भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन ८ गतेदेखि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिँदा प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क लाग्नेछ ।
स्वीकृति नलिने क्यालेन्डरलाई एक लाखसम्म जरिवाना गरिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् । समितिले आवश्यकताअनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानुनअनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए । अनुगमन समितिले अनधिकृत रुपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ । समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि एक सय ५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या बढिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् । रासस
घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो । ‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।
अब पेट्रोलको पैसा डिजिटल रुपमा भुक्तानी गर्न सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानज्यू तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस, क्युआर, लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने बताए । यसका साथै बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ । बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
महिला नेतृत्व शिखर सम्मेलन : महिलाद्धारा उत्पादित वस्तुको प्रदर्शनी गरिने, अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागीता
काठमाडौं । नेपाल उद्योग परिसंघले दुई दिने ‘महिला नेतृत्व शिखर सम्मेलन २०२३’ गर्ने भएको छ । परिसंघले महिला नेतृत्व मञ्चको संयोजनमा आगामी चैत ११ र १२ गते काठमाडौंको सोल्टी होटलमा उक्त सम्मेलन गर्न लागेको हो । सोमबार पत्रकार सम्मलेन गर्दै परिसंघले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले उक्त दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराएको हो । सम्मेलनमा लैंगिक समानता विषयसहित महिला नेतृत्वहरुबीच विचार आदान प्रदान गर्ने, रणनीति बनाउने, महिलाहरुको सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्राप्त हुने महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले बताइन् । उनका अनुसार महिला नेतृत्व शिखर सम्मेलनले विशेष तीन वटा विषयवस्तुमा बहस, छलफल, विचार विमर्श गर्ने छ । जसमा महिला र राजनीति, महिला र अर्थतन्त्र, परिवर्तनका सम्भाव महिलाको सेरोफेरोमा प्यानल डिस्कसनहरु हुने उनले बताइन् । ‘सम्मेलनमा महिला नेतृत्वको विकास कसरी गर्ने, नेतृत्व तहमा पुग्नलाई के कस्ता चुनौतिहरु सामना गर्नुपर्छ, कस्ता कस्ता रणनीतिहरु अपनाउनु पर्छ र अबका दिनमा महिलालाई नेतृत्वमा पुर्याउन के कस्ता कामहरु सरकारले गर्नुपर्ने छ भन्ने विषयहरुलाई विभिन्न प्यानलहरुमा छलफल हुने छ,’ सभापति शमाले बताइन् । परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सम्मेलनमा कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने सम्मेलनको उद्देश्य रहेको बताए । ‘सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने हुने छ,’ परिसंघका उपाध्यक्ष चौधरीले बताए । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रबद्र्धनका लागि ३० जना महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । त्यस्तै, सम्मेलनमा बिजनेस, राजनीतिक, जलवायु परिवर्तन, डिजिटल, मिडिया र इन्टरटेनमेन्ट, साउथ एशियन रिजनल प्यानल र विभिन्न प्रदेशहरुबाट महिला उद्यमीहरुको ९ वटा प्यानल रहने जानकारी गराईको छ । उद्योग वाणिज्य तथा महिला आपूर्ति मन्त्रालयसँगको समन्वयमा हुन गइरहेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताइएको छ । उक्त सम्मेलनमा हुने विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहने छ । त्यस्तै, पहिलो पटक हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनको एम्बास्डरमा भारतीय अभिनेत्री सोनाक्षी सिन्हालाई नियुक्त गरिएको छ । महिला नेतृत्व मञ्च र यसको मूख्य उद्देश्य ? वोमेन लिडरशीप फोरम अर्थात महिला नेतृत्व मञ्च नेपाल उद्योग परिसंघको नयाँ इनिसिएटिभ हो । जुन सन् २०२१ मा स्थापना भएको हो । स्थापना भएको करिब तीन वर्षको दौरानमा यो मञ्चले महिलालाई नेतृत्वतहमा पुर्याउनको लागि विभिन्न कामहरु गर्दै आएको छ । यो मञ्जमा विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरु सदस्यको रुपमा आवद्ध छन् । यो फोरमको मान्यता नै बढीभन्दा बढी महिलालाई कर्पोरेट, अर्थतन्त्र लगायत राजनीति क्षेत्रभित्र समेटी उनीलाई नेतृत्व तहमा पुर्याउनुपर्छ भन्ने मुख्य उद्देश्य हो । साथै, यो फोरम अर्थात मञ्चले जुनसुकै क्षेत्रको नेतृत्व तहमा पुग्दा महिलाहरुले भोग्नु पर्ने चुनौतिहरुको पहिचान गरी समाधानका रणनीतिहरु पहिल्याई महिलाहरुलाई कसरी उच्च तहमा पुर्याउन सकिन्छ भन्ने ध्येयका साथ विभिन्न कार्यक्रम चलाउँदै आएको छ । कोभिड माहामारीपछि अधिकांश महिलाहरु बढी प्रभावित भएको फोरमले जनाएको छ । आइएलओले गरेको सर्वेक्षणअनुसार पनि १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन् । सोही सर्वेक्षणले ३७ प्रतिशत व्यवसायले महिला कामदारहरुको तलब घटाएको र ५ प्रतिशत व्यवसायहरुले पुरै तलब कटौती गर्नुका साथै जागिरबाट महिलाहरुलाई हटाएको फोरमले जनाएको छ । सीबीएसको रिपोर्ट अनुसार २०१९ मा प्रकाशित गरेको राष्ट्रिय आर्थिक जनगणनाअनुसार देशका कूल ९ लाख २३ हजार तीनसय ५३ उद्यममध्ये २ लाख ४७ हजार ८८० अर्थात २९.८ प्रतिशत उद्यमहरु महिलाद्धारा सञ्चालित थिए । र, कोभिडपछि महिला उद्यमी महासंघले सर्वेक्षण गर्दा १५ प्रतिशत महिलाहरुले सञ्चालन गर्दै आएको व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको जानकारी गराइएको छ ।
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि बताए । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गरे । ‘सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ, जति भयो त्यो चाँही पर्याप्त छ, अब आरामसँग सरकार चल्छ, अब विकास, निर्माणको कामले गति लिन्छ,’ उनले भने ।
रमेश कर्पले अनाथालयमा मनायो तेस्रो संस्थापक दिवस
काठमाडाैं । रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस अनाथालयमा मनाएको छ । कमेपनीले यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी मनाएकाे हाे । कम्पनीले रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरेकाे थियाे । रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।
४ लाखमै पाइन्छ जेस्टिसको इभी स्कुटर, यस्ता छन् विशेषता
काठमाडौं । नेपाली बजारमा अहिले थुप्रै कम्पनीका दुई पाँग्रे विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । त्यीमध्ये तपाईं कुन इभी किन्ने सोचमा हुनुहुन्छ ? सडकमा पनि दुई पाँग्रे विद्युतीय सवारी साधनको संख्यान बढ्दै गएको छ । ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नेपाली सडकमा सुहाउँदो इभी स्कुटर सार्वजनिक भएको छ ‘जेस्टिस्’ । एमभी दुगड समूहले सो स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्राण्ड जेस्टिस्को स्कुटर नेपालमा ल्याएको छ । सार्वजनिक भएको केही समयपछि नै उक्त स्कुटरको माग पनि उच्च रहेको कम्पनीका सेल्सम्यान रोहित दाहालले बताए । उनका अनुसार आकर्षक विशेषता र स्मार्ट लुक्स भएकाले पनि यो स्कुटर धेरैको रोजाइमा परेको छ । यो स्कुटरको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिकअप र पावर रहेको छ । जेस्टिस् स्कुटरको अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहको कम्पनीले बताएको छ । जेस्टिस् इभी स्कुटरमा डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट, आधुनिक ग्राफिक्स, स्टाइलिस हेडलाईट लगायतका विशेषताहरु छन् । जुन कारणले पनि नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा राम्रो स्कुटर रहेको कम्पनीको दाबी छ । यो स्कुटरमा २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पिक पावर, ३.७ हर्सपावर, अधिकतम् ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेशन ०–५० किलोमिटर सम्म पुग्छ । अहिले जेस्टिस् इभी स्कुटर रातो, सेतो र कालो रङ्गमा उपलब्ध छ । दाहालका अनुसार अन्य स्कुटरमा नभएको मोनो शोकको विशेषता यो स्कुटरमा छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा स्कुटर मज्जाले कुद्छ । साथै यो स्कुटरमा ठूलो टायर दिइएको छ र एलइडी टेल ल्याम्प प्रयोग गरिएको छ । जेस्टिस् इभी स्कुटरमा डबल र सिंगल ब्याट्री जडान गरिएको छ । सोही अनुसार मूल्य पनि निर्धारण गरिएको छ । कम्पनीका अनुसार डबल ब्याट्री जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो स्कुटरको ब्याट्री अलग गर्न मिल्ने भएकाले निकालेर सुरक्षित स्थानमा राख्न पनि सकिन्छ । ५ किलोवाटको विद्युतीय मोटर जडान भएको यस स्कुटरमा ७२ भोल्ट र २० एम्पियर आवर लिथियम आयन ब्याट्री छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ । दाहालका अनुसार ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट समय लाग्छ । कम्पनीले स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको दिएको छ । यसले पूर्ण रूपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ । ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रूपमा रि–चार्ज हुन्छ ।