४४ प्रतिशत बढ्यो जगदम्बा अटो ग्रुपको आम्दानी, ६ महिनामै साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । शंकर ग्रुपअन्तर्गत सञ्चालन हुने जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  यसअघि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी ४४.३० प्रतिशत अर्थात् २ अर्ब १४ करोड ९० लाख रुपैयाँले वृद्धि भएको छ । कम्पनीले यो वृद्धि सवारी साधनको उच्च मागका कारण भएको जनाएको छ। कम्पनीले विगतका वर्षहरूमा पनि उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानी २ अर्ब ७३ करोड ७० लाख, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४२ करोड ७० लाख र आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।  सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारीसाधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि मार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारीसाधनको आधिकारिक वितरक पनि हो । कम्पनी शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको छ । शंकर ग्रुप नेपालमा इस्पात, सिमेन्ट, पोलिमर उत्पादन, व्यापार, आतिथ्य सेवा तथा बीमा लगायत विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यवसायिक समूहका रूपमा परिचित छ । जगदम्बा अटो ग्रुप पूर्ण रूपमा शाहिल अग्रवालको स्वामित्वमा रहेको छ । अग्रवाल कम्पनीका एकमात्र सेयरधनी तथा निर्देशक पनि हुन् । कम्पनीले एसेम्बलका लागि सवारी साधन तथा पार्टपुर्जाहरू भारतस्थित टीभीएस मोटर कम्पनीबाट मात्र आयात गर्ने गरेको छ भने एसेम्बल गरिएका सबै सवारी साधन जगदम्बा मोटर्समा मात्र बिक्री हुन्छन् । यसले व्यावसायिक विविधीकरण सीमित भए पनि कम्पनीलाई सञ्चालनमा स्थायित्व प्रदान गरेको छ । कम्पनीले नेपाल सरकारको एसेम्बल उद्योग प्रोत्साहन नीतिबाट पनि लाभ उठाउँदै आएको छ । सरकारले सवारी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ वा स्पेयर पाट्र्समा ५० प्रतिशत एक्साइज कर र २५ प्रतिशत आयात कर छुट प्रदान गरेको छ, जसले स्थानीय एसेम्बल उद्योगलाई प्रोत्साहित भएको कम्पनीको भनाइ छ । कम्पनीले यस्ता नियामकीय परिवर्तनहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता राखेकोले भविष्यमा स्थिर आम्दानी र बजारमा उपस्थिति कायम राख्न सक्षम हुने विश्वास गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ९१ करोड रुपैयाँ लिएको छ।

चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

काठमाडौं । चितवन जिल्लाको कालिका नगरपालिका-९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका-८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । दुर्घटनामा परी घाइते राप्ती नगरपालिका-९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पोखरामा वाडा अटो शो २०२६ आयोजना हुने, स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । अटो शोको दोस्रो संस्करण पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिद–बिक्री तथा अटोमोबाइल क्षेत्रमा विकसित आधुनिक प्रविधिप्रति सवारीधनी, सम्भावित ग्राहक र सर्वसाधारणको बढ्दो चासोलाई ध्यानमा राख्दै अटो शो आयोजना गर्न लागिएको हो । अटो शोको आयोजना पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनले गर्नेछ । अटो शोमा साना, मझौला तथा ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । प्रदर्शनीका लागि स्टल बुकिङ फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि.ले गर्नेछ । स्टल बुकिङ गर्न इच्छुक कम्पनी तथा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् । आयोजकका अनुसार अटो शोले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नयाँ मोडेलका सवारीसाधन तथा सम्बन्धित सेवाहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  

आम्दानीको स्रोत बन्यो अटोरिक्सा, मासिक ४० हजार आम्दानी

म्याग्दी । म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए । अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक सुमन रिजाल बताउछन् । बेनी नगरपालिका–२ बगरफाँटका रिजालले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजारसम्म आम्दानी गर्दै आएको बताए । विदेश गएर अरुको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मनसायले अटो व्यवसायमा लागेको उनको भनाइ छ । अटो चलाएर प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् । 'मैले बेनी बजार र नगरपालिका क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको छु, दैनिक दुई हजार पाँच सयदेखि तीन हजार कमाइ हुन्छ', उनले भने, 'सबै खर्च कटाएर दैनिक एक हजार ५०० बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।' तीन वर्षअघि रु तीन लाख ८० हजारमा अटोरिक्सा किन्नुभएका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटा पनि यसबाट प्राप्त हुने कमाइले सन्तुष्ट छन् । सेवा पनि हुने र फाइदा पनि हुने यो व्यवसायप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेकाले अहिले अटोरिक्सा धेरै हुँदा पहिलाको तुलनामा कमाइ घटेको भए पनि अरु व्यवसायमा भन्दा राम्रै रहेको उनको भनाइ छ । 'सुरुसुरुमा अटोरिक्सा कमै थिए, दैनिक तीन हजार ५०० देखि पाँच हजारसम्म पनि कमाइ हुन्थ्योँ', उनले भने, 'अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, घरखर्च र अन्य भइपरि आउने खर्च यसैबाट चलेको छ, अलिअलि बचत पनि भएकै छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।' अर्का अटो चालक वसन्त रेग्मीले पनि अटो चलाएर राम्रो आम्दानी गरेका छन् । मासिकरूपमा ३० हजार बढी बचत गर्न सफल रेग्मी वैदेशिक रोजगारीबाट फर्केर अटोरिक्सा चलाउन थालेका हुन् । उनले भने, 'घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।' जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ । बेनी नगरपालिकाले नगरपालिकाका १० वटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटोरिक्सा वितरण गरेपछि यहाँ अटो चल्न सुरु गरेको हो । पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटोरिक्सा सञ्चालन भएका छन् । नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुनेगरेका बेनी नगरपालिकाले जनाएको छ । रासस

अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

काठमाडौं । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ । यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो । उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति शृंखलामा आएको अवरोधका कारण नाफा प्रभावित भएको कम्पनीले जनाएको छ। विशेषगरी केही आयातित अटो पार्ट्समा लाग्ने अतिरिक्त कर र शुल्कले वित्तीय दबाब बढाएको उल्लेख गरिएको छ। कम्पनीले विद्युतीय सवारी साधन कार्यक्रमतर्फ गरिएको ठूलो लगानी र संरचनात्मक पुनर्संरचनासम्बन्धी खर्चले पनि घाटा बढाउन भूमिका खेलेको बताएको छ । विद्युतीय सवारी उत्पादन विस्तार गर्ने क्रममा प्रारम्भिक चरणमा उच्च लागत व्यहोर्नुपरेको विश्लेषकहरूले बताएका छन् । फोर्डका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष लागत नियन्त्रण, उत्पादन दक्षता वृद्धि र प्रतिस्पर्धी मोडेल विकासमार्फत वित्तीय अवस्थामा सुधार ल्याउने लक्ष्य रहेको बताएका छन् । कम्पनीले सन् २०२६ मा ब्याज र करअघिको नाफामा उल्लेखनीय सुधार हुने अपेक्षा व्यक्त गरेको छ । यद्यपि, विश्वव्यापी बजार प्रतिस्पर्धा, व्यापार नीतिमा अनिश्चितता तथा लागत वृद्धिका चुनौतीहरू कायम रहेकाले कम्पनीले दीर्घकालीन रणनीति सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको विश्लेषण गरिएको छ । रासस

दलका घोषणापत्रमा के चाहन्छ अटो क्षेत्र ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् भने चुनावी घोषणापत्र निर्माणमा समेत लागिसकेका छन् । तर, देशको अर्थतन्त्रमा उल्लेख्य योगदान दिँदै आएको अटोमोबाइल क्षेत्रका व्यवसायीहरू भने घोषणापत्रमा दोहोरिने खोक्रा नाराभन्दा व्यवहारिक, स्पष्ट र दीर्घकालीन नीतिको अपेक्षामा छन् । उनीहरूले हरेक वर्ष बजेट आउँदा ‘अब के हुने हो ?’ भनेर त्रसित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै अटो क्षेत्रलाई केवल राजस्व उठाउने माध्यमको रूपमा नभई समग्र अर्थतन्त्रको चालक शक्तिको रूपमा हेर्न माग गरेका छन् ।  टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले अटो क्षेत्रको दिगो विकास र यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका लागि दलहरूले नीतिगत स्पष्टता र सहुलियतका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।  उनका अनुसार राजनीतिक दलहरूले अटो क्षेत्रलाई राजस्व संकलनको माध्यमका रूपमा मात्र नभई पूर्वाधार विकास, रोजगारी सिर्जना र वातावरणीय सुधारको एक महत्त्वपूर्ण अंगका रूपमा हेर्नुपर्ने बेला आएको छ । सीईओ श्रेष्ठले प्रदूषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न कर छुटजस्ता विभिन्न सुविधा दिएकोमा सराहना गरे । तर, उनले यही उद्देश्य पूरा गर्ने नयाँ प्रविधि ‘भारत स्टेज–६ (बीएस–६)’ मापदण्डका सवारी साधनलाई पनि सरकारले उपेक्षा गर्न नहुने तर्क गरे ।  ‘विद्युतीय सवारीजस्तै बीएस-६ इन्जिनले पनि प्रदूषण न्यूनीकरणमा ठूलो भूमिका खेल्छ । यो युरो-६ सरहको उन्नत प्रविधि हो,’ उनले भने, ‘यसको मूल्य सामान्य सवारीभन्दा केही बढी हुने भएकाले यसको प्रवर्द्धनका लागि सरकारले विद्युतीय सवारीमा जस्तै केही कर सहुलियत वा सुविधा दिनुपर्छ । यस्तो गर्दा प्रदूषण नियन्त्रणको राष्ट्रिय लक्ष्यमा ठूलो सहयोग पुग्छ ।’ अटो क्षेत्रमा सरकारको नीति बारम्बार परिवर्तन हुँदा लगानीकर्ताहरू हतोत्साहित हुने गरेको श्रेष्ठको भनाइ छ । उनले विद्युतीय सवारी र पेट्रोल/डिजेल सवारी दुवैका लागि स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिए ।  ‘आज लगानी गर्ने, भोलि नीति परिवर्तन भएर लगानी डुब्ने हो कि भन्ने डर निजी क्षेत्रमा सधैं रहन्छ,’ उनले भने, ‘दलहरूले आफ्नो घोषणापत्रमा अटो क्षेत्रका लागि कम्तीमा ५-१० वर्षसम्म परिवर्तन नहुने स्थिर कर नीति र अन्य नियमहरू ल्याउने प्रतिबद्धता जनाउनुपर्छ । यसले लगानीको वातावरण बनाउँछ ।’ यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव थापा पनि राजनीतिक दलहरूले आर्थिक मुद्दालाई कहिल्यै प्राथमिकतामा नराखेको गुनासो गर्छन् । उनका अनुसार अटोमोबाइल क्षेत्रलाई केवल ‘आयात गरेर बेच्ने’ व्यवसायका रूपमा मात्र हेरिनु सबैभन्दा ठूलो भ्रम हो ।  ‘अटोमोबाइल क्षेत्रले राजस्वमा मात्र होइन, दशौं लाख मानिसलाई रोजगारी दिएको छ,’ थापा भन्छन्, ‘वर्कसपका मिस्त्रीदेखि शोरुमका कर्मचारी, बसका कन्डक्टरदेखि उद्योगको सामान जुम्ला-हुम्ला पुर्‍याउने चालकसम्म सबै यही क्षेत्रमा आश्रित छन् । यो त अर्थतन्त्रको विशाल सञ्जाल हो ।’ ‘हामी हरेक बजेटमा ‘अब गाडी थुपार्ने कि नथुपार्ने’ भनेर सधैं जोखिममा काम गर्न बाध्य छौं । यस्तो हुनुभएन, कम्तीमा १० वर्षको स्थायी नीति बनोस् ताकि भविष्यको अनुमान गर्न सकियोस्,’ थापाले थपे । उनले नेपालमै उत्पादन भएको ‘हुलास मोटर्स’ बन्द हुन पुगेको दुखद उदाहरण दिँदै भने, ‘नेपालमै ३०/४० प्रतिशत पाटपूर्जा उत्पादन गर्न थालिसकेको उद्योगलाई बन्द हुन बाध्य पारियो । भोलिका दिनमा यस्तो नहोस् भन्ने सुनिश्चित गर्ने नीति चाहिन्छ ।’ अटो व्यवसायी आकाश गोल्छा भने अटो क्षेत्रका लागि तीनवटा मुख्य कुरामा जोड दिन्छन् । ‘हरेक पटक बजेट आउँदा नीति परिवर्तन हुन्छ, जसले गर्दा हामीले लगानीको योजना बनाउनै सक्दैनौं । हामीलाई दीर्घकालीन दृष्टिकोणसहितको स्थिर नीति चाहियो,’ उनले भने ।  गाडी खरिदकर्ताका लागि मात्र नभई व्यवसायीहरूलाई समेत ऋण लिन सहज वातावरण बनाउनुपर्ने उनको तर्क छ । गोल्छा एउटा मात्र क्षेत्रलाई प्राथमिकता दिएर देशको विकास असम्भव मान्छन् ।  उनी भन्छन्, ‘सेयर बजार, अटो क्षेत्र तथा पर्यटन क्षेत्र राम्रो भएर हुँदैन । सरकारले समग्रमा आर्थिक गतिविधि बढाउने नीति लिनुपर्छ । जब उपभोक्ताले खर्च गर्छन्, व्यवसायीहरुले ऋण लिएर उद्योग खोल्छन्, सरकारले पूर्वाधारमा लगानी बढाउँछ, तब मात्र सम्पूर्ण अर्थतन्त्र चलायमान हुन्छ ।’ गोल्छाका अनुसार समग्र आर्थिक चक्र सुधारिएमा अटो क्षेत्र स्वतः फस्टाउनेछ, रोजगारी बढ्नेछ र युवा विदेशिने क्रम पनि घट्नेछ । सरकारले अटोमोबाइललाई राजस्वको स्रोत मात्रै हो भन्ने साँघुरो सोच त्यागेर रोजगारी सिर्जना र आर्थिक विकासको महत्त्वपूर्ण इन्जिनको रूपमा स्वीकार गर्नुपर्ने उनको जोड छ। अटो व्यवसायीको साझा चिन्ता अस्थिर राजनीति र सरकार परिवर्तनपिच्छे फेरिने नीति नियम नै हो । ‘विगतमा बहुमतको स्थिर सरकार नबन्दा र मन्त्रालय भागबन्डामा चल्दा समस्या भयो । यसपालि एउटै पार्टीको बहुमत आओस् र उसले आफ्नो घोषणापत्र लागू गर्न पाओस् भन्ने आशा छ,’ गोल्छाले भने ।  उनका अनुसार अटो क्षेत्रका लागि तत्काल आवश्यक गाडी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरूले सहज र सुलभ रूपमा कर्जा प्रवाह गर्ने वातावरण बनाउनुपर्ने तथा  सरकारले बारम्बार परिवर्तन गरिरहने कर नीति र अन्य नियमहरूलाई स्थिर बनाउनुपर्छ । जसले गर्दा व्यवसायी र उपभोक्ता दुवैमा आत्मविश्वास बढ्छ । ‘हामीलाई अरू केही चाहिँदैन, बैंक फाइनान्स राम्रो होस् र सरकारको नीति स्थिर होस् । यति भएमा अटोमोबाइल क्षेत्र आफैं लयमा फर्किन्छ,’ उनले थपे । सवारीसाधन विलासिता होइन, आवश्यकता हो नेपालमा सवारीसाधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा हेरिने र सोहीअनुसार अत्यधिक कर लगाइने प्रवृत्तिप्रति सीईओ श्रेष्ठले असन्तुष्टि व्यक्त गरे । विशेषगरी, कमर्सियल गाडीको लागत बढ्दा त्यसको प्रत्यक्ष असर महँगीमा पर्ने उनको तर्क छ ।   ‘हाम्रो जस्तो भूपरिवेष्ठित देशमा ९९ प्रतिशत ढुवानी सडकबाटै हुन्छ । जब गाडीको मूल्य र कर बढ्छ, त्यसले ढुवानी लागत बढाउँछ र अन्ततः हरेक सामानको मूल्य बढेर जनता नै मारमा पर्छन्,’ श्रेष्ठले भने, ‘अब दलहरूले सवारीसाधनलाई आवश्यकताको वस्तुका रूपमा स्वीकार गरी नीति बनाउनुपर्छ । ’  बीएस-६ जस्ता नयाँ प्रविधि भित्रिँदै गर्दा त्यसलाई मर्मतसम्भार गर्न सक्ने दक्ष जनशक्तिको पनि अभाव रहेको उनले बताए । सरकारले सीटीईभीटीजस्ता तालिम प्रदायक संस्थाहरूको पाठ्यक्रम र क्षमतालाई स्तरोन्नति गरी नयाँ प्रविधिका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।  नेपालमा सवारी एसेम्बली उद्योगको सम्भावनाबारे बोल्दै श्रेष्ठले हालको सानो बजार आकारमा यो तत्कालै धेरै फाइदाजनक नहुने बताए । ‘अहिले वार्षिक १२/१३ हजार गाडीको बजार छ । जबसम्म यो बजार बढेर ३०/४० हजार पुग्दैन र सरकारले सवारीलाई आवश्यकता मानेर नीतिगत स्थिरता दिँदैन तबसम्म एसेम्बली उद्योग फस्टाउन गाह्रो छ,’ उनले स्पष्ट पारे ।  सीईओ श्रेष्ठले राजनीतिक दलहरूलाई आगामी निर्वाचनको घोषणापत्रमा अटो क्षेत्रका यी व्यावहारिक समस्या र मागहरूलाई सम्बोधन गर्न आग्रह गरे । अटो क्षेत्रलाई विलासितासँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको भन्दै नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले यसलाई देशको उत्पादनशील आर्थिक पूर्वाधारका रूपमा बुझ्नुपर्ने बताए ।  यातायातले व्यापार, पर्यटन, कृषि, आपतकालीन सेवा र रोजगारी सिर्जनामा निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै उनले मानिस र वस्तुको सहज आवागमन बिना आर्थिक वृद्धि सम्भव नहुने धारणा राखे । अटो क्षेत्रको दीर्घकालीन सुधारका लागि उनले सिधा सवारी साधन आयातमा मात्र सीमित नहुने गरी मूल्य अभिवृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।  ‘स्थानीय एसेम्बली, बस तथा युटिलिटी सवारीको बडी-बिल्डिङ र विद्युतीय सवारी (ईभी) का कम्पोनेन्ट एकीकरणमार्फत स्वदेशमै रोजगारी, सीप विकास र मूल्य सृजना गर्न सकिन्छ,’ थपलियाले भने । उनका अनुसार बारम्बार परिवर्तन हुने नीतिले उद्योग र लगानीकर्तामा अनिश्चितता बढाएको छ । त्यसैले दीर्घकालीन, स्थिर र पूर्वानुमेय अटो नीति आवश्यक रहेको उनले बताए ।  पुराना, असुरक्षित र कम दक्ष सवारी साधन हटाएर आधुनिक विकल्प अपनाउने संरचित सवारी प्रतिस्थापन कार्यक्रमले सडक सुरक्षा र प्रणालीगत दक्षता बढाउने उनको तर्क छ । थपलियाले प्रतीकात्मक परिवर्तनभन्दा सार्वजनिक तथा व्यावसायिक यातायातलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् । सार्वजनिक बस, ट्याक्सी तथा ढुवानी-डेलिभरी फ्लीटको आधुनिकीकरणले उच्च आर्थिक र सामाजिक प्रतिफल दिने उनको भनाइ छ । विद्युतीय सवारी प्रवर्द्धनका लागि चार्जिङ पूर्वाधारलाई सडक वा टेलिकम टावर झैं सार्वजनिक उपयोगिताका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘निजी लगानी आकर्षित गर्ने, राष्ट्रिय मापदण्ड एकरूप बनाउने र सहरदेखि राजमार्गसम्म चार्जिङ पहुँच सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘पूर्वाधारले अपनत्वलाई अगाडि बढाउनुपर्छ, पछि लाग्न होइन ।’ नेपालभित्रै दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै थपलियाले ईभी प्राविधिक, डायग्नोस्टिक्स र पावर इलेक्ट्रोनिक्समा प्रमाणित तालिम आवश्यक रहेको बताए । यसले युवालाई वैदेशिक रोजगारीको निर्भरता घटाई स्वदेशमै दक्ष रोजगारीमा रूपान्तरण गर्ने उनको विश्वास छ ।उनले व्यावसायिक सवारी, सार्वजनिक यातायात र साना उद्यमीका लागि सहुलियत ब्याजदरमा वित्तीय पहुँच सुनिश्चित गर्नुपर्ने पनि बताए । ‘यातायात वित्तलाई विलासी ऋण होइन, उत्पादनशील ऋणका रूपमा हेर्नुपर्छ,’ उनको भने । सरकारले पनि घोषणामा सीमित नबसी कार्यान्वयनमार्फत उदाहरण प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ । सरकारी तथा राज्य-स्वामित्वका सवारी फ्लीटलाई क्रमशः आधुनिक र दक्ष सवारीमा रूपान्तरण गर्नुपर्ने उनले बताए ।

नेपालको अटो उद्योग कहाँ चुक्यो, अब कसरी बढ्छ अघि ?

काठमाडौं । कुनै पनि मुलुकको विकासका लागि यातायात र अटो क्षेत्रलाई मेरुदण्ड मानिन्छ । नेपालमा पनि अटो क्षेत्रको विकास र विस्तारबारे नयाँ बहस सुरु भएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बिहीबार थापाथली क्याम्पसमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले नेपाललाई अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बनाउन र उपभोक्तालाई सस्तो दरमा सवारी साधन उपलब्ध गराउन ‘सीकेडी’ मोडल उत्तम विकल्प हुने धारणा राखेका छन् ।  नेपालको अटोमोबाइल क्षेत्रको विकासमा देखिएका चुनौती, अवसर र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे सरोकारवालाहरूले चासो राखेका छन् ।  यातायात विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवले नेपालमा सवारीसाधनको एसेम्ब्ली २०७० सालपछि बढेको बताए । उनले नेपाल सरकारले सवारी प्रदूषण नियन्त्रणका लागि विभिन्न मापदण्डहरू ल्याएको जानकारी दिए ।  ‘२०५६ सालमा नेपाल सवारी प्रदूषण मापदण्ड २०५६ लागु भयो, जुन युरो–वान स्ट्याण्डर्डसँग मिल्दोजुल्दो थियो,’ यादवले भने ।  उनका अनुसार यसलाई सुधार गर्दै २०६९ सालमा युरो–थ्री स्ट्याण्डर्डसँग समानान्तर मापदण्ड ल्याइयो । हालै २०८२ सालको असार मसान्तदेखि युरो–सिक्स स्ट्याण्डर्ड बराबरको नेपाल प्रदूषण मापदण्ड २०८२ लागू गरिएको छ । यादवले हुलास मोटरको उदाहरण दिँदै मापदण्ड परिवर्तनको असरबारे प्रस्ट पारे ।  ‘राम्रो उद्देश्य र राष्ट्रलाई आत्मनिर्भर बनाउने सोचसहित अघि बढेको हुलास मोटर किन अपेक्षित रूपमा फस्टाउन सकेन भन्ने प्रश्न धेरैको मनमा छ । त्यसबेला उत्पादन हुँदै गरेका सवारी साधन युरो–वान मापदण्डमा आधारित थिए । तर, उत्पादनकै बीचमा नेपाल सरकारले युरो–थ्री मापदण्ड लागू गर्‍यो । नयाँ मापदण्ड तत्काल पूरा गर्न नसक्दा हुलास मोटरले प्राविधिक तथा नीतिगत अप्ठ्यारो झेल्नुपरेको सुन्नमा आएको छ,’ उनले भने ।  उनका अनुसार सुरक्षा र गुणस्तरका लागि सरकारले ऐन, नियम, निर्देशिका र कार्यविधिहरू बनाएको छ, जसमा २०४९ को यातायात व्यवस्थापन ऐन, २०५४ को नियमावली र २०६० को कार्यविधि मुख्य हुन् । विभागले २०७४ सालमा सवारी साधनको इन्जिन, भौतिक र प्रदूषण चेकजाँचका लागि ९ वटा मापदण्ड बनाएको भए पनि बदलिँदो अटोमोबाइल क्षेत्र र प्रविधिसँगै ती पर्याप्त नभएको यादवले स्वीकार गरे । हाल यातायात व्यवस्थापन विभागले नाइमा र नाडालगायतका सरोकारवालाहरूसँग मिलेर सवारी साधन आयात, उत्पादन र एसेम्बल गर्दा पूरा गर्नुपर्ने आधारभूत मापदण्डहरू समेटिएको नयाँ कार्यविधि बनाइरहेको र त्यो अन्तिम चरणमा रहेको जानकारी दिए । ‘अबको एक/दुई महिनाभित्र त्यसको अन्तिम रूप तयार पारेर सार्वजनिक गरिनेछ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु,’ यादवले भने ।  यस्तै, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले कुनै पनि अटोमोबाइललाई नियमन गर्नु अत्यावश्यक रहेको बताउँदै मानव सुरक्षासँग जोडिएको विषय भएकाले सबै सचेत रहनुपर्ने औंल्याए । उनले हुलास मोटरसँग आफ्नो भावनात्मक लगाव रहेको बताउँदै स्थानीय उत्पादनलाई मापदण्ड पालनाका लागि समय दिनुपर्ने माग गरे ।  ‘हुलास मोटर सामान्य एसेम्ब्ली उद्योग होइन, यो पूर्ण रूपमा म्यानुफ्याक्चरिङ उद्योग थियो । तर आवश्यक समय र नीतिगत सहजीकरण सरकारले दिन नसक्दा उद्योग अन्योलमा पर्यो र अन्ततः बन्द हुन पुग्यो,’ उनले भने। युरो थ्री मापदण्ड लागु हुँदा इन्जिनमात्रै नभई पुरै डिजाइन नै परिवर्तन गर्नुपर्ने भएकाले हुलास मोटरलाई समय आवश्यक परेको उनको तर्क थियो । गोल्छाले एसेम्ब्ली उद्योगलाई देशमा अटोमोबाइल क्षेत्र फस्टाउने महत्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गरे । ‘एसेम्ब्ली उद्योग स्थापित भए मात्र कम्पोनेन्ट म्यानुफ्याक्चरिङ सम्भव हुन्छ । र जब कम्पोनेन्ट उत्पादन सुरु हुन्छ, तब मात्रै अनुसन्धान तथा विकास (आर एण्ड डी) को ढोका खुल्छ,’ गोल्छाले भने ।  एसेम्ब्ली उद्योगलाई निरुत्साहित गरेमा स्पेयर पाट्र्स उत्पादन र अनुसन्धान तथा विकास सम्भव नहुने उनको भनाइ थियो । नेपालमा होन्डा, यामाहा, टिभीएस र बजाजजस्ता स्थापित अन्तर्राष्ट्रिय ब्रान्डका मोटरसाइकलहरू एसेम्बल भइरहेको बताउँदै गोल्छाले यी कम्पनीहरूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्ने दाबी गरे ।  ‘उनीहरूले तोकेका पूर्ण सुरक्षा मापदण्ड हामीले अनिवार्य रूपमा पालना गर्नुपर्छ । त्यसैले प्रत्येक गाडीमा कडाइका साथ परीक्षण गरिन्छ,’ उनले स्पष्ट पारे ।  थापाथली क्याम्पसका अटोमोबाइल मेकानिकल इन्जिनियर लक्ष्मण पालिखेलले थापाथली क्याम्पस अटोमोबाइल इन्जिनियरिङको लागि अग्रणी संस्था रहेको र नेपालमै पहिलो पटक ब्याचलर लेभलमा इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको बताए । इथेनलको प्रयोगदेखि कार बाइकको उपयुक्तताबारे समेत अनुसन्धान गरिसकेको भए पनि उद्योग र शैक्षिक क्षेत्रबीच ठूलो खाडल रहेको उनले बताए ।  ‘उद्योगलाई वास्तवमै के आवश्यक छ, हाम्रो संस्थाले उद्योगलाई के–कस्तो सहयोग गर्न सक्छ, र उद्योगबाट हामीले के प्राप्त गर्न सक्छौं, यी सबै विषयमा आपसमा गहिरो र अर्थपूर्ण छलफल हुनु अत्यन्तै आवश्यक छ,’ पालिखेलले भने ।  पाठ्यक्रम विकास गर्दा उद्योगको सल्लाह लिनुपर्ने र वास्तविक समयको प्रविधि तथा बजारको जानकारी समावेश गर्नुपर्ने उनको जोड थियो ।  पालिखेलले नेपाल जस्तो मुलुकमा अनुसन्धान गरेर कागज थन्काउनु बुद्धिमानी नभएको बताए ।  उनले सिकेडी एसेम्ब्लीले यस्ता अनुसन्धानका लागि प्रशस्त अवसर सिर्जना गर्ने र विद्यार्थीका लागि फन्डिङको पाटोमा थोरै मात्र सहयोग भएमा क्याम्पसबाटै सानोतिनो अनुसन्धान हुन सक्ने सम्भावना औंल्याए । पालिखेलले ह्युमन रिसोर्स डेभलपमेन्टका लागि तालिमको महत्वमाथि पनि प्रकाश पारे । उनले थापाथली क्याम्पसमा अटोमोबाइल रिसर्च सेन्टर स्थापना गर्ने प्रयास कोइकासँगको सहकार्यमा अगाडि बढे पनि अन्तिम चरणमा सफल हुन नसकेकोमा दुःख व्यक्त गरे ।  यस्तो रिसर्च सेन्टरको स्थापनाले देशलाई नै प्रमाणपत्र, अनुसन्धान र सुरक्षा मापदण्डका सबै कुरामा सहयोग पुर्‍याउने उनको भनाइ थियो ।  प्रमुख यादवले उपभोक्तालाई स्थापित ब्रान्डहरूमा विश्वास गर्न आग्रह गर्दै ब्रान्डको लामो बजार अनुभव र अन्तर्राष्ट्रिय पहिचानले गुणस्तरको प्रत्याभूति दिने बताए । ‘मानव जीवनसँग खेलवाड कसैले पनि गर्न सक्दैन । भनेपछि उनीहरू त्यो ब्रान्डले त्यो जिम्मेवारी पनि बोकेको हुन्छ,’ यादवले भने । यसैमा थप्दै पालिखेलले उत्पादनको विश्वास प्रमाणपत्रसँग जोडिएको बताए । उनले मापदण्ड बने पनि त्यसलाई भेरिफाई गर्ने संस्थाको अभाव रहेको उल्लेख गरे ।  ‘अटोमोबाइल इन्जिनियरिङको पायोनियर संस्था थापाथली क्याम्पसमा अटोमोबाइल रिसर्च सेन्टर स्थापना गर्न सके, त्यसले केवल क्याम्पसलाई मात्र होइन, समग्र देशकै औद्योगिक र प्राविधिक विकासमा ठोस योगदान दिन सक्छ,’ उनले भने । उनले उक्त सेन्टर स्थापनाको आवश्यकतामा पुनः जोड दिए । यसका लागि सरकार, उद्योग र विश्वविद्यालय सबैको गम्भीर पहलकदमी आवश्यक रहेको उनको भनाइ थियो ।  यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले देशको सडक सुरक्षा र सवारी व्यवस्थापनमा मेकानिकल इन्जिनियरिङ र चालक शिक्षाको भूमिका अपरिहार्य रहेको बताए । स्वदेशी सवारी उत्पादनसँगै सवारी चलाउने व्यक्तिको प्राविधिक ज्ञान र शिक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।  अधिकारीले भने, ‘हामी करोडौंका गाडीका कुरा गर्छौं । तर त्यो चलाउने मान्छेलाई गाडीको भित्री मेकानिजम र गतिको बारेमा कत्तिको ज्ञान छ भन्ने कुरामा बहस हुँदैन ।’ उनले रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढेको बताए । नेपालको भूगोल पहाड, अफ–रोड र सिटी रोड अनुसार सवारी साधनको इन्डिजेनाइजेसन (स्वदेशीकरण) हुनुपर्ने उनको तर्क थियो । प्रमुख अधिकारीले नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रियामा पनि सुधारको आवश्यकता औंल्याए ।  ‘आठ अंक ९८० मा सानो गाडी चलाएर लाइसेन्स लिने तर सडकमा पल्सर वा ठूला गाडी कुदाउने प्रवृत्तिले जोखिम बढाएको छ,’ उनले भने । सवारी साधनको गति नियन्त्रणका लागि म्यानुफ्याक्चरिङकै तहबाट सोच्नुपर्ने र नेपालका सडकको अवस्था हेरेर स्पिड लिमिट तोकिनुपर्ने उनले बताए ।  सीकेडी प्रणालीबारे निरन्तर छलफल नेपालमा सीकेडी प्रणालीका फाइदाबारे निरन्तर छलफल भइरहेका छन् । सीकेडीको मूल उद्देश्य स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र दीर्घकालीन औद्योगिक विस्तार रहेको सरोकारवालाहरूको भनाइ छ।  सीकेडी सफल हुनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनु अपरिहार्य रहेको निष्कर्ष छलफलमा निकालिएको छ ।  यसका लागि सरकारले औद्योगिक नीति, कर नीति र सहजीकरणसम्बन्धी स्पष्ट, स्थिर र प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ । औद्योगिक नीति अवरोध सिर्जना गर्ने नभई उद्योगलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । सरकार सहजीकरणकर्ता मात्र नभई नियमनकर्ता पनि भएकाले उपभोक्ता सुरक्षा र उत्पादकका समस्या सन्तुलित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड छ । सीकेडी उद्योगले ठूलो संख्यामा जनशक्ति आवश्यक पार्ने भएकाले रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिइरहेको बताइएको छ ।  हाल नेपालका एसेम्बली उद्योगहरूले करिब ३ हजारदेखि ५ हजार जनालाई रोजगारी दिइरहेका छन्, जसमा महिलाको सहभागिता पनि उल्लेखनीय रहेको छ । यसले स्थानीय प्रतिभा विकाससँगै ब्याकवार्ड इन्टिग्रेसन अर्थात् स्थानीय पार्टपुर्जा उत्पादनको सुरुआतसमेत गरिसकेको छ । आगामी ६ महिना देखि १ वर्षभित्र १०/१५ प्रतिशतसम्म स्थानीय सामग्री प्रयोग गर्ने लक्ष्य उद्योगहरूले लिएका छन् ।  प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको यो उद्योगमा उत्पादनको गुणस्तर सुधारका लागि अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकास अपरिहार्य रहेको उनीहरूको भनाइ छ । चीनलगायत मुलुकहरूले प्रविधि तथा अनुसन्धान संस्थामा गरेको लगानी उदाहरणीय रहेको उल्लेख गर्दै नेपालमा पनि सरकारबाट स्वतन्त्र, निष्पक्ष र प्राविधिक अनुसन्धान संस्था स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । सीकेडी प्रणालीप्रति उपभोक्ताको चासो पनि बढ्दो देखिएको छ । सरकारी सहुलियतका कारण मोटरसाइकलको मूल्य १०/१५ प्रतिशतसम्म घट्न सक्ने सम्भावना देखिएको छ । खुला बजार अर्थतन्त्रमा प्रतिस्पर्धा बढेसँगै उपभोक्ताले मूल्य र सेवामा प्रत्यक्ष लाभ पाइरहेका छन् ।  नेपालको अटो क्षेत्रको विकासका लागि सरकारले समयसापेक्ष मापदण्ड बनाउँदै लैजानु पर्ने, उद्योगले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न एसेम्ब्ली उद्योगलाई महत्व दिनुपर्ने र शैक्षिक क्षेत्रले उद्योगसँग सहकार्य गरी पाठ्यक्रम तथा अनुसन्धानलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिएको छ । के हो सीकेडी मोडल ? सामान्यतया नेपालमा विदेशमा बनिसकेका तयारी अर्थात् पूर्ण रूपमा निर्मित गाडीहरू आयात गरिन्छ । जसमा ३०० प्रतिशतसम्म कर लाग्ने गर्छ तर, सीकेडी मोडलमा सवारी साधनका स–साना पार्टपूर्जाहरू छुट्टाछुट्टै आयात गरी नेपालमै एसेम्बल गरिन्छ । यसरी नेपालमै गाडी तयार पार्दा भन्सार दर कम हुने र उपभोक्ताले सस्तो मूल्यमा सवारीसाधन पाउन सक्ने उल्लेख गरिएको छ । नेपाली बजारमा गाडीको मूल्य अत्याधिक हुनुको मुख्य कारण उच्च आयात कर हो ।  यदि सरकारले सीकेडी मोडललाई प्रोत्साहन गर्ने नीति ल्याउने हो भने उपभोक्ताले अहिलेको तुलनामा धेरै कम मूल्यमा गाडी खरिद गर्न पाउनेछन् । यसैगरी, नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना हुँदा हजारौं दक्ष प्राविधिक र श्रमिकले रोजगारी पाउनेछन्।  कार्यक्रममा भारतको हिरो र होण्डाको उदाहरण दिँदै सुरुमा इन्जिन मात्र आयात गरेर पछि कसरी भारत अटोमोबाइलमा विश्वकै अग्रणी बन्यो भन्ने चर्चासमेत गरिएको थियो ।  त्यसैगरी, ब्राजिल, चीन र अफ्रिकी मुलुकहरूले पनि सरकारी अनुदान र कर छुटमार्फत यो क्षेत्रमा प्रगति गरेको पनि छलफल कार्यक्रममा भएको थियो । यद्यपि सरोकारवालाहरूले नेपालको सानो बजार, दक्ष जनशक्तिको अभाव र अस्थिर कर प्रणाली मुख्य चुनौतीका रूपमा हेरेका छन् । सरकारले सीकेडीलाई केवल राजस्व संकलनको माध्यम मात्र नहेरी दीर्घकालीन आर्थिक विकासको आधारका रूपमा बुझ्नुपर्नेमा विज्ञहरूको जोड छ।

रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।  नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ । कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ ।  यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ । एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाएको छ । 

ईयू पछि हटे पनि अटो उद्योगको गन्तव्य विद्युतीय नै

काठमाडौं । ब्रसेल्सले सन् २०३५ सम्म पूर्ण रूपमा विद्युतीय सवारीमा रूपान्तरण गर्ने समयसीमा परित्याग गर्ने प्रस्ताव राखेपछि युरोपका परम्परागत कार निर्माता कम्पनीहरूलाई हाइब्रिड सवारी बिक्री गर्न थप समय मिल्ने भएको छ । तर दीर्घकालीन रूपमा हेर्दा विद्युतीय सवारीसाधन (ईभी) नै भविष्य हुने विश्लेषक र विज्ञहरूले बताएका छन् । मंगलबार युरोपेली संघले सन् २०३५ देखि आन्तरिक दहन इञ्जिन (आईसीई) भएका कारहरूमा प्रभावकारी प्रतिबन्ध लगाउने योजना परित्याग गर्ने प्रस्ताव सार्वजनिक गरेको हो ।  क्षेत्रीय अटो उद्योगको दबाबपछि यस्तो निर्णय आएको हो, जसले ती कम्पनीहरूलाई छिटो अघि बढिरहेका चिनियाँ प्रतिस्पर्धीहरूसँग राम्रोसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्लग–इन हाइब्रिड, दायरा विस्तार गरिएका ईभी (जसमा ब्याट्री रिचार्ज गर्न सानो दहन इञ्जिन प्रयोग गरिन्छ) तथा परम्परागत दहन इञ्जिन भएका सवारीहरू समेत सन् २०३५ पछि पनि कानुनी रूपमा सञ्चालनमा रहन सक्नेछन् । ब्रसेल्सले युरोपमै उत्पादन गरिएका मोडेललाई अतिरिक्त क्रेडिट दिने व्यवस्था सहित साना ईभीहरूको नयाँ वर्ग प्रस्ताव गरेको छ । उद्योग विश्लेषकहरूका अनुसार, यसले कार निर्माताहरूले माग गरेका अधिकांश सहुलियत उपलब्ध गराएको छ । चिनियाँसँग प्रतिस्पर्धा गर्न समय ? ग्रान्ट थर्नटन स्ट्याक्स परामर्श संस्थाका प्रबन्ध निर्देशक फिल डनले भने, ‘युनियनले युरोपको कार उद्योगलाई छनोट गर्ने स्वतन्त्रता दिएको छ र प्रतिस्पर्धा गर्ने मौका दिएको छ ।’ ‘यसले लागत–प्रतिस्पर्धी ईभीहरू विकास गर्दै चिनियाँ उद्योगसँग युरोपलाई बराबरी गर्न मद्दत गर्ने आशा गर्न सकिन्छ,’ उनले थपे । मर्सिडिज र बीएमडब्ल्यूजस्ता प्रिमियम ब्रान्डहरूले पूर्ण रूपमा ईभी मात्र बिक्री गर्नुअघि प्लग–इन हाइब्रिडहरू बिक्री गर्न थप समय पाउनेछन् । फिएट ५०० र क्लियोजस्ता साना मोडेलहरूको विस्तृत दायरा भएका स्टेलान्टिस र रेनोले युरोपका सहरवासी लक्षित साना ईभीका लागि दिइने नयाँ अनुदानयुक्त वर्गबाट फाइदा उठाउने अपेक्षा गरिएको छ । ईयूको यो धारणा संयुक्त राज्य अमेरिकाभन्दा निकै फरक छ, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ईभीप्रतिको समर्थन फिर्ता लिएका छन् । यस वर्ष ईयूमा ईभी बिक्री बढ्दा चिनियाँ प्रतिस्पर्धा गत वर्ष ब्रसेल्सले चीनमा बनेका ईभीमा भन्सार शुल्क लगाएको थियो । तर यसले चाङ्गानजस्ता ब्रान्डहरू युरोपमा विस्तार हुनबाट खासै रोक्न सकेको छैन । बीवाईडी र अन्य चिनियाँ कम्पनीहरूले आयातित प्लग–इन हाइब्रिडमा कुनै भन्सार शुल्क तिर्नुपरेको छैन । साथै पोल्याण्डजस्ता ईभी बिक्री कम भएका बजारहरूमा धेरै चिनियाँ कम्पनीहरूले आईसीई (डिजेल÷पेट्रोलबाट चल्ने)मोडेलहरू समेत बिक्री गरिरहेका छन् । मंगलबारको घोषणाअघि परामर्श संस्था एलिक्सपार्टनर्सले सन् २०३५ सम्म युरोपमा पूर्ण विद्युतीय कारहरूको हिस्सा केवल ६२ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो किनकि प्रतिबन्ध प्रभावकारी रूपमा लागू हुन्छ भन्नेमा संस्था विश्वस्त थिएन । संस्थाका साझेदार निक पार्करले उक्त पूर्वानुमानमा ठूला परिवर्तन हुने अपेक्षा नरहेको बताए । तर विद्युतीयतर्फको रूपान्तरण ढिलो हुँदा चार्जिङ पूर्वाधार निर्माणका लागि बजारलाई समय मिल्नेछ जुन ईभीको अपनत्व ढिलो हुनुको मुख्य कारणहरूमध्ये एक हो । उद्योगसम्बन्धी तथ्याङ्कअनुसार अक्टोबरसम्म ईयूमा पूर्ण विद्युतीय कार बिक्री वार्षिक आधारमा २५.७ प्रतिशतले वृद्धि भई कुल बिक्रीको १६.४ प्रतिशत पुगेको छ । तर दक्षिणी र पूर्वी युरोपमा यी सवारीको हिस्सा अझै अत्यन्तै सानो छ । कार निर्माताहरूले ईभी डिजाइनमा अर्बौं खर्च गरिसके नीतिगत परिवर्तनले ती अटो निर्माता र आपूर्तिकर्ताहरूका लागि झट्का दिएको छ, जसले सन् २०२३ मै कानुन बनेको ईयू नीतिको आधारमा विद्युतीय कार डिजाइन र कारखाना क्षमता विस्तारमा दशौं अर्ब युरो खर्च गरिसकेका छन् । तर परम्परागत अटो निर्मातालाई फरक–फरक प्रविधि प्रयोग गर्न दिँदा सस्तो ईभी विकासका लागि सहकार्य बढ्न सक्छ । उदाहरणका रूपमा गत साता सार्वजनिक भएको युरोपमा साना ईभी विकास गर्न फोर्ड र रेनोबीचको साझेदारीलाई लिन सकिन्छ । ईयू घोषणाअघि एक दिनमै अमेरिकी अटो निर्माता फोर्डले १९.५ अर्ब डलरको लेखा–कटौती (राइटडाउन) र केही विद्युतीय मोडेलहरू बन्द गर्ने योजना सार्वजनिक गरेको थियो । ‘यसले अन्ततः अटो निर्माताहरूबीच थप सहकार्य र प्लेटफर्म साझेदारीलाई प्रेरित गर्नेछ,’ ब्याट्री इलेक्ट्रोडको ड्राइ कोटिङ प्रविधि विकास गरिरहेको बेलायती स्टार्टअप अनाफाइटका प्रमुख कार्यकारी अधिकृत जो स्टिभेन्सनले भने । यस प्रविधिले ईभीको लागत घटाउन सक्ने बताइन्छ । मंगलबारको घोषणाअघि फोर्डका सीईओ जिम फार्लेले ब्रसेल्सलाई हरेक केही महिनामा नीति परिवर्तन गर्नुको साटो एउटै नीति छनोट गरी त्यसमा अडिग रहन आग्रह गरेका थिए ।  मार्चमै संघले २०२५ को उत्सर्जन लक्ष्य तीन वर्षमा पूरा गर्न अनुमति दिँदै उद्योगलाई राहत दिएको थियो जसपछि नौ महिनामै थप परिवर्तनहरू गरिएको थियो । ‘दीर्घकालीन पुँजी लगानी योजना बनाउने तरिका यो होइन,’ फार्लेले भने, ‘हामीलाई निश्चितता चाहिन्छ ।’

रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू

काठमाडौं । विश्वका अटो निर्माता कम्पनीहरू चीनको आगामी निर्यात नियन्त्रण अघि अत्यावश्यक दुर्लभ धातु (रेयर अर्थ्स) खोज्दै विश्वभर दौडिरहेका छन् । कार्यकारी अधिकृतहरू यी नियन्त्रणले उत्पादनका लागि आवश्यक पुर्जाको अभाव र कारखाना बन्द हुने अवस्थासमेत निम्त्याउन सक्नेमा चिन्तित छन् । दुर्लभ धातुबाट बनेका चुम्बकहरूले साइड मिरर, स्पिकर, तेल पम्प, विन्डसिल्ड वाइपर, इन्धन चुहावट र ब्रेक सेन्सर जस्ता कारका विभिन्न भागका मोटरहरू सञ्चालन गर्छन् । विद्युतीय सवारीसाधन (ईभी) मा त तिनको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । अमेरिका–चीनबीचको एउटा सम्झौताले तत्कालको आपूर्ति जोखिम त घटाएको छ, तर यसअघि पनि यस्तै प्रतिबन्धका कारण भण्डारहरू सकिएका थिए । साथै बेइजिङले निर्यात अनुमति पाउन अझ कडा नियम लागू गरेको छ । त्यसबेलादेखि चीनले निर्यात नियन्त्रणलाई ठूलो मात्रामा विस्तार गरेको छ, जसका कारण कम्पनीहरू विश्वव्यापी आपूर्ति अभावको सामना गरिरहेका छन् । कन्सल्टेन्सी कम्पनी अलिक्सपार्टनर्सका अनुसार चीनले विश्वका दुर्लभ धातु खानीमध्ये करिब ७० प्रतिशत, रिफाइनिङ क्षमताको ८५ प्रतिशत र धातु मिश्रण तथा चुम्बक उत्पादनको करिब ९० प्रतिशत नियन्त्रणमा राखेको छ । चीनको नयाँ निर्यात नियन्त्रण सूचीमा इटर्बियम, होमियम र युरोपियमजस्ता तत्त्वहरू पनि छन्, जसको प्रयोग गाडी निर्माणमा पनि हुन्छ । ‘स्थिति अत्यन्तै तनावपूर्ण छ,’ जर्मन मेटल–पाउडर आपूर्तिकर्ता एनएमडीकी सीईओ नाडिन राज्नरले भनिन्, ‘ग्राहकहरू चीन बाहेक जहाँसुकैबाट दुर्लभ धातु ल्याउन चाहन्छन् ।’ राज्नरका अनुसार स्विडेनजस्ता देशमा यस्ता धातु प्रशस्त भए पनि त्यहाँ खानी र रिफाइनिङ क्षमता नभएकाले प्रयोगयोग्य बनाउन सकिँदैन । र भारी दुर्लभ धातुको सन्दर्भमा चीनले विश्व रिफाइनिङ क्षमताको ९९.८ प्रतिशत नियन्त्रण गरेको छ, जसले वैकल्पिक स्रोतहरू लगभग नगण्य बनाएको छ । ‘हामीले अहिले प्रायः सबै बिक्री गरिसकेका छौं र सीमित मात्रामा स्टक बाँकी छ,’ उनले भनिन् । दुर्लभ धातुहरू पुराना गाडीहरूबाट पुनःप्रयोग गर्न सकिन्छ, तर त्यो उद्योग अझ प्रारम्भिक चरणमै छ । रिनल्ट समर्थित कम्पनी न्युट्रलले अहिले फ्रान्समा हरेक वर्ष ४ लाख गाडीबाट यस्ता धातु पुनःप्रयोग गर्छ र युरोपका १५ ब्रान्डसँग सम्झौता गरेको छ। तर ‘यी गतिविधिहरूलाई ठूलो स्तरमा विस्तार गर्नु चुनौतीपूर्ण छ,’ न्युट्रलका सीईओ जाँ–फिलिप बाहुआदले भने । पहिले नै सकिएको स्टक यदि चिनियाँ आपूर्तिकर्ताहरूले नोभेम्बर ८ अघि नयाँ अर्डर पूरा गर्न सके पनि चीनबाट युरोप पुग्न जहाजमार्फत ४५ दिन लाग्छ । त्यसैले दुर्लभ धातुको अभाव गाडी उद्योगका लागि ठूला समस्यामध्ये एक बनेको छ । चीनले लिथियम–आयन ब्याट्री र ब्याट्रीका सामग्रीमा पनि निर्यात प्रतिबन्ध लगाएको छ जसले विद्युत सवारीका पुर्जाको आपूर्तिमा थप चिन्ता बढाएको छ । गत हप्ता चीन र नेदरल्याण्डबीचको बौद्धिक सम्पत्ति (आईपी) विवादले पनि नयाँ डर सिर्जना गर्‍यो । यसले नेक्पेरिया नामक सानो डच चिप निर्माता कम्पनीलाई प्रभावित पार्‍यो जसले गाडीका पुर्जामा प्रयोग हुने धेरै चिप आपूर्ति गर्छ । गाडी निर्माता कम्पनीहरू अमेरिकी शुल्कको चुनौतीसँग पनि जुझिरहेका छन् र तेस्रो त्रैमासिक नतिजामा यसले थपिएको लागत खुलाउने अपेक्षा गरिएको छ । तर दुर्लभ धातुमा चीनको नियन्त्रण भने गाडी उद्योगका लागि सबैभन्दा कठिन समस्यामध्ये एक बनेको छ । ‘चीनले चाहे दुई महिनामै सम्पूर्ण गाडी उद्योग बन्द गरिदिन सक्छ,’ टोयोटा मोटरका उत्तरी अमेरिकी खरिद तथा आपूर्तिकर्ता विकास उपाध्यक्ष रायन ग्रिमले भने। बोस्चका फ्रान्स, बेनेलक्स, पश्चिम र दक्षिण युरोपका अध्यक्ष ब्रुनो गाहेरीले भने, ‘गाडी उद्योगले म्यादअघि दुर्लभ धातुहरू बढी मात्रामा स्टक गर्न खोज्नेछ ।’ तर हुन्डाईका लागि चुम्बक आपूर्तिकर्ता एक कार्यकारीले भने, ‘हामीले यस वर्ष सुरुमा स्टक बनाए पनि अधिकांश पहिले नै सकिएका छन् र अहिले आपूर्ति निकै कडा छ ।’ तीन उद्योग स्रोतहरूले रोयटर्सलाई भने अनुसार अक्टोबर ९ मा नयाँ निर्यात नियन्त्रण घोषणा भएपछि चिनियाँ दुर्लभ धातु निर्यातकर्ताहरूले विदेशी ग्राहकहरूबाट अर्डरको ठूलो बाढी पाएका थिए । दुर्लभ धातु–रहित मोटरहरू गाडी निर्माता कम्पनीहरू निर्भरता घटाउने प्रयासमा छन् । जनरल मोटर्स, जेएफ र बोर्गवार्नरजस्ता ठूला कम्पनीहरूले कम वा शून्य दुर्लभ धातु प्रयोग हुने ईभी मोटर विकास गरिरहेका छन् । बीएमडब्ल्यू र रिनल्टले त पहिले नै दुर्लभ धातु–रहित मोटर उत्पादन गरिसकेका छन् । ब्रिटिश कम्पनी मोनुमोले कृत्रिम बौद्धिकता (एआई) र डीप–टेक सिमुलेशनको प्रयोग गरेर ग्राहक कम्पनीहरूको मोटरमा दुर्लभ धातु प्रयोग २४ प्रतिशतसम्म घटाएको छ, जसका ग्राहकहरूमा विश्वका शीर्ष १० गाडी निर्माता कम्पनीहरू पनि छन् । अटो कम्पनीहरू अब नयाँ पुस्ताका ईभीका लागि दुर्लभ धातु–रहित मोटरहरू अझ सुधार गर्ने प्रयासमा छन् । तर ती मोटरहरू बजारमा आउन अझै वर्षौं लाग्नेछ र चीन बाहेक अन्य देशमा नयाँ खानी र रिफाइनिङ प्लान्ट विकास गर्न पनि लामो समय लाग्नेछ । चीनले कम मूल्यमा प्रतिस्पर्धा गरेर ती प्रयासहरू असफल पार्न सक्छ । विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारले यस विषयलाई युरोपभन्दा धेरै गम्भीर रूपमा लिएको छ । एससी इनसाइज्ट्सका सह–संस्थापक एन्डी लेल्यान्डका अनुसार ‘बेइजिङ सधैं मूल्यमा अरूलाई हराउने रणनीतिमा केन्द्रित छ र त्यही जारी राख्नेछ ।’ उनी भन्छन्, ‘चिनियाँ कम्पनीहरूले सधैं प्रतिस्पर्धीहरूलाई अन्डरकट गर्न सक्छन् । त्यसैले दुर्लभ धातु–रहित मोटर विकास गर्ने प्रयास महँगो र जोखिमपूर्ण लगानी हो ।’ यसबीच चीनले दुर्लभ धातुको आपूर्तिमा आफ्नो शक्ति कायम राख्ने अपेक्षा गरिएको छ ।

विगतको जस्तो बनेन अटो व्यवसायीको दसैँ

काठमाडौं । यतिखेर नेपालीहरू दसैँ मनाउन व्यस्त छन् । तर, अटो व्यवसायीहरूमा दसैँको खासै रौनक छैन । अटो क्षेत्रका लागि दसैँ विशेष मान्निछ । तर, यसपटक यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिँदैनन् ।  नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करन चौधरी दसैँ र अन्य चाडपर्वहरू अटोमोबाइल क्षेत्रको मेरुदण्ड भए पनि यो वर्ष खासै उल्लास नभएको बताउँछन् । उनका अनुसार वार्षिक बिक्रीको ५५ प्रतिशतभन्दा बढी हिस्सा दसैँ तिहारमै हुन्छ ।  परम्परागत रूपमा यो नयाँ सवारीसाधन खरिदको लागि शुभ समय मानिने भएकोले पनि ग्राहकले दसैँ तिहारमा बढी सवारी साधन खरिद गर्ने गरेको उनको भनाइ छ । तर, यस वर्षको जेनजी आन्दोलनले उपभोक्ताको उत्साहमा कमी ल्याएको अध्यक्ष चौधरी बताउँछन् ।  ‘परम्परागत रूपमा दसैँ नयाँ खरिदको चरम समय हो । किनभने यसलाई शुभ मानिन्छ । तर यस वर्ष आर्थिक चुनौती र जेनजी आन्दोलनले उत्साहमा कमी ल्याएको छ,’ उनले भने । यद्यपि अध्यक्ष चौधरीले दसैँलाई अझै पनि उपभोक्ताको विश्वास पुनःस्थापित गर्ने र अटो व्यवसायलाई पुनर्जीवित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन् । ‘दसैँ अझै पनि उपभोक्ता विश्वास पुनःस्थापित गर्ने र व्यवसाय पुनर्जीवित गर्ने महत्वपूर्ण अवसर हो,’ उनले थपे ।  व्यावसायिक चुनौतीहरूका बाबजुद व्यक्तिगत रूपमा भने व्यवसायीहरुले यस दसैँलाई आत्मीयता र आत्मचिन्तनको अवसरका रूपमा हेरेका छन् । अध्यक्ष चौधरी स्वयंले पनि दसैँ काठमाडौंमै परिवारसँगै रमाइलो गर्दै मनाउने बताए ।  ‘दसैँ मेरो लागि आत्मीयता, आशीर्वाद र खुशी बाँड्ने अवसर हो,’ उनले भने । तर, यो वर्ष विगतजस्तो सहज नभएको उनले स्वीकारे ।  व्यवसायीहरू यस वर्षको दसैँलाई केवल हर्षोल्लासको पर्वका रूपमा मात्र नभई चुनौतीहरूका बीचमा पनि आशा, एकता र आत्म चिन्तनका साथ अगाडि बढ्ने अवसरको रूपमा लिएका छन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता अनुसार यस वर्षको दसैँमा बजारमा माग २० प्रतिशतले कमी आएको छ ।  उनले भने, ‘जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको अनिश्चितताका कारण मानिसको आत्मविश्वास घटेको छ । यसले गर्दा जुन तालले व्यापार अगाडि बढ्नुपर्ने थियो, त्यो स्लो भएको छ ।’  यसवर्षको दसैँले देशलाई नै पीडा दिएको उनी बताउँछन् ।  अर्का अटो व्यवसायी तथा नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जेनजी आन्दोलनका कारण सबैको व्यावसायिक योजनामा असर परेको बताए । ‘दसैँको समयमा धेरै मान्छेहरू घुम्न तथा पैदल यात्रामा जान्थे । यस वर्ष सबै बाटो अवरुद्ध छ । केही गर्न मिलेको छैन । जसले पर्यटन क्षेत्रमा पनि असर परेको छ,’ उनले भने ।  यद्यपि व्यवसायमा अघिल्लो वर्षभन्दा यस माग केही बढ्ने हुने अपेक्षा उनको छ । उनले यस वर्षको दसैँ काठमाडौं घरमै मनाउने बताए । थपलियाका अनुसार हुन्डाईले यस वर्ष आफ्नो १० वर्षको अवसर पारेर १० वटा विशेष अफर ल्याएको छ । जसमा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका समेत रहेको उनको भनाइ छ ।  एक ग्राहकले सानो गाडी किन्दा १० लाख रुपैयाँ जितिसकेको समेत उदाहरण दिँदै थपलियाले यी अफरहरू छठसम्म जारी रहने जानकारी दिए ।  यसैगरी, अर्का व्यवसायी आकाश गोल्छाले भने यस वर्ष बिक्रीमा वृद्धि नहुने बरु घट्ने बताए । ‘बिक्रीमा वृद्धि हुँदैन, घट्छ नि । देश नै संकटमा छ । गाडीको बढ्दैन,’ उनले भने ।  आकाश गोल्छाले दसैँलाई धार्मिक दृष्टिकोणबाट भन्दा पनि सामाजिक सद्भाव र परिवारिक मिलनको रूपमा हेरेको बताएका छन् । ‘हाम्रोमा दसैँ हुँदैन । तर यो चाड हो । यो समयमा मुड फ्रेस गर्नुपर्छ । घरमै रमाइलो गरेर बस्नुपर्छ,’ उनले भने ।  यद्यपि सबै कम्पनीहरूले यसवर्ष विशेष अफर ल्याएका छैनन् । आईएमई ग्रुपका प्रबन्ध निर्देशक निसान ढकालले आफूले यसवर्ष कुनै पनि अफर नल्याएको बताए ।  उनका अनुसार अहिले ग्राहकहरुको रुचिमा पनि केही परिवर्तन देखिएको छ । पहिले विद्युतीय सवारीसाधन (ईभी) को माग बढी भए पनि अहिले सडकको अवस्था, स्पेयर पाट्र्सको उपलब्धता र मोबिलिटीको सहजताका कारण आईसीई (डिजेल÷पेट्रोलबाट चल्ने) गाडीप्रति आकर्षण बढेको देखिन्छ ।  हुन्डाईका थपलिया पनि आईसीईको माग कम भएको बताउँछन् । उनीहरूका अनुसार दसैँ अगाडि सर्भिसिङको माग २०/३० प्रतिशतसम्म बढ्ने गर्छ ।  हुन्डाईले बिक्री पछि युनिटलाई आफ्नो बलियो पक्ष मान्दै १७/१८ वटा नेटवर्क, हाइवेमा रिल्याक्स र रिपेयर सर्भिस सेन्टरहरु (जस्तै बुटवल, कुरिनटार) समेत सञ्चालन गरेको छ  ।  त्यस्तै, अन्य कम्पनीहरूले पनि सर्भिसिङका लागि आवश्यक तयारी गरेका छन्, आवश्यकता परे ओभरटाइम समेत बसेर ग्राहकलाई सेवा दिने उनीहरूको प्रतिबद्धता छ । थपलियाले हाल जेजस्तो अवस्था भए पनि दसैँ भने आफन्तीसँग भेटघाट गरी परिवारसँग बसेर मनाउने बताउँछन् । यसैगरी टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार यसपटकको दसैँ अटोमोबाइल क्षेत्रका लागि परम्परागत उत्साहभन्दा बढी चिन्ता र अनिश्चितताले भरिएको देखिन्छ ।  ‘बजारमा माग कम हुनु, आन्दोलनले सिर्जना गरेको कन्फिडेन्सको कमी र समग्र आर्थिक मन्दीका कारण व्यवसायिक लक्ष्यमा धक्का पुगेको छ । तर, व्यवसायीहरू दसैँपछि अवस्था सामान्य बन्ने र वर्षको अन्त्यसम्ममा केही सकारात्मक परिणाम आउनेमा आशावादी छन्,’ उनले भने ।   जेनजी आन्दोलनकर्ताले थापाथलीमा रहेका अधिकांश गाडीका सोरुमहरु तोडफोड तथा आगजनी गर्दा पनि उनीहरु समस्यामा परेका हुन् । 

उद्योगी व्यवसायीलाई राष्ट्र बैंकको सुविधैसुविधा, अटो लोनमा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि विभिन्न सुविधाहरू दिने घोषणा गरेका छ । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूका लागि परिपत्र जारी गर्दै सुविधा दिन निर्देशन दिएको हो ।  नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी देहायका शर्तहरूको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ ।  यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्ने, उपर्युक्त बमोजिम पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।  यस्तै, जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग फवार्ड तथा ब्याकवार्ड लिंकेज भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गर्ने व्यवस्था गरेको छ ।  रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  उपर्युक्त बमोजिम पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने नीति बनाइएको छ ।  यस्तै, व्यवसाय पुनःस्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने समयसम्मका लागि इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा ०.५ (शून्य दशमलव पाँच) प्रतिशत विन्दु प्रिमियममात्र थप गरी कर्जाको ब्याजदर कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।  यसरी प्रवाह भएको कर्जाको स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भएमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई १ वर्ष छुट दिइएको छ । जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ । आन्दोलनबाट प्रभावित रोजगारदाता संस्था/प्रतिष्ठानले पेरोल प्रोटेक्सन स्किम ल्याई बैंकिङ प्रणालीमार्फत् पारिश्रमिक उपलब्ध गराउन कर्जा माग गरेमा इजाजतपत्रप्राप्त संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० (शून्य दशमलव पाँच) प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्ने व्यवस्था गरेको छ । यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनासम्मका लागि २ (दुई) प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ । यस्तो सुविधा नेपाल सरकारबाट प्राप्त भएपश्चात् ऋणीलाई उपलब्ध गराउनु पर्नेछ। यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिनु पर्नेछ ।  यस्तै, कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गरी न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा १ प्रतिशत विन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था गरिएको छ । 

रेसिङ अटोमोबाइल्सको नयाँ ‘नो एक्सिडेन्टल रेकर्ड’ प्रमाणपत्र वितरण सुरू

काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ पहल सुरु गरेको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रेसिङ अटोमोबाइल्सले नयाँ पहल सार्वजनिक गरेको हो । रेसिङ अटोमोबाइल्सले अबदेखि बिक्री गर्ने हरेक गाडीको 'नो एक्सिडेन्टल रेकर्ड सर्टिफिकेट' वितरण गर्ने घोषणा गरेको हो । यस प्रमाणपत्रमार्फत ग्राहकले खरिद गर्ने गाडी कुनै पनि दुर्घटनामा नपरेको थाहा पाउनेछन् । यदि भविष्यमा गाडी दुर्घटनामा परेको पुष्टि भयो भने कम्पनीले ग्राहकलाई गाडीको खरिद मूल्य फिर्ता गर्ने ग्यारेन्टी पनि दिने जनाएको छ । कम्पनीका अनुसार यो कदम पुराना सवारीसाधनमा सामान्यतया रहने 'गम्भीर दुर्घटना र गुणस्तर नहुने' धारणा हटाउन र पारदर्शिता सुनिश्चित गर्न लिइएको हो । यस अवसरमा कम्पनीले आफ्नो नयाँ प्रमोसनल जिङ्गल पनि सार्वजनिक गरेको छ । जुन रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ । सरकारले शोकको दिन घोषणा गरेको भए पनि विश्वकर्मा पूजाको परम्पराअनुसार कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । 

वर्षौंको मिहिनेतले बनेको ‘अटो हब’ क्षणभरमै ध्वस्त, पुनः निर्माणमा जुटे व्यवसायी

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा प्रायः राजधानीका बजारहरूमा रौनक छाउने गर्छ । दशै/तिहारको माहोलले मानिसमा उत्साह भर्दै किनमेलको भीडले सडक र पसलहरू गुलजार हुन्थे । तर, यसपटक भने काठमाडौं सहर विगतका वर्षहरूमा जस्तो रौनक देखिँदैन ।  विशेषगरी, अटो क्षेत्रको हब भनेर चिनिने थापाथलीका शोरुमहरूमा नयाँ गाडी हेर्ने खरिद गर्ने र सम्झौता गर्ने ग्राहकको भीड लाग्ने गर्थ्यो । दैनिक सयौं मानिसको आवतजावत हुन्थ्यो । आज त्यही थापाथली शोक र खरानीमा परिणत भएको छ ।  भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा केही अराजक समूहले थापाथलीको अटो शोरुम विध्वंस नै गरिदियो । ग्राहकको चहलपहलले भरिने थापाथलीमा अहिले धुवाँको गन्ध, फुटेका सिसा र पोलिएका फलामका ढाँचा मात्रै देख्न सकिन्छ ।  अटो व्यवसायीहरूले कडा मिहिनेत र संघर्ष गरेर जोडेका ती गाडीका शोरुमहरू जलेर ध्वस्त भएपछि उनीहरूको सपना छिनभरमै चकनाचुर भएको छ । अर्बौंको क्षति बेहोर्नुपरेको छ ।  आगजनीपछि सीजी मोटर्सको शोरुम ।  सीजी मोटर्सका एक कर्मचारी भन्छन्, ‘हाम्रो शोरुममा २० वटा जति गाडी जलेर गाडी नष्ट भएका छन् । ८/१० वटा बाइकहरू पनि छन् । शोरुम त पुरै ध्वस्त भएको छ, नोक्सान विवरण भने अझै आएको छैन ।’ यस्तो अवस्थामा व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेबारे उनीहरूले तत्कालका लागि अस्थायी समाधान खोजेका छन् । ती कर्मचारीका अनुसार अहिले सीजी मोर्टसको थापाथलीमा रहेको शोरुमलाई पानीपोखरीस्थित रिडाराको शोरुमतिर सारिएको छ । थापाथलीको शोरुमको अहिले पुनःनिर्माण भइरहेको छ ।  सुजुकीको पनि यस्तै कथा छ । सुजुकीका ११ वटा गाडीहरू जलेर नष्ट भएका छन् भने शोरुम पनि खरानीमा परिणत भएको छ । यसैगरी, महिन्द्रा ब्राण्डका गाडी पनि जलेका छन् । कम्पनीका अनुसार शोरुममा रहेका गाडीमध्ये तीन वटा सकुसल छन् भने एक गाडी पूर्णरूपमा नष्ट भएको छ ।  टाटा मोटर्सको शोरुममा पनि ठूलो क्षति पुगेको छ । करोडौं रुपैयाँ बराबरका गाडी र सम्पत्ति नोक्सान भएको टाटा मोटर्सकी मार्केटिङ हेड अभिरुचि गिरी बताउँछिन् । उनका अनुसार शोरुम र गाडीहरू तोडफोडसँगै जलेर नष्ट भएका छन् ।  ‘नोक्सानको विवरण आउन बाँकी छ । तर, नोक्सान करोडौंको भएको छ,’ उनले भनिन् ।  उनका अनुसार करिब ९ वटा गाडीमा क्षति पुगेको छ । जसमा धेरैजसो विद्युतीय सवारीसाधन ईभी रहेका छन् । शोरुमभित्र रहेका ५ वटा ईभीहरू जलेका छन् ।  यति ठूलो क्षति भोगे पनि टाटा मोटर्सले तत्कालै पुनर्निर्माण र सेवा सञ्चालनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।  ‘हामी पुनः निर्माणमा लागिसकेका छौं । दिनरातै काम गरिरहेका छौं,’ उनले भनिन् ।  आगजनीपछि टाटा मोटर्सको शोरुम ।  क्षतिग्रस्त शोरुमकै छेउमा अस्थायी शोरुम बनाएर पुनः सुरु गरिएको उनको भनाइ छ । यस्ता खालका घटनाले मनोबल घटाउन नहुनेमा कम्पनी दृढ रहेको उनी बताउँछिन् ।  हालसम्म टाटा मोटर्सका नेपालभर २१ वटा शोरुम तथा १ सय ८५ भन्दा बढी चार्जिङ स्टेसन (एसी फास्ट र डीसी फास्ट) रहेका छन् । साथै १६ वटा डेडिकेटेड इभी सर्भिस सेन्टर र ब्याट्री डायग्नोसिस एण्ड रिपेयर फेसिलिटी बाग्लुङमा रहेको छ । जसले गर्दा नेपालकै सबैभन्दा ठूलो ईभी सञ्जाल रहेको कम्पनीको दाबी छ । यसैगरी, अटो व्यवसायी तथा नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले आफ्नो शोरुममा भएको आगजनीबाट ५ वटा गाडी नष्ट भएको जानकारी दिए । ‘शोरुममा पूर्ण आगजनी नभए पनि ५ वटा गाडीहरू जलेका छन् । शोरुमको सिसा फुटेको छ, कम्प्युटर र अन्य सामग्री तोडफोड भएको छ,’ उनले भने । थपलियाले यसलाई जेनजी नभएर नेपालीहरूको असन्तुष्टिको समग्र परिणामको रूपमा हेरेको बताए । ‘आन्दोलन त अरु सबैको हुन्छ । तर यो सबैको असन्तुष्टि रहेको नतिजा हो,’ उनले भने । व्यावसायिक नोक्सानको पीडाका बाबजुद पनि उनले यसलाई ठूलो मानवीय क्षतिसँग तुलना गरेनन् ।  ‘हामीलाई क्षति पुगेको छ तर त्योभन्दा ठूलो क्षति भनेको मानवीय क्षति भएको छ,’ थपलियाले भने, ‘तर यस्तो नगरिनुपर्ने थियो ।’  अहिले दश नै शोकमा डुबेको बताउँदै यस घटनाले पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी लगायत धेरै क्षेत्रमा नकारात्मक असर पारेको उनको बुझाइ छ । उनले भने, ‘जे भयो त्यो दुःखद हो, तर त्यसमै अड्किरहन मिल्दैन । अब हामीले मनोवैज्ञानिक र व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ । अहिलेको प्राथमिकता भनेको कर्मचारीहरूलाई सुरक्षित महसुस गराउनु र सामान्य काममा फर्कन सहयोग गर्नु हो । व्यापारको हिसाबले मूल्यांकन अझै गरिएको छैन । तर जे भयो त्यो स्वीकार छ । मुख्य कुरा देश राम्रो हुनुपर्छ, प्रगति गर्नुपर्छ भन्ने चाहना हो ।’ थपलियाले यस्ता घटनाले लगानीकर्ताहरूको मनोबल घटाउने र स्वदेशमा केही गरौं भन्ने भावनालाई धक्का पुर्‍याउने चिन्ता व्यक्त गरे ।  उनले कसैले पनि लगानी गर्न छाडे भने, देशमा प्रगति हुने वातावरण नै नबन्ने र त्यसको फाइदा विदेशीहरू उठाउने बताए । यदि नेपालीहरूले लगानी गर्न छोडेमा विदेशीहरूले आएर व्यापार गर्ने र देश आफ्नो नियन्त्रणमा नरहने खतरा उनले औंल्याए । अटो हबका रुपमा परिचित थापाथलीमा रहेका आधा दर्जन बढी शोरुममा आगजनी भएको थियो । सुजुकी, महिन्द्रा, हुण्डाई, सिप्रदी र सीजी लगायत शोरुमहरूमा आगजनी भएको थियो । थापाथलीमै रहेका जिकर, किया, हुण्डाईको ईभी, प्रोटोन, एमजी, निशान र जीएमडब्लू लगायतका शोरुमहरू सुरक्षित छन् ।  जेनजी आन्दोलनले दशैंको मुखमा व्यवसायीहरूलाई गहिरो पीडा दिएको छ । तर, यसका बाबजुद पनि व्यवसायीहरूले मनोबल नघटाई, देशको प्रगतिका लागि सकारात्मक सोचका साथ अगाडि बढ्ने संकल्प लिएका छन् ।

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न नाडाको आह्वान

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले हालै देशभर भएका आन्दोलन र प्रदर्शनहरूले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउन बाध्य भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।  साथै घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले देशमा शान्ति र स्थायित्वको वातावरण कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघले अटोमोबाइल उद्योगलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला ठहराउँदै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढाएको जनाएको छ ।  ‘देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पारेको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। नाडाले हरेक जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सकिने विश्वास व्यक्त गर्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न आह्वान गरेको छ । संस्थाले सदस्य कम्पनीहरूको हित र उपभोक्ताको विश्वास सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबै सरोकारवालालाई सकारात्मक संवाद र जिम्मेवार नेतृत्वको आग्रह गरेको छ । नाडाले नयाँ सरकारले आउँदो ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।

एलएस अटोको फेस्टिभ अफर सार्वजनिक : एलईभी ०१ गाडी खरिद गर्दा ८ लाखसम्म फाइदा

काठमाडौं । एलएस अटोको आधिकारिक नेपाली आयातकर्ता ब्लू कर्पोरेशनले चाडपर्वहरूलाई लक्षित गर्दै 'फेस्टिभ अफर ' ल्याएको छ । अफरमा ग्राहकहरूले न्यूनतम डाउन पेमेन्ट, आकर्षक उपहारहरू र नगदमा भारी छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार यस फेस्टिभ अफरमार्फत गाडी खरिद गर्दा ग्राहकले कुल ८ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।  ‘एलईभी-०१’ गाडी अफरअन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सकिने फुयाँलले बताए । अफरअन्तर्गत गाडी किन्ने ग्राहकका जोडीले निःशुल्क ५ रात ६ दिनको सिंगापुर र मलेसिया भ्रमणको अवसर पाउने कम्पनीले जनाएकाे छ । यसैगरी, फेस्टिभ अफरमा १ लाख रुपैयाँको नगद छुट, १ लाख रुपैयाँको एक्सचेन्ज बोनस र निःशुल्क बीमा सुविधा पनि प्रदान गरिएको छ । कम्पनीका अनुसार यो अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन पनि निःशुल्क दिइनेछ ।  यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ । 

डेल्टा अटोकर्पको फेस्टिभ अफरमा १० लाख नगद र थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पले दशैं, तिहार तथा छठ पर्वको अवसरमा 'डबल या तेब्बर बबाल' फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आकर्षक नगद पाउनेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी जितिएको रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यससँगै, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु। १० लाख नगद प्राप्त गर्ने विशेष मौका पाउनेछन् । त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन पाउने र स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजारसम्म लाभ लिन सकिनेछ । ४.९९ प्रतिशत ब्याजदरमा इएमआइ सुविधा र शून्य सेवा शुल्कसहितका फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् । अफर नेपालभरका सबै भेस्पा–एप्रिलिया शोरूममा लागू हुने कम्पनीले जनाएको छ । योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, 'ग्राहकहरूलाई हरेक वर्ष नयाँ अनुभव र लाभ दिलाउने हाम्रो प्रयास हो । ‘डबल या ट्रिपल बबाल’ अफरले यसपटकको पर्वलाई थप रोचक र यादगार बनाउनेमा हामी विश्वास गर्छौं ।'

अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

काठमाडौं । अरबपति एलन मस्कको विद्युतीय सवारीसाधन कम्पनी टेस्लाले सन् २०१९ मा भएको अटो–पायलट प्रणालीसहितको मोडल एसको घातक दुर्घटनासम्बन्धी मुद्दामा ६० मिलियन डलरको सम्झौता प्रस्ताव अस्वीकार गरेको थियो । तर यसै महिनामा जुरी (निर्णायकको समूह) ले उक्त मुद्दामा २४३ मिलियन डलर क्षतिपूर्ति गराउने निर्णय सुनायो । मुद्दाका वादी पक्षका वकिलहरूले सोमबार मियामी, फ्लोरिडाको संघीय अदालतमा दायर गरेको निवेदनमा उक्त सम्झौता प्रस्ताव खुलासा गरेका हुन् । उनीहरूले टेस्लाबाट कानुनी शुल्क असुल्ने माग पनि गरे । उनीहरूले फ्लोरिडा कानुनअनुसार गत मे ३० देखि वादीले गरेको कानुनी खर्च उठाउने अधिकार रहेको पनि बताए । टेस्ला वा त्यसलाई प्रतिनिधित्व गर्ने वकिलले तत्काल कुनै प्रतिक्रिया जनाएनन् । वादी पक्षका वकिलहरूले पनि तत्काल टिप्पणी गरेनन् । यो मुद्दा सन् २०१९ अप्रिलमा भएको दुर्घटनामा केन्द्रित थियो । उक्त दुर्घटनामा अटो–पायलट ड्राइभर–सहायक सफ्टवेयरसहितको मोडल एसले सडकको छेउमा पार्क गरिएको शेभरोलेट टाहो कारलाई ठक्कर दिएको थियो । त्यसबेला कारको छेउमा उभिएका व्यक्तिहरू दुर्घटनामा परेका थिए । जुरीले मृत्यु भएकी नाएबेल बेनाभिडेस लिओनको परिवारलाई र गम्भीर घाइते भएका उनका प्रेमी डिलन एङ्गुलोलाई संयुक्त रूपमा १२९ मिलियन डलर क्षतिपूर्ति (कम्पेन्सेटरी ड्यामेज) र २०० मिलियन दण्डात्मक क्षतिपूर्ति दिने आदेश दियो । सो क्षतिपूर्तिमध्ये ३३ प्रतिशत (अर्थात् ४२.६ मिलियन) टेस्लाले व्यहोर्नुपर्नेछ भने सम्पूर्ण २०० मिलियन दण्डात्मक क्षतिपूर्ति पनि टेस्लाले नै तिर्नुपर्नेछ । जुरीले कार चालकलाई ६७ प्रतिशत क्षतिपूर्ति जिम्मेवार ठहर गरे पनि उनी प्रतिवादी थिएनन् । टेस्लाले भने कुनै गल्ती नगरेको दाबी गर्दै निर्णयले ‘सडक सुरक्षा पछाडि धकेल्ने र टेस्ला तथा सम्पूर्ण उद्योगले जीवनरक्षक प्रविधि विकास र कार्यान्वयन गर्न गरेको प्रयासलाई खतरामा पार्ने’ बताएको छ । टेस्लाले यसविरुद्ध अपिल गर्ने जनाएको छ। वादी पक्षका वकिलहरूका अनुसार यो मुद्दा अटो–पायलटका कारण तेस्रो पक्षको मृत्यु भएको पहिलो मुद्दा हो जसमा अदालतले निर्णय सुनायो । टेस्लामाथि यसअघि पनि स्व–चालित क्षमतासम्बन्धी मुद्दा दायर भएका थिए तर ती मुद्दा मिलापत्र वा खारेज भएर सुनुवाइसम्म पुगेका थिएनन् ।

व्यवसायी नाइमा र नाडा अटो शोमा बुक भएका गाडी ल्याउन केन्द्रित, दशैंका लागि छैन विशेष योजना

काठमाडौं । दशैं–तिहारको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकाहरू रसुवागढी र तातोपानी बाढी–पहिरोका कारण बन्द हुँदा सवारीसाधन लगायतका सामग्रीको आयात प्रभावित भएको छ ।  चाडपर्वको समयमा सवारीसाधनको माग उच्च हुने भए पनि नाका अवरुद्ध हुँदा व्यवसायीहरूले नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा बुक भएका गाडीहरू समयमै डेलिभरी गर्न नसक्ने चिन्ता बढेको छ ।  रसुवागढी नाका जोड्ने पुल बाढीले बगाएपछि र स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पहिरोले क्षतविक्षत भएपछि उक्त नाका पूर्ण रूपमा बन्द छ ।  बाढीले नेपाल र चीनसँग जोड्ने पुल बगाएको छ । त्यसपछि के गर्ने भन्नेबारे नेपाल सरकार र चीन सरकारबीचको उच्चस्तरीय छलफलपछि मात्र टुङ्गो लाग्छ । क्षति धेरै भएकाले तत्काल निर्णय हुन सकेको छैन । यसैगरी, तातोपानी नाका पनि चीनतर्फ ‘लिपखुफिर’ भन्ने ठाउँमा पहिरो गएकाले नाका २० बन्द रहेको थियो ।  रसुवागढी नाका बन्द भएपछि तातोपानी नाकामा चाप बढेको छ । तर, तातोपानी भन्सार कार्यालयसँग सीमित स्रोतसाधन र पूर्वाधार रहेको भन्सार अधिकारीहरू बताउँछन् ।  तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले कार्यालयसँग करिब ८० देखि १०० वटा गाडी भण्डारण गर्न सक्ने क्षमता मात्र रहेको जानकारी दिए । रसुवागढीबाट आउने गाडीहरू पनि यतै डाइभर्ट भएर आउँदा भण्डारण र जाँचपासमा थप चुनौती सिर्जना हुने देखिएको छ । नाकामा सामानको फ्लो बढेपछि पहिलो समस्या भण्डारणकै रहेको उनको भनाइ छ । यसैगरी, नाकामा जनशक्तिको पनि अभाव रहेको छ ।  भन्सार विभागसँग थप जनशक्ति माग गरिएको र सामानको चाप बढेमा बिहान ८ बजेदेखि साँझसम्म काम गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । भन्सार अधिकृत चुडालले भने, ‘तातोपानी नाकाको चीनतर्फ पनि पहिरो परेको थियो । नाका २० दिन ठप्प रह्यो । सामानहरु बाटोमै रोकिएको थियो । आज नाका खुलेको ४ दिन भएको छ । अझै पानी पर्यो भने पहिरो जान सक्छ।’ अटो व्यवसायी चिन्तित, डेलिभरीमा ढिलाइ हुने दशैं–तिहारलाई लक्षित गरी ‘नाडा अटो शो’ र ‘नाइमा एक्स्पो’ मा हजारौं गाडी बुक भएका छन् । तर चीनबाट आयात हुने गाडीहरू नाका बन्द हुँदा भन्सारमै रोकिएका छन्, जसले गर्दा डेलिभरीमा ढिलाइ हुँदा व्यवसायीहरू चिन्तित बनेका छन्।  अटो व्यवसायी तथा नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले भने, ‘नयाँ लन्च भएका गाडीहरू नाडा अटो शोमा ल्याउने क्रममा पनि केही रोकिए । बाटो बन्द भएका कारण आउन सकेनन् । डेलिभरीमा ढिलाइ हुने सम्भावनाले व्यवसायी चिन्तित छन्।’  दशैंअगाडि नाका खुलेमा मात्रै नयाँ गाडीहरू ग्राहकसम्म पुग्नेछन् ।  नाडा र नाइमाले आयोजना गरेको अटो शोमा गाडी किन्नेलाई दिएको अफर दशैं–तिहारमा पनि निरन्तर रहने व्यवसायीहरूले बताएका छन् ।  जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नाइमा एक्स्पोमा रहेका अफर दशैंतिहारमा पनि दिइने बताए । उनले भने,‘ दशैंतिहार भनेर अफर छुट्याएका छैनौं । जे–जे अफर एक्स्पोमा दिएका थियौं त्यही हुन्छन्, नयाँ थप केही छैन ।’ व्यवसायीहरूले हाल बजेटअघि आयात गरिएका पुराना स्टकका गाडीहरू बिक्री गरिरहेका छन् । तर ग्राहकको रोजाइमा परेका नयाँ मोडल र निश्चित रङका गाडीहरू स्टकमा नहुँदा आयात नै गर्नुपर्ने बाध्यता छ ।  अर्का व्यवसायी तथा नाडाका सदस्य आकाश गोल्छाले भने, ‘हामी स्टक पनि बेचिरहेका छौं र नयाँ गाडी पनि मगाइरहेका छौं । तर बाटोको अवस्था अनिश्चित छ । बाटो कहिले खुल्छ, कहिले फेरि भत्किन्छ, थाहा छैन ।’ यद्यपि भारतबाट गाडी आयात गर्ने र नेपालमै एसेम्बल गर्ने कम्पनीहरूलाई भने यो समस्याले खासै असर पारेको छैन । उनीहरूले आफ्नो योजनाअनुसार गाडीको उत्पादन र बिक्री–वितरण गरिरहेको बताउँछन् । हुन्डाई गाडीको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले भारतबाट गाडी आयात गरिरहेको जानकारी दिए ।  यस्तै, टाटा मोटर्स नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले भने दशैंतिहारका लागि नयाँ गाडी ल्याउनेबारे कुनै योजना नबनाएको बताए ।  चीनसँगका नाकाहरू समयमै नखुलेमा दशैंको बजारमा नयाँ गाडीको अभाव हुने र ग्राहकले बुक गरेको गाडी पाउन लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ । साउनमा कुन क्षमताका कति भित्रिए गाडी ? चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारीसाधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा विभिन्न नाकाहरुबाट ५२ करोड ४० लाख रुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् । कुल १ सय ९७ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन्  भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् ।  पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको हो । 

नाडा अटो शोमा स्काइवेलका १३१ वटा गाडी बुकिङ

काठमाडौं । भर्खरै सम्पन्न भएको नाडा अटो शोमा १३१ वटा स्काईवेलका गाडी बुकिङ भएको छ । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले यस्तो जानकारी दिएको हो । जी मोटर्सका अनुसार बीई ११ र ईटी ५ मोडल बुकिङ भएका हुन् ।  गाडी खरिद गर्नेहरूका लागि युरोप टुर, हिराको हार र लक्की ड्रमा रोलेक्स घडीजस्ता अफर राखिएको थियाे । जी मोटर्सका शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा रहेका छन भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ ।  आउने दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने जी मोटर्सले जनाएको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।