गुल्मीको राजनीतिक आकाशका दुई नक्षत्र, रुद्रमणि र टोमलाल
कुनै मानिस यस्ता हुन्छन् जसलाई सम्झँदा अझ सम्झिरहन मन लाग्छ । समय बित्दै जाँदा उनीहरूप्रतिको सम्मान झन् गाढा बन्दै जान्छ । कतिपय मानिसका लागि त आफ्नै आयु र उमेर थपेर दिन पाए हुन्थ्यो जस्तो लाग्छ । तर नियतिको आफ्नै निर्णय हुन्छ । उसले कहिलेकाहीँ समाजलाई सबैभन्दा आवश्यक मान्छेहरूलाई नै असमयमै खोसिदिन्छ । गुल्मीले पनि यस्तै दुई सामाजिक व्यक्तित्वलाई समयअघि नै गुमायो । ती हुन् पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रुद्रमणि शर्मा भण्डारी र नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डे । यी दुई व्यक्तित्वलाई सम्झँदा राजनीति सत्ता प्राप्तिमात्र नभई जनताको सेवा गर्ने तपस्या पनि हो भन्ने भावना जाग्छ । फरक राजनीतिक धारका भए पनि उनीहरूको उद्देश्य एउटै थियो, गुल्मीको विकास, जनताको हित र समाजमा सकारात्मक परिवर्तन गर्ने । त्यसैले उनीहरूलाई अलग–अलग सम्झन सकिँदैन । रुद्रमणि र टोमलाललाई छुट्याइयो भने गुल्मीको वाम–प्रजातान्त्रिक आन्दोलनकै इतिहास अधुरो हुन्छ । म सधैं उनीहरूलाई सादगी जीवन, निष्ठा, त्याग र जनताप्रतिको समर्पणका कारण सम्झिरहन्छु । उनीहरूमा राजनीति थियो, तर राजनीतिभन्दा माथि मानवीयता थियो । पद थियो, तर पदभन्दा माथि व्यवहार थियो । आज राजनीति धेरै बदलिएको छ । भाषण धेरै छन् तर त्याग कम छ । प्रचार धेरै छ, तर सेवा कम छ । यही परिवेशमा रुद्रमणि र टोमलाल जस्ता नेताहरू उचाइमा देखिन्छन् । एकदिन टोमलालजीका छोरा पुष्प मेरो घरमा आई वुवाको बारेमा केही लेखिदिनुप¥यो अंकल भनी आग्रह गरे । मैले सम्मान गर्ने व्यक्तित्वबारे आएको आग्रह अस्वीकार गर्न सक्ने कुरा नै भएन । तर लेख्न बस्दा मेरो मनले केवल टोमलाललाई मात्र सम्झन मानेन, प्रत्येक सम्झनामा रुद्रमणि पनि सँगै आइरहे । नेपालमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि लोकतन्त्र पुनःस्थापित भयो । त्यसपछि २०४८ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रुद्रमणि शर्मा भण्डारी गुल्मी क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । लगत्तै २०४९ सालमा भएको स्थानीय निर्वाचनमा टोमलाल पाण्डे वस्तु गाविसको अध्यक्ष निर्वाचित भए । त्यतिबेला म रामराज्य मावि इस्मा दोहलीको प्रधानाध्यापक थिएँ । विद्यालयको वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी भइरहेको थियो । हामीले प्रमुख अतिथिका रूपमा सांसद रुद्रमणि भण्डारीलाई निमन्त्रणा गर्ने निर्णय ग¥यौं । त्यो समय अहिलेजस्तो मोबाइल र सञ्चारको सहजता थिएन । उनलाई भेट्न म तम्घास पुगें । संयोगले उनी त्यही दिन जिल्ला फर्किएका रहेछन् । त्यसपछि हामीले सँगै इस्मातर्फ लाग्ने योजना बनायौं । दिनभर तम्घासका भेटघाट सक्दा साँझ ढलिसकेको थियो । रात पर्दै थियो । रुद्रमणिजी, तत्कालीन गाविस उपाध्यक्ष लक्ष्मीप्रसाद अर्याल, गाविस सचिव चन्द्रबहादुर महत र म छल्दीको बगर हुँदै अघि बढिरहेका थियौं । आकाशमा टहटह जून लागेको थियो । जूनको उज्यालोको बीच परबाट एउटा आकृति हामीतर्फ आउँदै थियो । सुरुमा छायाँजस्तो लागेको त्यो आकृति नजिकिँदै जाँदा चिनियो, उनी त वस्तु गाविसका अध्यक्ष टोमलाल पाण्डे पो रहेछन् । त्यही पहिलो भेटबाट टोमलालजीप्रति मेरो छुट्टै धारणा बन्यो । यत्तिका मानिसको बीचमा उनले निसंकोच रुद्रमणिजीको खुट्टामा ढोग गरे । त्यो कुनै औपचारिकता थिएन, त्यो संस्कार थियो । पछि टोमलालजी अगाडि बढेपछि रुद्रमणिजीले हामीतर्फ फर्केर भने, ‘यहाँ मात्रै होइन, टोमलालले सम्मान गर्ने मान्छे भेटे भने रत्नपार्कको भिडमा पनि खुट्टामै ढोग्छन् । मान्यजनको आदर र सानालाई माया गर्न हामीले टोमलालबाट सिक्नुपर्छ ।’ त्यो वाक्य आज पनि कानमा गुञ्जिरहन्छ । राजनीति प्रतिस्पर्धाको क्षेत्र हो, तर सम्मान हरायो भने त्यो राजनीति होइन, केवल शक्ति संघर्ष मात्र हुन्छ । रुद्रमणि र टोमलालबीच विचार फरक थियो, पार्टी फरक थियो, तर हृदयमा आपसी सम्मान थियो । अहिलेको राजनीतिमा सबैभन्दा धेरै हराइरहेको कुरा सायद यही हो । हामी त्यही बगरमा उभिएर धेरैबेर कुरा गरिरह्यौं । कुरा गर्दै जाँदा आधा रात हुन लागिसकेको थियो । त्यतिबेला टोमलालजीले हतारिँदै भने, ‘रुद्रमणि दाइसँग कुरा गर्न थालेपछि रात दिन गएको पनि थाहा हुँदैन । अहिले राति १२ बजे पार्टीको हस्तीचौर गाउँ कमिटीको बैठक छ । यहाँ साढे एघार बजिसक्यो ।’ त्यो भनाइसँगै हामी अघि बढ्यौ । छल्दी पार गरेर अरादी खोलातिर पुग्दा रुद्रमणिजीले गम्भीर स्वरमा भने, ‘देख्यौ साथी हो, संगठन कसरी गर्नुपर्छ ? दिनभर जनताको काम, रातभर पार्टीको काम । टोमलालजस्ता पाँच जना एमालेका नेता भए भने सिंगो गुल्मी कांग्रेसको किल्लाबाट लालकिल्ला बन्न बेर लाग्दैन ।’ त्यो बेला रुद्रमणीजीको कुरा हामीलाई अनौठो लागेको थियो । जिल्लाका तीनवटै निर्वाचन क्षेत्र कांग्रेसले जितेको थियो । जिल्ला विकास समिति, अधिकांश गाविस र इलाकामा कांग्रेसकै प्रभाव थियो । यस्तो बलियो आधार कसरी ढल्ला भन्ने लागेको थियो । तर रुद्रमणिजी दूरदर्शी थिए । उनले टोमलालजस्ता कार्यकताको शक्ति बुझेका थिए। टोमलालजी त्यागका पर्याय थिए । उनी आफ्नो निजी सम्पत्ति बेचेर पनि पार्टी र जनताको काममा लाग्थे । दिनरात गाउँगाउँ पुग्थे । जनताका दुःखमा साथ दिन्थे । पदलाई सुविधाको माध्यम होइन, जिम्मेवारीको भारी सम्झिन्थे । यस्तै निष्ठावान र समर्पित नेताहरूका कारण गुल्मीमा एमालेको उभार आयो । रुद्रमणिजीले त्यो समयमै देखेका थिए । तर एउटा प्रश्न भने सधैं मनमा उठिरहन्छ ‘के त्यस्ता त्यागी नेताको सम्मान समयमै भयो ? राजनीतिले उनीहरूको योगदानलाई कति सम्झियो ?’ सायद इतिहासले त्यसको उत्तर खोजिरहेकै छ । आजको एमाले होस् वा कांग्रेस, दुवै पार्टीमा टोमलाल र रुद्रमणिजस्ता त्यागी, जनमुखी र नैतिक नेताहरूको ठूलो अभाव महसुस हुन्छ । राजनीति आज धेरै पेशागत र अवसरवादी हुँदै गएको छ । तर यस्ता व्यक्तित्वहरूले हामीलाई राजनीतिको वास्तविक सौन्दर्य जनतासँगको सम्बन्धमा हुन्छ भनेर सम्झाइरहन्छन् । रुद्रमणि शर्मा र टोमलाल पाण्डे आज हाम्रो बीचमा छैनन् । तर उनीहरूका सम्झना जीवित छन् । उनीहरूको सरलता, जनताप्रतिको प्रेम, आपसी सम्मान, त्याग र कर्मले उनीहरूलाई अमर बनाएको छ । गुल्मीको माटोमा उनीहरूको पसिना मिसिएको छ । उनीहरू केवल दुई नेता होइनन् एउटा युगका प्रतिनिधिसमेत हुन् । समयसँगै मानिसको मृत्यु हुन सक्छ, तर असल कर्मलाई मृत्युले मेटाउन सक्दैन । रुद्रमणि र टोमलाल त्यसकै जिउँदो उदाहरण हुन् । उनीहरूलाई सम्झँदा आज पनि मन श्रद्धाले भरिन्छ, आँखामा पुराना दिनहरू तैरिन्छन् अनि लाग्छ यस्ता मानिसहरू वास्तवमै समाजका धरोहर थिए र रहिरहने छन् ।