विकासन्युज

बजार अनुगमनले पायो तीव्रता, पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

फाइल फोटो तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यौं, अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन,’ उनले भनिन् । मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताइन् । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ । त्यस्तै, अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताइन् । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यसमा पसल सञ्चालकले ध्यान दिनुपर्ने उनको भनाई छ । अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिइन् । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ । रासस

राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न सक्दैन : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन् । सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे । प्रदेश प्रमुख गुरुङले देशी-विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखे । ‘देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवर्द्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ ।’ देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताए । रासस

एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै

काठमाडौं । एभरेष्ट बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र ४७८ को क्रमशः ०–०–७–० र ०–०–७–० (११८.५२ र ११८.५२ वर्गमिटर) क्षेत्रफल भएको जग्गा र सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफल भएको २ तले घर कम्पाउण्ड सहित बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नेछ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुकले १५ दिन अर्थात् चैत २० गतेभित्र धुलाबारी शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र चैत २१ गते मंगलबारका दिन दिनको साढे ३ बजे बैंकको धुलाबारी शाखामा खोलिनेछ । बिक्री गरिन लागेको घरजग्गा सम्बन्धी कागजातहरु, घरजग्गा हेर्न र बुझ्न तथा अन्य जानकारी चाहिएमा बैंकको शाखा कार्यालय धुलाबारीमा कार्यालय समयभित्र सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ । काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ । रासस

सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने ऋणीको कानुनी दायित्व भएको बताएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै कर्जा लिँदाका बखत तोकिएका सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको बताएको हो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिको कर्जा तोकिएको समयमा असुल नभएमा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरू गर्दा भाखा नाघेको कम्तीमा ६ महिना भई उक्त कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट उपर्युक्त व्यवस्थाको पालना नभएमा ऋण लिएको संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिनेछ । ‘कर्जा लिँदाका बखत तोकिएका सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिको कर्जा तोकिएको समयमा असुल नभएमा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरू गर्दा भाखा नाघेको कम्तीमा ६ महिना भई उक्त कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

काठमाडौंमा भाडावालले कोठाको भाडा नदिएरै भाग्न थाले

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ । छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार कामपामा आउने उजुरीमध्ये हरेक दिन कोठा खाली गरिदिनुपर्यो भन्दै आउने उजुरी बढी छ । पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कविहीन भएका उजुरी पनि अत्यधिक बढिरहेको छ । यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी उत्तिनै छन् । भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन् । संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको कामपाको ठहर छ । यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ । त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्ने छ र नयाँले पनि गर्नुपर्ने छ । कामपाले अत्यधिकरूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार अबै घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्ने छ । सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ मा के छ ? कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कशप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा, एकप्रति घरघनीले र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने व्यवस्था छ । सम्झौतामा घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय वडा कार्यालयमा बुझाउनुपर्ने छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्नेछ भने त्यसको जानकारी वडा कार्यालयमा गराउनुपर्ने छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउनुपर्ने व्यवस्था छ । पछिल्लो समय कामपाले निर्देशिका जारी गर्दै सम्बन्धित वडामा घर भाडामा लगाउने घरधनीले भाडामा बस्नेको विवरणसहित आउनुपर्ने जनाए पनि सोअनुरूप आउनेको सङ्ख्या थोरै रहेको जनाएको छ । कामपाले बहाल करका लागि चालु आर्थिक वर्षमा २ अर्ब उठाउने लक्ष्य निर्धारण गरेकमा हालसम्मको अवधिमा १ अर्ब ४८ करोड १३ लाख असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए । न्यायिक समिति सम्मेलन तयारीमा कामपा न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले कामपाले यही चैत १५ र १६ गते काठमाडौँमा राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्ने तयारी गरेको छ । उक्त सम्मेलनमा सहभागिताका लागि कामपाले सात सय ५२ वटै स्थानीय तहलाई निमन्त्रणा पत्र पठाइसकेको छ । ‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ, पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ,’ उपप्रमुख डङ्गोलले भनिन् । स्थानीय सरकारमा अहिले प्रयोगमा आएको न्यायिक प्रणालीलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ, यसका चुनौतीहरु के–के छन् भन्ने विषयसहित मुख्यगरी चार विषयमा छलफल केन्द्रित रहने छ । सम्मेलनमा मुलुकभरिका पालिका र सम्बन्धित व्यक्तिहरूसहित एक हजारको हाराहारीको सहभागिता रहने अपेक्षा गरिएको डङ्गोलले जानकारी दिइन् । म्मेलनको तयारीका लागि महानगर उपप्रमुख डङ्गोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भइसकेको छ । सम्मेलनले काठमाडौँ विवाद निरुपण घोषणापत्र, २०७९ जारी गर्दै सम्मेलन समापन गर्ने तयारी छ । न्यायिक समितिसँगै सम्बन्धित भएर न्यायिक समितिका बारेमा जनचेतना फैलाउने उद्देश्यले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहयोगमा डकुमेन्ट्रीसमेत तयार गर्दै गरेको पनि कामपाले जानकारी दिएको छ ।रासस

बैंकका शाखा प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन

काठमाडौं । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रबन्धक खतिवडाले सापटी भनेर १० लाख रुपैयाँ लिएकोमा ५ लाख रुपैयाँ फिर्ता गरेर बाँकी ५ लाख रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए । ‘प्रबन्धक खतिवडा मेरै स्कुले साथी हुनुहुन्छ, धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो, पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो, सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ,’ उनले भने । प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट १६ लाख रुपैयाँसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् । प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए । ‘प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्नुहुन्थ्यो । मेरो ओडी खाता हेरेर ३ लाख सापटी मागेपछि दिएँ, ४÷५ दिनपछि फेरि बैंकमा बोलाउनुभयो,’ उनले भने, ‘फेरि मेरै नाममा काटेको ३ लाखको चेक लैजानुभयो, नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु ? सबै लोनको काम गर्दिरहेको छ, त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ, अहिले आएर फसेँ ।’ प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताए । उनले चिनजानका व्यक्तिबाट १ करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् । प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठको २ लाख ८७ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताए । ‘प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो । बैंकका प्रबन्धकले भनेपछि दिनैपर्यो, उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ, बैंककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो, अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ,’ उनले भने । प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ । यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

मन्त्रिपरिषद्को निर्णय : करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार

काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र बङ्गलादेशबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’को समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने र विद्युत् नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । त्यसैगरी, सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने र प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका–१ को करिब दुई सय ८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने र नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्कालाई नियुक्त गर्ने सरकारको निर्णय छ । सरकारले दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने र नेपाली सेनाको एफटिडिको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने भएको छ ।