामा ढुक्क बनाएको छ । नाडा अटो शो आइतबारसम्म चल्नेछ ।
नाडा अटो शोमा सेरेसको विशेष अफर
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ । अफरअन्तर्गत तीन वर्षको सम्पूर्ण बीमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीले जनाएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुनेछ । सेरेसले कोरालापास हुँदै ४ हजार ६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो ।
नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विभिन्न ईभी मोडेल सार्वजनिक गरेको छ । टाटाले अटो शोको माैका पारी नयाँ सफारी सार्वजनिक गरेको छ, जसमा एडीएएस, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको सुरुवाती मूल्य १२ लाख ९९ हजार रहेको छ । यसैगरी, शोमा सिप्रदीले नयाँ रंगकाे टियागो इभी पनि सार्वजनिक गरेको छ । जुन एरिजोना ब्लु रंगमा रहेको छ । यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के थ्री। इभी, पन्च इभी र टीयागो इभी रहेका छन् । यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क गाडी चार्ज गर्न पाइने जनाइएको छ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेङ, निःशुल्क एसेसरिज र १ वर्षको भेहिकल ट्याक्स निस्शुल्क रहेको छ। यसैगरी घरमै निःशुल्क चार्जिङ जोडिने सुविधा र निःशुल्क इम्बोस्ड नम्बर प्लेट पनि जडान गरिने जनाइएको छ । सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटाे शो नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्च रहेको जानकारी दिए ।
अटो शोमा नयाँ गाडी लञ्च गर्ने लहर, अब यी आकर्षक गाडी गुड्नेछन् सडकमा
काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीहरू सार्वजनिक गर्ने लहर सुरु भएको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा पनि आकर्षक नयाँ गाडीहरू सार्वजनिक भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शोमा उड्ने कारदेखि विश्व अटो बजारमा आएका नयाँनयाँ गाडीहरू सार्वजनिक भएका छन् । यसले नाडा अटो शोको आकर्षणमा थप उत्साह थपेको छ । यस पटकको नाडा अटो शोमा इलेक्ट्रिक भेहिकल (ईभी) को बाहुल्यता देखिएको छ भने एमएडब्लु ग्रुपले प्रदर्शनमा राखेको ‘फ्लाइङ ट्याक्सी’ अवलोकनकर्ताका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ । यी हुन् लञ्च भएका नयाँ गाडी बीवाईडी एटो–टू चिनियाँ ईभी निर्माता बिवाईडीले यस पटकको अटो शोमा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी ‘एटो टू’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो गाडी डल्फिन र एटो थ्रीको बीचको भेरियन्ट हो । यसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ । एक पटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । यसको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोमा नगद छुट नभए पनि मोटर र ब्याट्रीमा ८ वर्षको सट्टा १० वर्षको विस्तारित वारेन्टी प्रदान गरेको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ । सुजुकीको ई-भिटारा सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभी ‘ई-भिटारा’ लाई शोमा प्रदर्शनमा राखेको छ । तर, यसको आधिकारिक लन्च र मूल्य भने सार्वजनिक गरिएको छैन । कम्पनीका अनुसार यसको ब्याट्री ४१ किलोवाट र ६१ किलोवाट गरी दुई भेरियन्टमा आउनेछ । ५०० किलोमिटरभन्दा बढीको रेन्ज दाबी गरिएको छ । ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र १८ इन्चको डायमण्ड कट ह्विल जस्ता फिचरहरू रहनेछन् । यसको अनुमानित मूल्य ६० देखि ७० लाखको बीचमा रहने अनुमान छ । हाललाई ‘शो–पिस’ का रूपमा मात्र राखिएको र यसै साताभित्र मूल्य सार्वजनिक गरिने सेल्स अफिसर देवराज ढकालले जानकारी दिए । अटो शोमा ब्रेजा, जिम्नी र फ्रन्क्स जस्ता सफल मोडलहरू पनि राखिएको छ । टाटा टियागो ईभी नयाँ रङमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस पटक सफारी डिजेल मोडल लन्च गर्नुका साथै लोकप्रिय ‘टियागो ईभी’ लाई नयाँ ‘एरिजोना ब्लु’ रङमा प्रस्तुत गरेको छ । टियागो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २४ किलोवाटको ब्याट्री प्याक, २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । टाटाले नाडा अफर सबै ईभीमा नगद छुट गरेको छ । एक वर्षको निःशुल्क बीमा र एक्सेसरीज उपलब्ध गरिएको कम्पनीले जनाएको छ । जसमा तीन वर्षसम्मको निःशुल्क सर्भिसिङको सुबिधा रहेको छ । यस्तै टाटाको चार्जिङ नेटवर्कमा निःशुल्क चार्जको सुविधा दिएको छ। बैंकिङ सुविधा अन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ६० प्रतिशत सम्म कर्जा पाइने र प्रभु बैंक (६.२८ प्रतिशत) तथा एभरेस्ट बैंक (६.५२ प्रतिशत) जस्ता बैंकहरूले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिइरहेको प्रतिनिधि निरज डांगीले बताए । फोटोन जी सेभेन कमर्सियल भेइकल सेगमेन्टमा फोटनले आफ्नो जी सेभेन पिकअपलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ । यसमा लक्जरी भेरियन्टको ६५ लाख ४० हजार र फ्ल्यागसिप भेरियन्टको ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसका साथै युनिक फिचर पिकअप सेगमेन्टमै पहिलो पटक सनरुफको सुविधा रहेको कम्पनीले जनाएको छ । जसको २२५ एमएमको उच्च ग्राउन्ड क्लेरेन्स रहेको छ । नाडा अटो शो अफर अन्तर्गत बुकिङ गर्ने ग्राहकलाई ३ वर्षको सर्भिस प्याकेज, बीमा तथा ४ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने जनाएको छ । एमएडब्लूले नै सार्वजनिक गरेको उड्ने कार पनि नाडा अटो शोमा आकर्षकका रुपमा देखिएको छ । यो दुई सिट क्षमताको पूर्णत इलेक्ट्रिक सवारी हो । ३० देखि ५० किलोमिटरसम्मको रेन्ज क्षमता रहेको छ । जीपीएसमार्फत स्वचालित रूपमा सञ्चालन गर्न सकिन्छ । नेपालमा यससम्बन्धी नीति–नियम नभएकाले हाल डेमो उडान नगरिएको र बिक्रीका लागि उपलब्ध छैन । चीनमा यसको परीक्षण उडान भइसकेको र सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा छ । सरकारले आवश्यक नीति–नियम र पूर्वाधार बनाएमा नेपालको पहाडी क्षेत्रमा उद्धार कार्य र काठमाडौं जस्तो सहरमा ट्राफिक जाम कम गर्न यो निकै उपयोगी हुन सक्ने बताइएको छ । नामी नयाँ एसयुभी ‘भिगो’ एमएडब्लु वृद्धि मोटर्सले नामी ब्राण्डअन्तर्गत नयाँ फुल साइज एसयुभी ‘भिगो’ लन्च गरेको छ । कम्पनीका अनुसार यसमा ग्राउन्ड क्लेरेन्स १९० एमएम रहेको छ । ‘हेभेन एन्ड हेल’ टेलगेट, जुन क्याम्पिङका लागि निकै उपयोगी छ । यसमा नाडा विशेष मूल्य तोकिएको छ । बेस भेरियन्टको ३७ लाख ९९ हजार र टप भेरियन्टको ४० लाख ९९ हजार रुपैयाँ १ लाख छुटसहित उपलब्ध गर्ने बताएको छ । अन्य मोडलमा अफर नामी ई–थ्री ह्याचब्याकमा ८० हजार रुपैयाँ छुट उपलब्ध गरेको छ ।
नाडा अटो शोमा चांगान लुमिन सार्वजनिक, मूल्य २३ लाख रुपैयाँ
‍काठमाडौं । नेपालका लागि दिपल र चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मंगलबार चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको छ । नयाँ लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, डाइरेक्टरहरु तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । चांगान लुमिनको आधुनिक र आकर्षक डिजाइन, पाँच जीवन्त बडी कलर र फिचरले विशेष गरी युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । चांगान लुमिनमा ३५ किलोवटा मोटर रहेको छ जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिने कम्पनीले जनाएको छ। गाडी ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ जसमा कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल र इलेक्ट्रोनिक नब सिफ्टर जस्ता स्मार्ट फिचर छन् । सानो आकार हुँदाहुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । साथै यसमा डुअल एअरब्या, हाई स्ट्रिन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिंग सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोट्रेस सेफटी सिस्टम जस्ता सुरक्षात्मक सुविधाले चालक र यात्रु दुवैलाई पूर्ण आत्मविश्वास प्रदान गर्छ । चांगान लुमिनको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोमा एमटी- १५ भी टु र एफजेड-एस भी थ्री डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक
काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ । एमटी- १५ भी टु अब आईस स्ट्रोम र भिभिड भाओलेट मेटालिक भेरियन्ट र एफजेड-एस भी थ्री डीएलएक्स आईस फ्लुओ भर्मिलियनमा सार्वजनिक भएको हो । दुवै बाइक भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नम्बर टी डब्ल्यू वान) मा राखिएको छ । उद्घाटन कार्यक्रममा एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको थियो । सार्वजनिक भएका भेरियन्ट जुनसुकैमा पनि ७ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै मोटोजीपी रेस गर्न पनि पाइने जनाइएको छ । एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने नि:शुल्क पाइनेछ। नाडा अटो शो भदौ ८ भदौसम्म सञ्चालन हुनेछ । एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई(पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ।
नाडा अटो शोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)
काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रूपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आज १७औं ‘नाडा अटो शो’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शोमा रोबोट, उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्, जसले अवलोकनकर्ताको ध्यान खिचेको छ । यस्तै, नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी प्रदर्शनीमा छन् । अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् । अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएको छ । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ । यसका साथै अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका नाडा अटो शोले जनाएको छ । मंगलबारदेखि सुरु भएको उक्त अटो शो आगामी भदौ ८ गतेसम्म चल्नेछ ।
नाडा अटो शोमा फोटोन टुनल्यान्डका मोडल सार्वजनिक
काठमाडौं । नाडा अटो शोमा फोटोन टुनल्यान्डका विभिन्न मोडेल सार्वजनिक भएका छन् । नेपाली बजारमा फोटोन टुनल्यान्डको जी सेभेन पहिल्यै सार्वजनिक गरिएको थियो । तीन प्रमुख मोडलहरू टुनल्यान्ड भी नाइन, टुनल्यान्ड जी सेभेन र ई-टुनल्यान्ड नाडा अटो शोमा राखिएको हो । यी सबै मोडेल उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन् । हाइब्रिड पिकअप टुनल्यान्ड भी नाइन एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । ई-टुनल्यान्ड इलेक्ट्रिक पिकअप हो जसमा विभिन्न विशेषताहरू रहेका छन् । एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो । एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विभिन्न उत्पादनहरू प्रस्तुत गरेको छ ।
नाडा अटो शोमा सुजुकी इ-भिटारा प्रदर्शन, सुनसहित विभिन्न योजना घोषणा
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै प्रतिक्षित इलेक्ट्रिक एसयूभी सुजुकी इ–भिटारालाई नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ । यससँगै कम्पनीले दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर २०८२’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षसम्म निःशुल्क एःक् पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा विभिन्न एक्सेसरिज प्राप्त गर्ने व्यवस्था गरिएको छ । अटो शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । साथै, १० भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अल्टो र सेलेरियो मोडलमा १ वर्षसम्म शून्य ब्याजदरमा खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको छ । यद्यपि, यसमा केही सर्तहरू लागु हुने जनाइएको छ । सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी इ–भिटारा सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात भएको दाबी गरेको छ ।