वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो । ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो । नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए। विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् । स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रुपैयाँ मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । रासस
कर्जा नतिर्ने ऋणीका सवारी साधन लैजाँदै एनएमबि बैंक
काठमाडौं । एनएमबि बैंकले कर्जा सुरक्षणवापत बैंकको नाममा रहेका सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ । बैंकबाट कर्जा लिएका विभिन्न ऋणीहरुलाई धितोमा रहेका सवारी साधन बैंकमा बुझाउन आग्रह गरेको हो । एनएमबि बैंकबाट लिएको कर्जा पटक पटक ताकेता गर्दा पनि निर्धारति सययमा नबुझाएका हुँदा १५ दिन भित्र धितो फिर्ता गर्न आग्रह गरेको हो । यदि तोकिएको समयमा बैकलाई सवारी साधन नबुझाएमा कानून बमोजिम प्रक्रिया अगाडी बढाईने चेतावनी दिएको छ । ऋणी प्रधान ग्लास प्रालिका संचालक नानीमैया प्रधान र अनिष प्रधानलाई सन् २०१८ मा बनेको बा २१ च ६९०० नम्बरको महिन्द्रा एण्ड महिन्द्राको बोलेरो पिकअप फिर्ता गर्न बैंकले आग्रह गरेको हो । यस्तै, जाल्का देवी फुड्सका प्रोप्राइटर प्रविन कुमाललाई सन् २०१७ मा बनेको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको ना ४ च ४०४१ नम्बरको कार्गाे भ्यान, ऋणी रामकृष्ण बसेललाई सन् २०१८ मा बनेको एस लिमिटेडको ग १ त ५७६५ नम्बरको ट्रेक्टर, ऋणी रुपा श्रीस थापालाई सन् २०१७ मा बनेको महिन्द्रा एण्ड महिन्द्राको एम बोलेरो र ऋणी मनोज गुरुङलाई सन् २०१५ मा बनेको ग १ त ३६६२ नम्बरको सोनालिका कम्पनीको ट्रेक्टर फिर्ता गर्न बैंकले आग्रह गरेको हो । यदि उक्त सवारी साधनहरू कसैले अनाधिकृत रूपमा नियन्त्रणमा राखेको देखिएमा कानून बमोजिम आवश्यक कारवाही चलाईने बैंकले बताएको छ ।
नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कूल ६० लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस वापतको ५० लाख २८ हजार ७४१.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस वापतको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ भाग्यमानी ८ जनालाई ११ कित्ता !
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार (आज) बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्याल नक्सालमा बिहान १० बजे बाँडफाँट हुने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार प्रिअलटमेन्टका सबै काम सम्पन्न भइसकेको छ । कम्पनीले फागुन २६ गतदेखि फागुन ३० गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको थियो । बिक्री गरिएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर आज बाँडफाँट गरिनेछ । कम्पनीको आईपीओमा अन्तिमदिनसम्म १४ लाखभन्दा बढी लगानीकर्ताले १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताको दरले बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जना लगानीकर्ताले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी रहेको ८ कित्तालाई १० कित्ताभन्दा बढि आवेदन दिने ८ जनालाई वितरण गरिनेछ । त्यसैले ८ जना लगानीकर्ताले ११ कित्ता सेयर प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात रित्तो हुनेछ ।
युनाइटेड मोदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बुधबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोलि चैत ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा चैत २३ गते रजिष्टार्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यम जुममार्फत बोलाएको छ ।
सगरमाथा जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
सरकारले पनि बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्र समस्या आयो : व्यवसायी
काठमाडौं । सरकारले समेत बैंकमा पैसा राखेर ब्याज खाएपछि अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच भएको छलफलमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले यस्तो बताएका हुन् । ‘पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको हो,’ उनले भने । यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाले दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको बताए । ‘अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ,’ अध्यक्ष गोल्छाले भने । उनले विकास खर्च नबढेसम्म देश अगाडी नबढ्ने पनि बताए । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून बाधक रहेको बताउँदै उनले यसबारे महासंघले सरकारलाई पेश गरेको सुझाव हेरेर सहयोग गर्नु आग्रह गरे । छलफलमा महासंघका अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र रास्वपका दलका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनका लागि दल दर्ताको सूचना
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उपनिर्वाचन हुन लागेको हो । आयोगले आज सार्वजनिक सूचना जारी गरी उक्त समयावधि दिइएको जनाएको छ । विद्यमान कानूनअनुसार सभाको रिक्त रहेको सदस्यका लागि उपनिर्वाचन हुने र निर्वाचनको मिति आयोगले तोक्ने व्यवस्था छ । सोबमोजिम आयोगको चैत ६ गतेको बैठकले ती क्षेत्रमा उपनिर्वाचनको मिति निर्धारण गरेको थियो । आयोगले यस अघि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने गरी राजनीतिक दल दर्ताको कार्य सकाइसकेको छ ।