बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित
प्यूठान, १४ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पु¥याउनका लागि कठिनाइ भएको हो । जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पु¥याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पु¥याउन समस्या देखिएको हो । राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । “तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरले भन्नुभयो–“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।” लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् । पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए । “स्थानीयवासीमा पानी, बसोबास, खाद्यान्न तथा स्वास्थ्य समस्या देखिएको छ ।” तीन दिनदेखि उद्धार कार्यमा खटिनुभएका भण्डारीले भने – “तीन दिनको सुत्केरीसहित वृद्ध र नाबालक पनि यहाँ बेवारिसे अवस्थामा रहेका छन् । उनीहरुको उद्धार गरी उचित बसोबास र खाद्यान्नसहित स्वास्थ्य सेवा तत्काल लैजान आवश्यक छ ।” हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए। “राहतस्वरुप हामीले तत्कालका लागि रु आठ हजारसम्म राहत दिएका छौैँ ।” प्रजिअ पन्थले भने– “जिल्लामै हालसम्मकै ठूलो मानवीय क्षति भएको समय छ । यसमा प्रतिमृत परिवार रु ४० हजारसम्म आर्थिक राहत दिने तयारी गरेका छौँ । तर अन्य निकायको समन्वयमा खाद्यान्न र लत्ताकपडा पनि वितरण गर्ने तयारी गरेकाछौँ ।” बाढी पहिरोमा परी मृत्यु भएका सँगै विस्थापित र बाँचेकाको अहिले बिचल्ली भएको छ । जिल्लामा ३०० भन्दा धेरै परिवार विस्थापित लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् । त्यस्तै डामृमा ४२, अर्खामा २८ र लिवाङमा १७ परिवार विस्थापित भएका छन् । त्यस्तै उत्तरी प्यूठानको स्याउलिवाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । विस्थापित परिवारमा सदस्यहरु झन्डै एक हजार ५०० जनाभन्दा धेरै विस्थापित भएको हुन सक्ने अनुमान गरिएको छ । विस्थापित परिवार अधिकांश विद्यालय तथा खुला ठाउँ र आफन्तकामा बसेका छन् । जिल्लाभरमा स–साना पहिरो असङ्ख्य मात्रामा गएका छन् । अधिकांश ठाउँ उच्च जोखिममा जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप प्रतिकार्य योजनामा पनि उत्तरी क्षेत्रहरु आफैँ जोखिममा रहेको भन्दै प्रजिअ जनकराज पन्थले लगातारको वर्षासँगै सो क्षेत्रका ठाउँ र बसोबास गरेका स्थान उच्च जोखिममै रहेको बताए । छ बेपत्ता अझै फेला परेनन् लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । हालसम्म फोप्ली–३ मा ४१ वर्षीया चमेली पुन, चार वर्षीया थमी पुन, खवाङ–३ का ८० वर्षीय फुटरी सुनार खवाङ–७ का २५ वर्षीया काली परियारसहित लुङ–६ वहानेका ११ वर्षीय किरण थापा र ३० वर्षीया शोभा रिजाल बेपत्ता रहेका छन् । रासस
अर्थतन्त्रलाई प्रतिनिधित्व नगर्ने पुँजीबजार
लेखक केही समयदेखि निरन्तर उछाल आएको नेप्से परिसूचकले हाल दिनहुँजसो नयाँ रेकर्ड कायम गर्न थालेको छ । भूकम्प, नाकाबन्दी, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप एवं भूकम्पपछिको पुनर्निमाणको दयनीय अवस्था आदिका बाबजुत शेयर परिसूचकले आर्थिक बर्षको पहिलो साता १८०० अंकको कीर्तिमानी बनाइसकेको छ । यो अझै बढ्दो अवस्थामा छ । यसरी समग्र अर्थतन्त्रको गतिलाई चूनौती दिँदै शेयर बढ्नुलाई एकातर्फ सकारात्मक दृष्टिले हेर्न सकिन्छ भने नेपाली स्टक बजारले अर्थतन्त्रको गतिलाई प्रतिविम्वित गर्न नसक्नुले अर्कोतर्फ निराशाजनक अवस्थालाई देखाउँछ । यस्तो अवस्था किन भइरहेको छ ? त्यो महत्वपूर्ण विषय हो । विश्व बजारको प्रवृत्तिलाई नियाल्ने हो भने राजनीतिक उतारचढाव एवं प्राकृतिक तथा मानवीय प्रकोपले स्टक बजारलाई नकारात्मक प्रभाव पार्छ । केही समय अघिमात्र बेलायतको जनमतसंग्रहको परिणामपछि वेलायतका सबै स्टक परिसूचकका साथै विश्वभरका बजार परिसूचक निक्कै तल पुगेको थियो । त्यसबेला बेलायतमा केही सुन उत्पादक कम्पनीहरुबाहेक अन्य सबै कम्पनीहरुको स्टक मूल्यमा भारी गिरावट आएको थियो । बेलायत इयुबाट छुट्टिने पक्षमा नतिजा आएसँगै स्टकको मूल्यमा एकैदिन ४.८ प्रतिशतले कमी आयो भने विश्व स्टक बजारले कुल २ ट्रिलियन डलर गुमायो । टर्कीमा कू को प्रयाससँगै स्तानबुल स्टकको मूल्य ८ प्रतिशतले तल झरेको थियो । जापानमा सन् २०११ मा भुकम्पपछि आएको सुनामीको असरले स्टक परिसूचकमा ११ प्रतिशतले गिरावट आएको थियो । त्यसबेला जापानको सबैभन्दा बलियो स्टक कम्पनी वेञ्चमार्क निक्की स्टकको मूल्य एकैदिन १००० अंकले घटेको थियो । युक्रेनको क्रिमिया क्षेत्रलाई आफ्नो देशमा गाभेपछि अस्थिर बनेको राजनीतिका कारण रसियाको स्टक परिसुचकले ११.८ प्रतिशत मूल्य गुमाएको थियो । राजनीतिक, प्राकृतिक एवं मानवीय विपत्तिहरुले स्टक बजारका लगानीकर्ताहरु असुरक्षित महसुस गर्न थाल्छन् । आफ्नो लगानी सुरक्षाको लागि उनीहरु वास्तविक सम्पत्तिमा लगानी गर्न थाल्छन् । बजारमा माग कम हुने र आपुर्ति अत्यधिक हुनाले मूल्यमा गिरावट आउँछ । यस्ता विश्व परिदृश्यले राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप एवं मानवीय संकटका बेला शेयर बजार नकारात्मक रुपमा प्रभावित हुने गरेको देखाउँछ तर नेपालको शेयर बजार त्यही बेलादेखि बढ्न थाल्यो जब भूकम्प गयो, भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका बेलामै शेयर परिसूकले ऐतिहासिक रेकर्ड कायम गर्न थालेको हो । किन उल्टो भइरहेको छ नेपालमा ? पुँजी बजारका जानकारहरुका अनुसार नेपाली शेयर बजार स्वतन्त्र छैन । केही समय अघिसम्म एकाध व्यक्तिहरुको मुठ्ठीमा चल्ने गरेको नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति तथा धितोपत्र बोर्ड प्रयासका कारण त्यस्तो अवस्थामा केही कमी आएको भए पनि शेयर बजारका औजारहरु स्वतन्त्र रुपले चलिरहेको छ भन्ने विश्वास गर्न सकिदैन । अझै पनि केही सीमित व्यक्तिको इच्छाअनुसार बजार प्रभावित हुने गरेको लगानीकर्ताहरुकै भनाई छ । बजार नियन्त्रणको पुराना शैलीहरुबाट अभ्यस्त भइसकेको अवस्थामा आजकल नयाँ तरिकाले शेयर बजार प्रभावित गर्नेहरु सक्रिय छन् । शेयर बजारलाई सोझै मोडिदिने प्रवृत्ति हाल सभाविक उतारचढावलाई अत्यधिक बनाउनेतर्फ केन्द्रित हुँदै गएको छ । केही अघिसम्म बीमा बजार निरन्तर माथि उठ्यो । यसलाई भुकम्पपछि जनतामा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास भएको रुपमा अथ्र्याइयो तर जनताको आकर्षणले कति विमालेखहरु बिक्री भए त्यो चर्चाको विषय नै भएन । अहिले बिकास बैंकहरुको शेयर बढ्न थालेको छ । मौद्रिक नीति विकास बैंकको अनुकुल आएको कारणले शेयर परिसूचक बढेको बताइए पनि अहिलेको वृद्धि स्वाभाविक होइन भन्ने विश्लेषकहरुको बुझाई छ । मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कृषि क्षेत्रमा १८ प्रतिशत लगानी गर्नैपर्ने नियम आएपछि एकाएक कृषि विकास बैंकको शेयर उच्च वृद्धि भयो । यसको कारण यो हुनसक्छ कि कृषि विकास बैंकको कृषि ऋणको अवस्था अहिलेकै अवस्थामा पनि राष्ट्र बैंकले तोकेको भन्दा निक्कै बढी छ । तर यतिकै कारणले शेयर मुल्य दोब्बरको हाराहारीमा पुग्नु स्वाभाविक छैन । यसमा बजारको कृतिम पक्षको प्रभाव छ । अर्कोतर्फ, शेयर बजार प्रभावित गर्ने पुरानो शैली बजारमा अद्यापि कायमै छ । सबै ब्रोकर कम्पनीमा घुम्दै ‘फलानो कम्पनीको शेयर पाए यति हजार कित्ता किनिदिन्थें’ भन्दै हिँड्ने अनि त्यही भनाइकै प्रभावको कारणले बढेको मूल्यमा खुसुक्क आफैसँग भएको शेयर बेचिदिने प्रवृत्ति पनि कायमै छ । एकआपसमा बढी मूल्य तोकेर किनबेच गर्ने अनि त्यसैको प्रभावले बढेको मुल्यमा तेस्रो पक्षलाई बेच्नेजस्ता रणनीति पनि अपनाइने गरेको पाइन्छ । केही प्रभावशाली मिडियाहरुमा प्रायोजित समाचार प्रकाशन/प्रसारण गरेर बजार नियन्त्रणमा लिने प्रयास पनि भइरहेकै छन् । मिडियामा चासो राख्नेले यस्तो अनुभव बारम्बार गरिरहेकै छन् । स्टक बजारलाई समग्र अर्थतन्त्रको ब्यारोमिटरको रुपमा लिइन्छ । बुलिस मार्केटले सकारात्मक अर्थतन्त्रको संकेत गर्छ भने बेरिस मार्केटले नकारात्मक अर्थतन्त्रको संकेत गर्छ । तर नेपालमा शेयर बजार उच्च विन्दुमा रहँदा आर्थिक वृद्धिदरभने ०.७७ प्रतिशतमा सीमित छ । यसको कारण एकातर्फ स्टक बजारको नफैलिएको अवस्था हो भने अर्कोतर्फ बास्तविक क्षेत्रको चिन्ताजनक स्थिति पनि हो । राजनीतिक अस्थिरताले वास्तविक क्षेत्र तहसनहस भयो । इन्धन अभाव, कच्चा पदार्थको आयातमा अवरोध एवं चरम उर्जा संकटले नेपाली उत्पादनमूलक उद्योगहरुको जोखिम बढ्दै गयो भने सेवा क्षेत्रले पनि प्रभावकारी रुपमा काम गर्न सकेन यसको यसको प्रभाव अद्यापि कायमै छ । अहिले पनि वस्तु बजार जोखिमपूर्ण स्थितिमा गुज्रिरहेकै छ । यस्तो अवस्थामा पनि वित्तीय संस्थाहरुलाई भने खासै ठूलो असर गरेन । यसर्थ करिब ७० प्रतिशत वित्तीय संस्थाहरुको हिस्सा रहेको शेयर बजारलाई सुरक्षित छानोको रुपमा हेरियो र लगानीकर्ताहरु यसतर्फ आकर्षित भए । भूकम्पपछि बैंकहरुमा चरम तरलता अभाव हुने अनुमान विपरित तीस अर्बभन्दा बढी निक्षेप थप हुन गयो । यसबाट के देखियो भने अझै पनि नेपालीहरु घरमा दराजभित्र ठूलो रकम भण्डार गर्ने गर्दारहेछन् । भुकम्पले घरहरु तहसनहस पारेपछि रुपैंयालाई घरमै राख्न असुरक्षित ठानेर बैंकमा जम्मा गर्न थालियो । अनुमान विपरित त्यस्तो निक्षेप आउनु र वास्तविक क्षेत्रले थप ऋणको माग नै नगर्नुले बैंकको तरलता अत्यधिक हुन गयो ब्याजदर हालसम्म न्यून अवस्थामा आइपुग्यो । वाणिज्य बैंकहरुले बचत खाताको निक्षेपको ब्याजदर २ प्रतिशतसम्म कायम गरे जहाँ मुद्रास्फीति भने दोहोरो अंकमा रहन गयो । यसरी बैंकमा बचत गरेको आजको १०० रुपैंयाको मुल्य एक बर्षपछि ९० रुपैंया बराबरमा झर्ने पक्का भएपछि जोखिम मोलेरै भए पनि शेयरमा लगानी गर्ने क्रम बढ्न थाल्यो । यसले शेयर बजारलाई बढायो । नेपाली शेयर बजारमा बास्तविक क्षेत्रको उपस्थिति शुन्यप्रायः छ । जलविद्युत् कम्पनीहरुलाई छाड्ने हो भने बहुराष्ट्रिय कम्पनी युनिलिभर, बोटलर्स नेपाल, हिमालयन डिष्टिलरी बाहेक अन्य कुनै पनि बास्तविक क्षेत्रका कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएका छैनन् । जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अर्थतन्त्रको मेरुदण्डको रुपमा रहने बास्तविक क्षेत्रलाई पूर्ण वेवास्ता गर्दा शेयर वजार सानो भयो । वास्तविक क्षेत्रलाई समेट्न नसकेको शेयर बजारमा सकारात्मक परिवर्तन त देखियो तर यसले सिद्धान्तजस्तो अर्थतन्त्रको व्यारोमिटरको रुपमा काम गर्न सकेन । नियामक निकायहरु पनि अहिलेको शेयर बजारको गतिदेखि सन्तुष्ट छैनन् । शेयर बजार बढ्नुका अनेकौं कारणका बाबजुत पनि नेपाल राष्ट्र बैंकको विश्लेषणमा अहिलेको शेयर बजारको वृद्धि स्वाभाविक होइन । देशको समग्र आर्थिक अवस्थालाई मध्यनजर गर्ने हो भने अहिलेको सेयर परिसूचक १००० को हाराहारीमा थियो भने त्यो प्राकृतिक हुन्थ्यो तर अपेक्षाविपरित यो २००० को नजिक छ । अन्य तत्वले उत्तिकै प्रभाव पार्ने भए पनि बजारमा अवैध सम्पति र माफियातन्त्रको महत्वपूर्ण हात छ । नेपाल धितोपत्र बोर्डले पनि नेप्से १३०० नाघेसँगै शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै सचेत हुन विज्ञप्ति नै जारी गर्यो तर यसले लगानीकर्तालाई खासै प्रभाव परेको छैन । शेयर बजारको बढ्दो प्रवृत्तिले जनसाधारणको ध्यान आकर्षित गरेकोले पनि शेयर बजार निरन्तर उकालो लागेको विश्लेषण एकातिर गरिन्छ तर नियामक निकायहरुले शेयरले सर्वसाधारणको उठीबास नलागोस् भन्नेमा सचेत भएकैले यस्ता विज्ञप्तिहरु जारी गर्ने गरेका हुन् । पुँजी बजारका समस्याहरु: १. जुवाघरसरी शेयरबजार शेयर बजारलाई जुवाघरको रुपमा तात्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले परिभाषित गरेकै हुन् । त्योबेला उनको तिव्र विरोध भयो । यस्तो अभिव्यक्तिलाई शेयर बजार ध्वस्त पार्ने नीतिका रुपमा अथ्र्याइयो । संयोग पनि त्यस्तै भयो, त्यही बेला ११०० भन्दा माथि पुगिसकेको सेयर ३०० सम्म झर्यो । तर वास्तविकता त्यही थियो, अझै पनि शेयर बजारलाई जुवाघरको रुपमा हेरेर कारोबार गर्ने धेरै छन् यहाँ । कुनै लगानीकर्ताले आफ्नो लगानीको जोखिम कम गर्ने हो भने आफ्नो लगानीको राम्रो बाँडफाँड गर्नुपर्छ । शेयर बजार आफैंमा जोखिमयुक्त प्रकृतिको हुन्छ त्यस्तो जोखिमलाई कम गर्न वा आफ्नो लगानीको केही हिस्सालाई प्रतिफल निश्चित भएका बोण्ड एवं ट्रजरी बिलहरुमा लगानी गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । बोण्ड जोखिमयुक्त हुने भए तापनि यसमा मुनाफा निश्चित हुन्छ, ट्रजरी बिल जोखिम रहित हुन्छ । कमजोर अर्थतन्त्रका बीच चलेका नेपाली वित्तीय संस्थाहरु पनि एकाध बाहेक डुबेरै गएको अवस्था छैन । अझ हालैका दिनमा केन्द्रीय र्बैंकले लिएको मर्जर पोलिसीले संस्थाहरुलाई थप सशक्त बनाइरहेको छ । यसकारण बोण्ड बजारमा लगानी गर्नु अबका दिनमा उपयुक्त हुनसक्छ । छोटो समयको लागि गरिने सरकारी बिलहरुको लगानीले पनि कुल जोखिमलाई घटाउँछ । पोर्टफोलियो निर्माणको अर्को क्षेत्र भनेको वास्तविक क्षेत्र पनि हो। वास्तविक क्षेत्रमा गरिने लगानीले अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्छ । यसले लगानीकर्ताको जोखिम घटाउने काम पनि गर्छ । वास्तविक क्षेत्रको विकासविनाको पुँजी बजारको विस्तार सम्भव छैन । पुँजी बजारको घर बलियो हुन वास्तविक क्षेत्रको माटो पनि चाहिन्छ । तर यहाँ अवास्तविक क्षेत्रको ढुङ्गाकै भरमा घर ठड्याउने प्रयास भइरहेको छ यसले जोखिमलाई बढाइरहेको छ । एउटा सक्षम लगानीकर्ताले आफ्नो लगानी सुरक्षाको उपयुक्त योजना नबनाई गरिने लगानी जुवाघरको खेलबाहेक केही हुन सक्दैन । तर यहाँ ठीक उल्टो अवस्था छ, जससँग पोर्टफोलियो बनाउने हैसियत छ उनीहरु शेयर बजारमा हस्तक्षेप कायम गर्न खोज्छन्, जसले यस्तो हैसियत नै राख्दैनन् उनीहरुलाई जोखिमयुक्त लगानीको विकल्प नै रहँदैन । उनीहरु जुवाघरसरी लगानी गर्छन् । एकाधले त कमाउलान् तर अधिकांश फर्कन्छन् जुवाघरमा हारेर रित्तिएको तीतो अनुभव लिएर । २. शेयरमा आकर्षण बढ्यो, ज्ञान बढेन हालैका दिनहरुमा शेयर कारोवार संख्या र रकम हेर्ने हो भने शेयर बजारमा जनसाधारणको सहभागिता बढ्दो छ तर शेयर बजारका लगानीकर्ताहरु बढ्नु भनेको शेयर बजारलाई बुझेर लगानी गर्नु होइन । अझै पनि शेयर बजारमा बुझेर लगानी गर्ने लगानीकर्ता कममात्र छन् । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक बर्षमा ट्रजरी बिल पटपटक जारी गर्यो । शुन्य जोखिमयुक्त मानिने यो बिलको तोकिएको मुनाफा छ प्रतिशत थियो तर यसमा सर्वसाधारणको आकर्षण देखिएन बैंकले जारी गरेका बिलहरु सबै बिक्री भएनन् । वाणिज्य बैकको खातामा २ प्रतिशत ब्याजमा निक्षेप जम्मा गरिरहेका निक्षेपकर्ताहरु उच्च ब्याजदरको शुन्य जोखिमयुक्त बिलमा लगानी गर्दैनन् । यसले सर्वसाधारण त सचेत छैनन् भन्ने देखाउँछ नै शेयर लगानीकर्ताहरुको ध्यान समेत त्यता पुग्न नसकेको प्रष्ट हुन्छ । स्टक बजारका लगानीकर्ताहरुको मुख्य ध्यान भनेको जोखिम न्यूनीकरण गर्ने हुनुपर्छ । शेयर बजार यसै पनि जोखिमपूर्ण हुन्छ तैपनि जोखिमका बीचमा जोखिम कम गर्ने उपायहरु अबलम्बन गरिनुपर्छ । त्यसका लागि लगानीकोे उचित बाँडफाँड गर्नुपर्छ तर त्यस्तो गरेको पाइँदैन । मुद्रा बजारप्रतिको न्यून आकर्षणले बजारको त्यस्तो दाबीहरुलाई प्रमाणित गर्दैन । ३. चर्को ब्याजमा ऋण लिन्छन्, जनताबाट उठाउँदैनन् ठूला उत्पादनमूलक उद्योगले किन दोहोरो अंकको ब्याजदरमा ऋण लिन्छन् ? जबसम्म वाणिज्य बैंकहरुले दिने ब्याज २ प्रतिशत भन्दा कम छ । ५/६ प्रतिशतमा कमर्शियल पेपर जारी गर्न सके यसले निक्षेपकर्ता र कम्पनी दुवैलाई फाइदा हुन्छ । त्यसो हुन सके हाल त्यस्ता कम्पनीहरुमा केन्द्रित भईरहेका बैंकहरु जनतामा जान्छन् अनि जनतामा बैंकिङ पहुँच बढ्छ । ब्याजदरको प्रतिस्पर्धाले मनि मार्केट प्रतिस्पर्धी बन्छ । तर यहाँ बैंकरहरु सीमित ठूला उद्योगीहरुलाई रिझाउने काममात्र गर्छन्, जनतामा जाने कुनै सोच नै राख्दैनन् । नेपाल राष्ट्र बैंक पनि खुल्ला बजार अर्थनीतिको विपरित बैंकहरु ग्रामीण इलाकामा जानैपर्ने हस्तक्षेपकारी उपाय अबलम्बन गर्छ । उता भुकम्पपीडितलाई बैंकमार्फत मात्रै अनुदान रकम भुक्तानी गर्ने भन्दै बैंकमा जबरजस्ती खाता खोल्न लगाएर बैंकिङ सेवा उपभोग गर्ने जनताको संख्या बढेको तर्क गर्दछ । यसले बैंकिङ पुहँच भएका जनसंख्या त बढाउला बैंकिङ आकर्षण भएका जनसंख्या बढाउन सक्दैन । जब बैंकहरुको उद्देश्य जनतामा जानु नै हुँदैन भने उनीहरुले गर्ने व्यवहारले जनता आकर्षित बनाउन सक्ने कुरै भएन । यदि कमर्शियल पेपरजस्ता बचतकर्ता र ऋणीको प्रत्यक्ष सम्पर्क गर्ने नीति विकास गरिदिएमा बैंक जनतामा जान्थे भने जनतामा बैंकिङ आकर्षण बढ्थ्यो । यसले वास्तविक क्षेत्रको विस्तारमा सहयोग गर्नुका साथसाथै मुद्रा बजारमा जनताको आकर्षण बढाउँथ्यो । यसरी लगानीका प्रशस्त ठाँउहरु विकास हुँदा लगानीकर्ताले उचित पोर्टफोलियो बनाएर कम जोखिममै लगानी गर्न सक्थे । अर्कोतर्फ एउटै क्षेत्रमा थुप्रिएको तरलता फैंलिदा शेयर बजारको अस्वाभाविक उछाल रोकिन्थ्यो । तर यसमा एकातर्फ नियामक निकायको कमजोरी छ भने अर्कोतर्फ कम्पनीहरुको मानसिकता पनि कमजोर छ । नेपालमा कमर्शियल पेपर जारी गर्ने प्रचलन हालसम्म चलेको छैन । जनताबाट कम्पनीहरुले छोटो समयको लागि सीधै पैसा उठाउँदा जोखिम बढ्ने भन्दै हालसम्म कसैलाई पनि यस्तो अनुमति दिइएको छैन । लामो समयको वोण्डको विक्रीसम्बन्धी व्यवस्था भए पनि कम्पनीहरुकै कमजोर मानसिकताको कारण उनीहरु वोण्ड जारी गर्न रुचि राख्दैनन् । बिक्रीका लागि खुलाइएका बोण्डहरु कसैगरी बिक्री भएन भने त्यसले संस्थाकै ख्याती गुम्ने डरले यसतर्फ कोही अघि नबढेका हुन् । यसले ठूला कम्पनी र बैंकहरुको अन्तरनिार्भरता बढाइरहेको छ । बैंकरहरुलाई ठूला ऋणीहरु रिझाउनु नै महत्वपूर्ण हुन्छ । बैंकिङ क्षेत्र यसकारण जनमूखी हुन सकेका छैनन् । बैंक जनतामा जाने होइन कि जनता बैंकमा आउनुपर्ने अवस्था अझैं वित्तीय क्षेत्रमा कायमै छ । पुँजीबजारलाई सशक्त बनाउने बाटो शेयर बजारको बढ्दो प्रवृत्ति र अन्य पक्षहरुको बजारको निराशाजनक स्थितिनै अहिलेको पुँजी बजारको मुख्य समस्या हो । २०५० साल माघ ३० गते सर्वप्रथम दोस्रो बजारमा शेयर खरिदबिक्री सुरु भएकोमा नेपालले स्टक बजारमा चौथाई शताब्दीको अनुभव सँगालिसकेको छ । यति समयसम्म आइपुग्दा शेयर बजारले बल्ल गति लिन थालेको छ । आजका दिनमा निरन्तर बढ्दै गएको शेयर परिसूचकलाई जुनसुकै रुपमा अथ्र्याइए पनि शेयर बजारमा सर्वसाधारणको आकर्षण बढेको यथार्थतालाई भने नकार्न सकिदैन तर शेयर बजारप्रतिको यो आकर्षणलाई पुँजी बजारकै विकासको रुपमा परिभाषित गरिनु गलत हुन्छ । किनभने स्टक बजारमा वास्तविक क्षेत्रसँग सम्बन्धित कम्पनीहरुलाई समेटेर बजार फराकिलो बनाउनु एकातर्फ अपरिहार्य छ भने शेयरबजार बाहेक बोण्डबजार, डेरिभेटिभ बजार जस्ता पुँजी बजारका अन्य महत्वपूर्ण औजारहरुको विस्तार गर्नु एवं त्यसतर्फ जनआकर्षण बढाउनु अर्को महत्वपूर्ण विषय हुन्छ । यी विषयहरुमा उल्लेख्य प्रगति नभएसम्म विकसित पूँजी बजारको कल्पना गर्न सकिदैन । अर्थतन्त्रको उतारचढावको हिस्सेदारी लिने हैसियत त्यसभन्दा अगाडी यो बजारले राख्न सक्दैन । अहिलेको अवस्थामा पुँजी बजारको एउटा हिस्साको रुपमा रहने शेयर बजार केही माथि उठ्यो तर फराकिलो हुन सकेन यसलाई फराकिलो बनाउने उपाय नै पुँजी बजार विस्तारको कडी हो स्टक बजारभित्रै विविधिकरण भित्र्याएर जोखिमलाई कम गर्ने अवस्था विकसित गराउनु अपरिहार्य छ । नेपालमा शेयर र बोण्ड बजारबाहेक अन्य क्षेत्रहरु आजसम्म अगाडी आएका छैनन् भने अगाडि आएको बोण्ड बजारले पनि गति लिन सकेको छैन । नेपाल स्टक एक्सचेञ्जले वोण्ड खरिदविक्रीको व्यवस्था गरेको भए पनि त्यसको कारोबार नगन्य मात्रामा मात्र हुन्छ । डेरिभेटिभ मार्केट, नेगोसिएटेड मार्केट एवं फ्यूचर एण्ड फरवार्ड मार्केटहरुजस्ता पुँजी बजारका बहुआयामिक क्षेत्रहरुको सुरुवात समेत हुन नसक्नु पुँजी बजारको दुःखद पक्ष हो । नेपाल धितोपत्र बोर्डले सूचिकृत नभएका शेयरहरुको खरिदविक्रीको लागि हालैका दिनमा नेगोसिएटेड मार्केट विकासको अवधारणा ल्याएको छ । त्यस्तै वास्तविक क्षेत्रले उत्पादन गर्ने वस्तुहरुसमेतको विनिमय गर्न सकिने गरी डेरिभेटिभ मार्केटको अवधारणा पनि ल्याइएको छ । तर शेयर बजार विस्तारकै लागि एक चौथाई शताब्दी लाग्नु एवं वोण्ड बजारबारे जनतामा खासै जानकारी नै नहुनुले नेपालमा यस्ता आधुनिक अवधारणा लागु हुन कयौं बर्ष लाग्नसक्ने देखाउँछ । शेयर बजार जसरी आज सर्वसाधारणमैत्री छ, बोण्ड मार्केट, अप्सन मार्केट, डेरिभेटिभ मार्केट आदिलाई पनि त्यस्तै सर्वसाधारणमैत्री बनाउन सके अर्थतन्त्रको उतारचढावलाई निर्दिष्ट गर्नसक्ने पुँजीबजार निर्माण हुन असम्भव छैन ।
यी हुन् नेपाली फोटो ग्राफरले खिचेका उत्कृष्ट फोटाहरु
काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ का विजेताहरु छानिएका छन् । गत वर्षभरी नेपाली फोटो ग्राफरहरुले खिचेका उत्कृष्ट तस्विरहरु सम्मिलित प्रतियोगीताको शिर्ष उपाधि दिपकरत्न बज्रचार्यले जिते । त्यस बाहेक बिभिन्न बिधामा प्रथमदेखि तृतिय स्थान हासिल गर्ने फोटो ग्राफरहरु छानिएका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेकोे यो फोटोले बज्राचार्यलाई फोटो अफ द इयर ०७३ बनाएको हो । यसैगरीको नभेष चित्रकारको यो फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो । आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठको फोटोले बाजी मार्यो । त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते । नेपाल टेलिकमले प्रायोजन गरेको नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेलको फोटोले प्रथम स्थान हासिल गर्यो । चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु । घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले दिएको फोटो प्रथम भयो । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते । रुकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन । फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोश्रो भयो । प्रताप थापाको यो फोटाले तेस्रो स्थान हासिल गर्यो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङले खिचेको यो फोटो दोस्रो बन्न सफल भयो । लक्ष्मीप्रसाद ङाखुसी लिएको यो तस्विरले तेस्रो स्थान ओगट्न सफल भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटोले दोश्रो स्थान पायो । त्यस्तै, विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजममा सम्बर्दन बज्रचार्यको यो फोटोले दोश्रो स्थान प्राप्त गर्यो । आभाष कर्माचार्यको फोटो भने तेस्रो स्थानमा पर्न सफल रह्यो । मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो बन्यो । त्यस्तै, उमेश श्रेष्ठले खिचेको यो तस्विर तेश्रो नम्बरमा पर्न सफल भयो । शिखर इन्स्योरेन्स नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो स्थानमा पर्यो । सुलभभक्त श्रेष्ठको फोटो भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै फोटो स्टोरीमा सागर क्षेत्रीको फोटो उपविजेता बन्न सफल भयो । तेश्रो स्थानमा भने नभेष चित्रकारका फोटा पर्न सफल भए ।
गत आर्थिक वर्षमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति
काठमाडौं, १४ साउन । काठमाडौं महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। ५० हजार रुपैयाँमात्र विज्ञापन करका लागि लक्ष्य लिएकामा रु दुई करोड ६३ लाख सात हजार राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए। आव २०७१÷७२ मा विज्ञापन करमार्फत रु ६२ लाख राजस्व असुल गरेको थियो । नियम विपरीत विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड हटाउने र नियममा रही विज्ञापन राख्न कडा गरेपछि विज्ञापन कर असुलीमा वृद्धि भएको हो । सबैभन्दा कम मनोरञ्जन करमा रु २५ लाख लक्ष्य रहेकामा रु चार हजार ८५० मात्र आम्दानी गरेको छ । त्यसैगरी घरजग्गा करमा लक्ष्यको ९४ प्रतिशत, मालपोतमा १०१, घरबहाल करमा ८८, वार्षिक सवारी करमा ३३, व्यवसाय करमा १०९ र सिफारिस दस्तुरमा १९५ प्रतिशत लक्ष्यअनुरुपको प्रगति हासिल गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ४६ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको महानगरपालिकाले रु एक अर्ब ११ करोड ९९ लाख रकम असुल गरेको थियो । गत आवका लागि रु एक अर्ब ५८ करोड २० लाख लक्ष्य रहेकामा रु एक अर्ब ४३ करोड १८ लाख ४८ हजारमात्र रकम असुल गरेको छ । रासस
नुनखानीकै बासिन्दा आयातित नुन खाँदै, २० वर्षदेखिनै नुन उत्खननमा समस्या
मुस्ताङ, १४ साउन । नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान बाध्य छन् । नुन उत्खननका समयमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासी अहिले केजीको हिसाबमा महँगो मूल्य तिरेर नुन उपभोग गर्न बाध्य भएका हुन् । स्थानीय घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको स्थानीय युवा पेमादोर्जे गुरुङले जानकारी दिए। “एक पोका नुनको हामीले रु ३० हालेर उपभोग गर्न बाध्य छौँ, तर नुनखानीको उत्खननबारे कसैले चासो दिदैनन्”– उनले भने । त्यही उत्खनन गरिएको नुनले २० वर्षअघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बागलुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो । नुन उत्खननको समयमा गाउँमा व्यापार व्यवसाय पनि राम्रो सञ्चालन हुने गरेको गुरुङको सम्झना छ । वार्षिक ७० मुरीसम्म नुन उत्खनन हुने गरे पनि राज्यको ध्यान पुग्न नसकेको स्थानीयवासीले बताएका छन् । हालै उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको प्राविधिक टोलीसँग स्थानीयवासीले नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका थिए । खानी क्षेत्रमै आयातित नुन खाने व्यवस्था अन्त्य गर्न माग गरेको स्थानीय छिमीपेम्बा गुरुङले जानकारी दिए । खानी तथा भूगर्भ विभागका प्राविधिकहरुले पनि तत्काल नुनखानी उत्खनन गर्न सम्भव रहेको निष्कर्ष निकालेका थिए । वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले नुनखानी उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने मन्त्रालयलाई सुझाव दिइएको बताए। रासस
वैदेशिक रोजगार ठगीका २७ उजुरी
१४ साउन, पोखरा। मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)द्वारा वैदेशिक रोजगारपीडितका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्न पोखरामा स्थापित शाखा कार्यालयमा दुई महिनामा ठगीका २७ वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारका नाममा धेरै व्यक्ति गठीमा पर्ने गरेको भन्दै पोखरा र आसपासका क्षेत्रका पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले गत जेठ २ गतेबाट पोखरा–७ राष्ट्रबैंक चोकमा कार्यालय सञ्चालन गरिएको थियो । कार्यालयका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र अर्यालकाअनुसार वैदेशिक रोजगारपीडितमध्ये अधिकांश आफन्तबाटै ठगिएको पाइएको छ । हालसम्म कार्यालयमा वैदेशिक रोजगारका नाममा २० देखि १५ लाख रुपैयाँसम्म ठगिएका उजुरी परेको उनले बताए । पीडितले प्रस्तुत गर्ने प्रमाणका आधारमा उसको उजुरीलाई दर्ता गरी मानवअधिकारका लागि जनमञ्चको केन्द्रीय कार्यालय काठमाडौंमार्फत बैदेशिक रोजगार विभागमा पठाउने गरिएको उनले बताए । कार्यालय सञ्चालनमा आएसँगै कास्की, स्याङ्जा, तनहुँ, गोरखा, बागलुङलगायत जिल्लामा वैदेशिक रोजगार ठगी न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण गरिएको छ । कार्यालयले कास्कीका ढिकुरकोखरी, अर्मला, भदौरे तामागी, मौजा, कृष्तिनाच्ने चौर, माछापुच्छ्रे, थुमाको डाँडा, घान्द्रुक, पार्चे र निर्मल पोखरीमा वैदेशिक रोजगार सम्बन्धमा कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । रासस
दिपकरत्न बज्रचार्यले जिते आइएमई–ग्लोबल–आइएमई फोटो प्रतियोगीताको उपाधी
काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दिपकरत्न बज्रचार्यले जितेका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ घोषित भएको हो । यसैगरीको नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठले बाजी मारे । त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल तथा घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजम’मा सम्बर्दन बज्रचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो । मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस’मा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको फोटो उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए । देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेकोे निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो । यही १३ साउन २०७३ काठमाडौंमा सम्पन्न भएका निर्णायक चरणका निणार्यक मण्डलमा वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्धय देबेन्द्रमान सिंह , नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा रहेको थियो । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ । दुईदिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ५० फोटो छानिएका छन् देशभरबाट यसपालीको प्रतियोगितालाई ८ सय ११ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ६ सय ७० फोटो पठाएका थिए । निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।
ऊर्जा सङ्कट निवारण कार्ययोजनाः प्रसारण लाइन निर्माणमा सफलता प्राप्त हुँदै
काठमाडौं, १४ साउन । नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिमा पेस गरेको प्रतिवेदनमा केही महत्वपूर्ण प्रसारण लाइन निर्माणको प्रक्रियाले गति लिएको उल्लेख छ । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जिीवी चटौतका अनुसार खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण कार्यले गति लिएको छ । विगत दश वर्षदेखि जग्गा प्राप्ति, मुआब्जा वितरण र स्थानीयवासीले विभिन्न माग राख्दै अवरोध गर्दै आएका थए । पछिल्लो समय सुरक्षाकर्मी परिचालन गरेर सो आयोजनाको कार्य अगाडि बढेको छ । कुल २२० केभी क्षमताको सो प्रसारण लाइनको एउटा टावर निर्माण गर्न बाँकी छ भने केहीमा तार तान्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आगामी दसैंसम्म निर्माण कार्य सम्पन्न हुने बताउछन् । यस्तै खिम्ती ढल्केबर प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख श्यामकिशोर यादवले छवटा टावरको निर्माण प्रक्रिया अगाडि बढेको र तार तान्ने काम भइरहेको बताए। ढल्केबरमा २२० केभी क्षमताको सव स्टेसन निर्माण कार्य जारी छ । ढल्केबरमा ठूलो क्षमताको सव स्टेसन नहुँदा भारतबाट आयात गर्न लागिएको थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको थियो । मुजफ्फरपुर– ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपाल र भारतका ऊर्जा सचिवको केही समयपहिले सम्पन्न संयुक्त बैठकले सोही प्रसारणलाइनबाट थप विद्युत् ल्याउने सहमति भएको थियो । आगामी पुससम्म सव स्टेसन निर्माण सम्पन्न भए भारतबाट आयात हुने ३०० मेगावाट विद्युत्ले विद्युत्भार कटौती गर्न सहयोग पुग्ने छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मानन्धर चिनियाँ ठेकेदारलाई तत्काल काम सुरु गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न ताकेता गरिएको बताउछन् । ट्रान्सफर्मरलगायतको सामान ढल्केबरमा आइपुगेको छ । “पुससम्म सव स्टेसन निर्माण सम्पन्न हुनेछ,” उनले भने । यस्तै मन्त्रालयले ऊर्जा सङ्कटलाई ध्यानमा राखेर कुशाहा– कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइन आगामी पुससम्म सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाएको छ । ती प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकको सहमतिअनुसार न्यू बुटबल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको अध्ययन अगाडि बढाइएको छ । उक्त प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्य छ । विद्युत् प्रसारण लाइन गुरुयोजना पनि तयार भएको छ । आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइनलाई अगाडि बढाउने लक्ष्यका साथ उक्त गुरुयोजना तयार पारिएको मन्त्रालयको दाबी छ । यस्तै जल तथा ऊर्जा आयोगले बागमती नदी बेसिन गुरुयोजना तयार गरिरहेको छ भने अन्य नदी बेसिन गुरुयोजना तर्जुमा गर्न परामर्शदाता छनोटको संक्षिप्त सूची तयार पार्ने कार्य अन्तिमचरणमा पुगेको छ । ऊर्जा सचिव सुमनप्रसाद शर्मा कार्ययोजना पूर्णरुपमा कार्यान्वयन हुनेमा आशावादी छन् । अन्तरनिकाय समन्वयको लागि मन्त्रालयस्तरमा सहसचिवलाई जिम्मा दिइएको, राष्ट्रिय विद्युत् उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित निकायबाट सहमति प्राप्त भएको र मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्ने तयारी भएको, सरकारी तहमा एक इन्जिनियरिङ परामर्श कम्पनी खडा गर्न कार्यदल गठन भएको र विभिन्न कम्पनी स्थापनाका लागि चालु आवमा रु दुई अर्ब विनियोजन गरिएको शर्माले जानकारी दिए । रासस