दुई उद्योगमाथि मुद्दा दायर, ९१३ व्यावसायिक फर्मलाई कारबाही
काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयका अनुसार चितवनमा रहेको खजुरी बिस्कुटको नेपाल प्रालि तथा याक विव्रिग कम्पनीमाथि सम्बन्धित जिल्लामा सो मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए । साथै सो कार्यालयले चालु आवको साउनदेखि फागुनसम्म नापतौल यन्त्रको नवीकरण नगराउने र अटेर गर्ने नौ सय ७३ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमाथि कारबाही गरी जरिवानासमेत गरेको छ । सो अवधिमा कार्यालयले तीन सय ९१ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजतपत्र समेत प्रदान गर्नुका साथै आठ सय १४ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रको नवीकरण गरी कूल दुई हजार एक सय ३२ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्रसम्बन्धी इजाजतपत्र प्रदान गरेको सो कार्यालयबाट उपलब्ध विवरणमा जनाइएको छ । नापतौलसम्बन्धी उपरोक्त कारोबारबाट विगत आठ महिनामा कार्यालयले रु ८० लाख २१ हजार आठ सय ५५ राजस्वसमेत सङ्कलन गरेको छ । रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले आज हेटौँडामा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमनको क्रममा प्रमुख दासले सो जानकारी दिएका हुन्र । चालु आवको साउन महिनादेखि फागुन महिनासम्मको उपलब्ध सो विवरणमा उक्त कार्यालयले २४ पटक एकल अनुगमन तथा २२ पटक संयुक्त अनुगमनसमेत गरेको प्रमुख दासले भने । त्यस्तै कार्यालयले उक्त अवधिमा आफ्नो कार्यक्षेत्रमा रहेको पम्पको छ सय चार नोजलको जाँच तथा तीन सय छ वटा ट्याङ्करको भेहिकल जाँचसमेत गरेको बताइएको छ । साथै सो कार्यालयले प्रत्येक शुक्रबारका दिन उद्योगको उत्पादन र नापतौल यन्त्रसम्बन्धी मोहबन्द प्याकेज तालिमसमेत दिँदै आएको प्रमुख दासले जानकारी दिए । नापतौल विभागले तोकेको मापदण्डविपरीत आफूखुसी उत्पादन नगर्नसमेत सचेत गराउँदै आएको छ । त्यस्तो गरेको पाइएमा पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।
शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती, बिमानसँग गर्यो सहकार्य
साझेदारीका लागि हस्ताक्षर गर्दै खल्तीका रभिन्स पोख्रेल (बाँया) र बिमानका सुरज भट्टराई (दाँया) काठमाडौं । समयसँगै सबै क्षेत्रका सेवा सुविधाहरू स्मार्ट बनिरहेका छन् । आर्थिक कारोबारको विषयमा पनि डिजिटल सिस्टमले निकै ठूलो फड्को मारिसकेको छ । शैक्षिक क्षेत्रमा पनि विद्यार्थी, अभिभावक तथा स्कुल कलेज आफैले पनि पठनपाठन सँगसँगै दैनिक रूपमा विभिन्न कार्य सम्पादन गर्नुपर्ने हुन्छ । जसमध्ये संवेदनशील कार्य हो, फी (शुल्क) व्यवस्थापन । सामान्यतया विद्यार्थी भर्ना भएदेखि पढाइ नसक्दासम्म पटक पटक शुल्कको विषय जोडिन्छ नै । यसलाई मध्यनजर गर्दै डिजिटल वालेट खल्ती र बीआईएम एशोसियसन अफ नेपाल (बिमान)ले ‘खल्ती-डिजिटल शैक्षिक सेवा’ शुरु गर्ने भएका छन् । सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा साझेदारी भई हस्ताक्षर समेत भएको छ । पैसा साथमै बोक्नु पर्ने, फी तिर्नकै लागि काम नै छाडेर बैंक तथा स्कुलमा लाइन बस्नुपर्ने जस्ता अनेकन समस्याहरू विद्यार्थी अभिभावकलाई परिरहेको छ । विद्यार्थी पक्ष मात्र नभई कलेज प्रशासनलाई समेत त्यही कामका लागि मानव स्रोत देखि समय, झन्झट तथा हातबाट पैसाको कारोबार हुँदा रोग संक्रमण हुने, नोट च्यातिने र केही नक्कली पैसाको लेनदेन हुन सक्ने जोखिम रहेको खल्तीका अफिसर रभिन्स पोखरेल बताउँछन् । यस्ता अनेकौं समस्याका समाधानसँगै शैक्षिक क्षेत्रमा आवश्यक डिजिटल सेवा सुविधा खल्तीले दिने संस्थाका बिजनेस हेड निरज कार्कीले बताए । ‘हामीले जुन तरिकाले हाम्रो डिजिटल स्कुल कलेजका लागि सिस्टम बनाएका छौं यसले शतप्रतिशत सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौं,’ उनले भने । सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत केही समयदेखि नै कुनै न कुनै माध्यमबाट प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताए । ‘खल्तीसँगको यो सहकार्यले शैक्षिक संस्था तथा उक्त संस्थासँग सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई यसले थप सहज गराउने विश्वास छ,’ अध्यक्ष भट्टराईले भने । के हो खल्ती-डिजिटल शैक्षिक सेवा ? खल्ती-डिजिटल शैक्षिक सेवाअन्तर्गत कुनै पनि शिक्षित संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सक्नेछन् । सजिलो पेमेन्टसँगै निःशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्यु आर सिस्टम समेत प्रधान गरिने अफिसर रभिन्स पोखरेलले जानकारी दिए । साथै, यो सेवा प्रयोग गर्न पनि सहज छ । कुनै पनि शैक्षिक संस्थाले आफ्नो कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र र आधिकारिक लोगो सहित खल्तीमा सम्पर्क गरेमा बाँकी प्रकृया खल्तीबाटै अघि बढाइने छ । त्यस्तै, खल्तीको डिजिटल स्कुल कलेज सिस्टम इन्टिग्रेट गर्न कुनै शुल्क नलाग्ने खल्तीका तर्फबाट रोजिना चौलागाईंले जानकारी दिइन् । त्यस्तै, खल्तीका सह संस्थापक अरबिन्द शाह पनि शैक्षिक क्षेत्रलाई प्रविधियुक्त र पहुँचमा पुर्याउन कम्पनी निरन्तर लागिपरेको बताउँछन् । साथै, कलेज र विश्वविद्यालयको ढाँचा अनुरूप सिस्टमलाई कस्टमाइज गराउनु खल्तीको अर्को उद्देश्य रहेको पनि उनले बताए । हालसम्म सेन्ट जेभियर्स, ग्लोबल म्यानेजमेन्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट लगायतका अन्य स्कुल कलेज खल्तीमा आवद्ध भइसकेका छन् । उनीहरुले खल्तीको सेवा लिई आफ्नो सिस्टम समेत डिजिटलाइज गरिसकेको जनाइएको छ ।
विद्युत नियमन आयोगले तिला-१ र २ लाई दियो निर्माणको स्वीकृति, वार्षिक २ अर्ब राजश्व संकलन गर्ने लक्ष्य
काठमाडौं । अर्ध-जलाशायुक्त तिला-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि एक अर्ब १४ करोड २९ लाख र तिला-२ बाट एक अर्ब १४ करोड ७ लाख रुपैयाँ वार्षिक राजश्व संकलन गर्ने कम्पनीले लक्ष्य लिएको छ । २९८.७५ मेगावाटको तिला-१ र २९६.७४ मेगावाटको तिला-२ जलविद्युत आयोजनाबाट सो बराबरको राजश्व संकलन हुने कम्पनीले बताएको हो । कम्पनीले मंगलबार विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम सो बराबरको राजश्व संकलन गर्ने लक्ष्य लिएको बताएको हो । दुबै जलविद्युत आयोजना कर्णाली प्रदेश कालिकोट जिल्लामा निर्माण हुने भएका छन् । एस.सी पावर कम्पनीले तिला-१ र तिला-२ निर्माण गर्ने गर्नेछ । कम्पनीका अनुसार प्रति मेगावाट तिला-१ बाट ३ करोड ८१ लाख र तिला-१ बाट ३ अर्ब ८४ लाख रुपैयाँ राजश्व उठ्ने लक्ष्य छ । तिला-१ जलविद्युत आयोजना निर्माणको लागि अनुमानित लागत ४८ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ रहेको छ । सो आयोजना कालिकोटको शुभ कालिका, महावु गाउँपालिका र खाडा चक्र नगरपालिकाका साबिकको पाखा, दाहा, मान्मा, मुग्रह, गेला, सुकटिया तथा भर्ता गाविसमा प्रस्ताव गरिएको छ । यस्तै, अर्को तिला-२ आयोजनाको अनुमानित लागत ४२ अर्ब १० करोड ६६ लाख रुपैयाँ रहेको छ । यो आयोजना खाँडाचक्र नगरपालिका साविकको राचुली, जबिथा, चिलखाय, छाप्रे, गेला, पखा र दाहा गाविसमा प्रस्ताव गरिएको छ ।
नबिल बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा ७० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । ग्राहकले याे सेवा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
कर छल्न अरुको नाममा कारोबार गर्ने धन्दा मौलाउँदै, शंकाको घेरामा रहेकाको नामावली संकलन
काठमाडौं । आन्तरिक राजश्व विभागले कर छलीको आशंकामा छानविन सुरु गरेको छ । पछिल्लो समय कर छली गर्नेको संख्यामा बृद्धि हुन थालेपछि यस विषयमा विभागले छानविन सुरु गरेको हो । तोकिएको समयमा विवरण दाखिला नहुनुको पछाडि गौरकाकुनी कारोबार (कर छली) गरेका हुन सक्ने आशंकामा अनुसन्धान सुरु भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । हामीले अरुको नाममा कारोबार गर्ने धेरै फेला पारेका छौं, ‘अरुको नामबाट कारोबार सुरु गर्ने, आय विवरण नबुझाउने, एक÷दुई वर्ष काम गरेर छोड्छु भन्ने मानसिकता राखेर कारोबार गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘ कारोबार गरेको विषयमा सम्बन्धित ब्यक्तिलाई पनि थाहा हुँदैन, यस्ता कारोबारलाई निरुत्साहन गर्न हामीले आर्थिक वर्षको सुरुवातदेखि नै अभियान नै सञ्चालन गरेर लागि परेका छौं ।’ उनले विभागले पुस मसान्तभित्रै नियमित विवरण नबुझाउने कारदाताको नामावली संकलन गरेर राजश्व कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिइसकेको बताए । ‘हामीले पहिलोे पटक कारवाही गर्न करदाता कार्यालयलाई निर्देशन दिइसकेका छौं, यसअघि डाटा संकलन नै हुँदैन थियो, हामीले पहिलो पटक विवरण नबुझाउने कारदाताको विवरण सबै संकलन गरिसकेका छौं,’ उनले भने, ‘कुन करदाताको कति कारोबार भएको छ, विवरण बुझाएको छ कि छैन भन्ने सबै तथ्यांक कार्यालयलाई उपलब्ध गराइसकेका छौँ, अनलाईबाट कार्यालयले हेरेर छानविन सुरु गर्छ, गलत गर्नेलाई कारवाही गर्छौं ।’ उक्त विवरण सम्बन्धित राजश्व कार्यालयमा रहेका अधिकृत स्तरका कर्मचारीले मात्र हेर्न सक्ने प्रणालीको विकास गरेको उनको भनाइ छ । उनका अनुसार अधिकृत स्तरका कर्मचारीहरुलाई विवरण दाखिला नगर्नेलाई भेटेर सहजीकरण गरेर विवरण बुझाउने समय दिने काम पनि भइरहेको छ । ‘पहिलो चरणमा ताकेता गर्न समेत वेवास्ता गर्नेहरुलाई छानविन सुरु गर्न हामीले निर्देशन दिइसकेका छौँ’, उनले भने, ‘पर्याप्त समय दिँदा समेत विवरण नबुझाउने करदाताको हामीले कार्यालय स्थलमै गएर छानविन गरि कारवाही सुरु गर्छौं ।’ आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ । उनका अनुसार पछिल्लो समय राजश्व संकलनमा केही सुधार हुँदै गएको छ । विभागले हालसम्म ३ खर्ब बढी राजश्व संकलन भएको जनाएको छ । सरकारले फागुन मसान्तसम्म ४ खर्ब ३७ अर्ब ६६ करोड ७० लाख २७ हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरेकामा हालसम्म लक्ष्यको ६४.९० प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।
नागरिकताको लागि नक्कली बुवा बन्न ५ लाख रुपैयाँ
काठमाडाैं । नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । अनुसन्धान कार्यालयको टोलीले चैत्र ५ गते दिउँसो काठमाडौंको बबरमहलबाट कृष्णबहादुर कटवालसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले निश्चित रकमको चलखेल गरी विभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुटा लिखित त्था नक्कली सूचनाका आधारमा चैत्र ५ गते कटुवालालई पक्राउ गरेको थियो । निज कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुसँगबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाईसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजातहरु किर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित फेला पारी निजहरुलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुरमा आवश्यका कारबाहीका लागि जिल्ला परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । उनका अनुसार निज कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैर नेपाली विशेषगरी तिब्बतीयन शरणार्थीहरुको सक्कली नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरुलाई नक्कली बुबाको रुपमा उपस्थित गराइ सनाखत गराउने गरेको पाइएको छ । पक्राउ परेका न्युल्केश श्रेष्ठलाई नक्कली बुबा बनाउने गरेको खुलेको छ । श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बतीयन व्यक्तिहरु सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कली नागरिकता बनाउन नक्कली बुबा बनि सहयोग गरेको खुलेको छ । उनले नक्कली बुबा बनेर ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन क्याम्पमा नै बस्दै आएका र २०७९ साल फागुन ३० गते जि.प्र.का. काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा १७ राखि ना.प्र.प.नं. २७ ०१ ७९ १५९०१ को नेपाली नागरिकता लिएको प्रहरीले बताएको छ । यसैगरी नागकिरता लिएका अन्य २५—३० जनासक्कली नागरिकता प्राप्त भएको र सोबारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा ४७ वर्षका कृष्णबहादुर कटवाल, वर्ष ७० का न्युल्केश श्रेष्ठ, हिरालाल शिवाकोटी (४९), लोब्साङ ठिन्ले (वर्ष २५) र ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयको छाप ४ थान, इ पासपोर्ट एक्लिकेशन फर्म २ थान, नागरिकता, जन्मदर्ता, लाइसेन लगायतका परिचय पत्रहरुको फोटोहरु ५ सय थान, नेपाली नगद ३ लाख ५० हजार ५ सय र ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, वर्ष ३२ का वासुदेव पाण्डे र २६ वर्षर्की शिवानी तामाङ रहेको प्रहरी उपरीक्षक राठौरले बताए । उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटिएम १४ थान र एसर कम्पनीको ल्याप्टप १ थानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन आइएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गरेका थिए ।
१५ अंकले घट्यो सेयर बजार, एक अर्ब ३३ करोडको कारोबार
काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ । आज माया खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ । प्रति सेयर २६.५० रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयर मूल्य २९२ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार बुधबार ३७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार सबैभन्दा बढी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् । आज इन्स्योरेन्सका सेयरधनीले ९ करोड १९ लाख रुपैयाँको कारोबार गरेका छन् । यस्तै, आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा बोटलर्स नेपाल तराई रहेको छ । कम्पनीको सेयरधनीले प्रति सेयर ९६८ रुपैयाँ गुमाएका छन् । कम्पनीको अन्तिम सेयर मूल्य ११ हजार ७३२ रुपैयाँ कायम भएको छ ।
सिन्धुलीमा सामुदायिक होमस्टे पर्यटक लोभ्याउँदै
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ ढुङ्ग्रेभञ्ज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित यस गाउँमा ३० घरघुरीको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा होमस्टे (घरबास पर्यटन) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भएको भद्रकाली सामुदायिक होमस्टेमा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लट्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ बाट सुरु भएको होमस्टे कोभिड कहरका कारण दुई वर्ष थलिएकामा अहिले पुनः पुरानै लयमा फर्किंदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा रमाएर जाने गरेको उनले सुनाए । गत माघमा भक्तपुरबाट एक कलेजबाट २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन भनी आएको थियो । यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यतामा रमिरहन मन लाग्यो भनेर चार दिन बसेर फर्किएको अध्यक्ष थापा मगरले सुनाए । ‘होमस्टेमा आउने पर्यटकहरु यहाँको स्थानीय शुद्ध परिकारहरु खान रुचाउँछन् । स्थानीय जातका कुखुरा, ढिँडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ’, उनले थपे, ‘एकपटक आएका पाहुना पटकपटक आउनुहुन्छ, यहाँको आत्मीय अतिथि सत्कार, होमस्टे स्थलबाट देखिने दृश्य र जैविक परिकारको स्वादले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।’ होमस्टेमाथि रहेको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ घरधुरीका बासिन्दाले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादनहरु बिक्री गर्ने गरेका छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकारहरु यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रुहरु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिरहरु खिचेर, खिचाएर पुनः यात्रा तय गर्दछन् । पर्यटकहरु होमस्टेमा नै आएर बस्छन् । एक पटकमा ५० जनासम्म अटाउने क्षमता भएको यस होमस्टेको सेवा शुल्क महङ्गो छैन । अतिथि व्यवस्थापन खर्च रु २०, स्थानीय प्रजातिका कुखुरासहित खाना सेटको दुई सय ५०, प्रतिकोठाको पाँच सय (एउटा कोठामा दुईवटा पलङ) र बिहानको खाजा एक सयमा (अन्डा, पुरी, तरकारी, सेल, फुलाउरा) लिन सकिन्छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारीक वातावरण दिएरले सहजता मात्रै थपिदिएको छैन । स्थानीयवासीलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायमा भन्दा होमस्टेमा फाइदा र लगानी सुरक्षित देख्नुहुन्छ । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिनुभएको र अन्य जिल्लाका होमस्टेहरुको अवलोकन, भ्रमण गर्नुभएको उहाँ ढुङ्ग्रेभञ्ज्याङवासीको होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त हुनुहुन्छ । छोटो समयमा ४० जना अतिथिहरुको सत्कार गरेर रु २३ हजार चार सय ९० कमाई गरिसकेको उनले बताए । उहाँले भन्नुभयो, “ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान साबित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाडी बजार पुग्नुको विकल्प थिएन । राजमार्ग निर्माण कार्य अगाडि बढेपछि अन्य ठाउँका व्यक्तिहरु आएर किराना पसल चलाएका थिए । लगानी गर्न सक्ने दुई÷चारजना गाउँलेले उनीहरुबाट सिकेर पसल चलाउन सुरु गरे । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही परुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे । राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घरघरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयवासीमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थाल्यौँ । तीन वर्षअघि मात्रै सबै दृष्टिकोणबाट पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गर्ने निर्णयमा हामी पुग्यौँ । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको सहयोग मिल्यो । ‘घर धेरै भए पनि एउटा परिवार बनेर हामीले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, कुखुरालगायतका अन्य परिकारहरु, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथिहरु यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरू व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’ होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिनुभएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गर्नुभएको उहाँलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापन शैलीमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । स्थानीय होमस्टे सञ्चालक विमला थापामगरले २७ पर्यटकको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् । अतिथिहरुले लिएको सेवा र सुविधाअनुसार शुल्क बढी र कम हुने उनको भनाइ छ । चुलो र चौकोमा मात्र सीमित रहेकाे उनी होमस्टेमा सक्रिय भएर लागेपछि घर, परिवारको खर्च आफ्नै कमाईले धान्न सक्ने भएकी छिन् । अब उनलाई चुरापोतेका लागि पनि श्रीमान्सँग मागेर चलाउनुपर्ने बाध्यता छैन । “व्यवसाय गर्ने र बस्ने दुवै पक्षलाई होमस्टेमा फाइदा नै छ, असल संस्कार, खानपान भएका व्यक्तिहरु होटल, रेस्टुरेन्टभन्दा होमस्टेमै खाना, बस्न मन पराउँछन्”, उनले भनिन् । चन्द्रकुमारी जर्गा मगरलाई आफ्नो होमस्टेमा अतिथि आउँदा अध्ययनका लागि काठमाडौँ गएको छोरो पढाइ सकेर घर फर्किएको जस्तो लाग्छ । ‘अतिथिहरु हामीले खाने परिकारमा नै खुसी हुन्छन् । जुठेल्नोमा लगाएको सागसब्जी मीठो मानेर खान्छन् । उहाँहरुका लागि बजारबाट सामान किनेर ल्याउनु परेको छैन’, उनले भनिन् । पहिलोपटक अतिथि आउँदा उहाँलाई अत्यास लागेको थियो । श्रीमान्ले पत्याउनु भएको थिएन । नयाँ व्यक्तिसँग बोल्न डराउने मात्रै कहाँ होइन, होमस्टे सुरुआत गरेपछि पहिलो पटक अतिथि आउँदा थरथर कामेको उहाँलाई अहिले जस्तै लाग्छ । तर, अहिले उहाँमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उहाँलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइ गर्नेदेखि अतिथि सत्कार, थरीथरीका परिकार बनाउन सिकाएको छ । छ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन उहाँ आफँैले भ्याइरहनुभएको छ । यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । यसले पाहुनाले पनि जैविक र ताजा खान पाउने र स्थानीयले पनि सजिलै राम्रो आम्दानी लिन सक्ने उनको धारणा छ । होमस्टेमा चार दिन बसेर फर्किनुभएकी भक्तपुरको शुभेच्छा भट्टराईले भद्रकाली सामुदायिक होमस्टेको सत्कार, माया र हेरचाहजस्तो अरू ठाउँमा आफूले नपाएको बताइन् । यहाँको स्वच्छ वातावरण, हावापानी, गाउँलेको आत्मीय व्यवहार र भरिपूर्ण प्राकृतिक सुन्दरताले लोभ्याइरहन्छ । ‘एक दिनका लागि आएका यस ठाउँले चार दिनसम्म भुलायो । पुनः हप्ता दिन बस्ने गरी आउन मन छ, समय मिलाएर आउँछु’, उनले भनिन् । स्याङ्जाको सिरुबारीबाट २०५४ मा सुरु भएको होमस्टेलाई नेपाल सरकारले पर्यटन वर्ष मनाउनका लागि होटलहरुले मात्रै धान्दैन, गाउँगाउँमा होमस्टे खोल्नुपर्छ भनेर २०६७ सालदेखि संस्थागत दर्ता भएर सञ्चालन गर्न स्वीकृत गरेको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईंका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टेहरु संस्थागत दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालन भएको पाइन्छ । बागमती प्रदेशमा मात्रै एक सय २५ वटा होमस्टेहरु संस्थागत रुपमा दर्ता भएका छन् । यसमध्ये ७५ वटा होमस्टे सामुदायिक र अन्य निजी रुपमा चलेका छन् । राज्यको सम्बन्धित निकायमा कानुनी प्रक्रिया पूरा नगरी होमस्टे चलाउनेहरुको सङ्ख्या पनि धेरै रहेको छ । धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिकलगायत सबै पक्षबाट होमस्टे प्रभावकारी देखिए पनि यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा तीनै तहका सरकार चुकिरहेका उहाँको आरोप छ । अतिथि सत्कार, स्थानीय जैविक उत्पादन र संस्कृतिलाई व्यावसायिक बनाउनु, स्थानीय मौलिक कला प्रदर्शन तथा प्रवरद्धन गर्नु होमस्टेलाई विकासको एउटा आधार बनाउन सकिन्छ । रासस