एकैपटक बैंक र रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाइने
काठमाडौं । बैंक तथा वित्तीय संथाका सञ्चालक कायम रहेका ब्यक्ति एकैपटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका छन् । कुनै बैंक तथा वित्तीय संस्थामा बहाल सञ्चालक रहेको ब्यक्ति एकै पटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै अन्य इजाजतपत्रप्राप्त/अनुमतिप्राप्त संस्थामा संलग्न हुन नपाइने व्यवस्था गरेको हो । ‘राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक वा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक÷पदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकले भनेको छ । साथै, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीको सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहन नपाउने व्यवस्था गरेको हो । तर, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उक्त व्यवस्थाले बाधा नपुर्याउने बताइएको छ । उक्त व्यवस्था २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगोमा सेयर बेच्दै एनएमबि बैंक
काठमाडौं । एनएमबि बैंकले दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१.४० रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता ४८.६ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु जयनारायण नेपालको नाममा रहेको १५ हजार ४०१ कित्ता र मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३०५ कित्ता गरी कूल ६७ हजार ७०६ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकको उक्त सेयरमा चैत १६ गतेदेखि चैत २३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १८० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर संस्थापक सेयरधनी तथा अन्य ब्यक्ति वा संथाहरुले पनि खरिद गर्न पाउनेछन् । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
मेन्छियाम हाईड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म १ करोड ८ लाख ५१ हजार ७ सय रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो । कम्पनीले बिक्री गरेको सेयरमा रितपूर्वक परेको आवेदनलाई चैत ७ गते बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । सेयर बाँडफाँटको नतिजा क्यापिटलको वेबसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टबाट हेर्न सकिनेछ । साथै सम्पूर्ण सि–आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।
मोदी ईनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयलाई समय थप
काठमाडौं । मोदी ईनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आवेदन दिने समय थप गरिएको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि अन्तिम दिन हो । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले अब चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आज चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका ३ र ८, मोदी गाउँपालिका २, ५ र ६ का स्थानिय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो । साथै, १० प्रतिशत अर्थात् ४ करोड ३५ लाख रुपैयाँको ४ लाख ३५ हजार कित्ता सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पूर्ण आवेदन नपरेमा चैत १६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
सानिमा रिलायन्सको एकीकृत कारोबार शुभारम्भ, नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने अपेक्षा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुभारम्भ गर्न लागेका हुन् । मर्जरमा जानको लागि यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १:१ स्वाप रेसियोमा एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । कुन सूचकमा कत्रो बन्यो कम्पनी ? एकीकृत कारोबार भएपछि कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, गत माघसम्मको तथ्यांक अनुसार कम्पनीको प्रथम बीमाशुल्क कूल एक अर्ब ६७ करोड र कूल बीमाशुल्क ३ अर्ब २६ करोड नाघ्ने छ । सानिमा लाइफले गत माघसम्ममा ४७ करोड ५२ लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने रिलायन्स लाइफले ५२ करोड १५ लाख रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, कूल बीमाशुल्क पनि सानिमा लाइफको एक अर्ब ४८ करोड र रिलायन्स लाइफको एक अर्ब ७८ करोड रुपैयाँ आर्जन भएको थियो । मर्जपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बन्नेछन् । त्यस्तै, नयाँ बन्ने कम्पनीको सञ्चालक समितिसँगै अध्यक्ष र वरिष्ठ डीसीईओको विषयमा भने आज बस्ने कम्पनी सञ्चालक समितिको बैठकले निर्णय गर्ने कम्पनी श्रोतले बतायो । नयाँ सिनर्जीले व्यवसायसँगै प्रतिफल पनि बढ्ने मर्जर पश्चात् नयाँ सिनर्जीका साथ बन्ने कम्पनीले भविष्यमा थप राम्रो प्रतिफल प्रदान गर्ने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बताए । त्यस्तै, सानिमा लाइफका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले दुबै कम्पनी एक आपसमा गाभिए पश्चात सञ्चालन हुने कम्पनीले नेपालको बीमा क्षेत्रमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्ने बताए । त्यसको लागि आवश्यक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने, संस्थागत एवम् व्यवसायिक सुशासन, पारदर्शिता जस्ता नीतिहरु अवलम्बन गर्ने, सेवाग्राहीको आवश्यकता अनुरुपको नवीन बीमा योजनाहरु तर्जुमा गर्ने लक्ष्य रहेको उनको भनाई छ । साथै, एक आपसमा गाभिए पश्चात् कम्पनीको पुँजी वृद्धिको साथै कम्पनीको गुणस्तर, व्यवसायमा पनि बढ्ने उनले बताए । दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्रकै दोश्रो मर्जर हो । यस्तो बन्यो लोगो : कलर कम्बिनेस बराबर, स्लोगन रिलायन्सकै मर्जरपछि बनेको सानिमा रिलायन्स कम्पनीको लोगोमा सानिमा लाइफ र रिलायन्स लाइफ दुबै कम्पनीको लोगोको मिश्रण छ । दुबै कम्पनीको कर्पोरेट कलर कम्बिनेस बराबर रुपमा गरिएको देखिन्छ । स्लोगन भने रिलायन्स लाइफकोलाई नै निरन्तरता दिइएको छ । रिलायन्स लाइफको ‘खुलेर जिऔं’ भन्ने स्लोगन अब नयाँ कम्पनी सानिमा रिलायन्सकोमा देख्न सकिन्छ । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको स्लोगन भने ‘निश्चिन्त भवः’ थियो ।
कुमारी क्यापिटलको सुनौलो लगानी योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी क्यापिटलले आज चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो । क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गर्नेछ । साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गरेको हो । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गर्नेछ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
सरकारको ५१ प्रतिशत स्वामित्व भएका संस्थाबाट डलर साट्न पाइने
काठमाडौं । राष्ट्र बैंकले नेपाल सरकारको स्वामित्व रहेका संस्थाहरुबाट विदेशी मुद्रा साट्न सकिने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सार्वजनिक निकायहरुबाट विदेशी मुद्राको सटही सुविधा उपलब्ध हुने व्यवस्था गरेको हो । माल वस्तु वा उपकरण आयात, औषधी तथा औषधीजन्य सामग्री, सदस्यता शुल्क, सेवा शुल्क, मर्मत शुल्क, विज्ञापन, वायुयानहरूको भाडा वा लिज वा लिज पर्चेजको भुक्तानी, इन्जिनको रेण्टल चार्ज, फेरी फ्लाईट खर्च, जहाजको इन्जिन तथा पार्टपुर्जाहरूको मर्मत तथा ओभरहल शुल्क, स्टल भाडा, प्रसारण सेवा शुल्क, ट्रान्सपोण्डर शुल्क, भीस्याट शुल्क, डाँक सेवा शुल्क, छपाई शुल्क, डेमुरेज चार्ज, डिटेन्सन चार्ज, कानूनी सेवा शुल्क, दैनिक तथा भ्रमण भत्ता, परामर्श सेवा शुल्क, प्राविधिक सेवा शुल्क, नेपाली सेनाको हकमा विभिन्न शान्ति मिशनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरण, निर्माण कार्यको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा सरकारको ५१ प्रतिशत स्वामित्व भएका संस्थाबाट सहजै गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तर, नेपाल टेलिकमको हकमा सिग्नलिङ, इन्टरकनेक्शन, ब्यान्डविथ, रोमिङ, सदस्यता शुल्क लगायतका दूरसञ्चार सम्बन्धी सेवाहरूको विदेशमा भुक्तानी पठाउँदा अमेरिकी डलर ७५ हजार वा सो बराबरको हुने विदेशी मुद्रा राख्नुपर्ने व्यवस्था हटाएको छ । भारतमा भारतीय रुपैयाँमा मात्रै भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक खरिद कानून लागू हुने सार्वजनिक निकायहरुले वस्तु, सेवा, परामर्श, निर्माण कार्य आदि खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी छनौट भएका नेपाली बोलपत्रदातालाई समेत परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न सक्नेछ । त्यस्तो सटही सुविधा वाणिज्य बैंकमार्फत प्राप्त गर्न सक्ने व्यवस्था गरेको हो ।
भारुमा निर्यात गर्दा नेपाली रुपैयाँ खातामा जम्मा गर्नुपर्ने
काठमाडौं । नेपालबाट विदेशमा निर्यात गरेको वस्तुबाट प्राप्त रकममा विभिन्न कागजातहरु पुरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र जारी गर्दै नगद रकम भित्र्याउँदा विभिन्न प्रावधान लागू गर्नुपर्ने बताएको हो । नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट सेवा उपलब्ध गराए वापत बैंकिङ्ग प्रणालीको माध्यमबाट (नगद बाहेक) रकम भित्र्याउँदा कागजातहरु यकिन गरी बैंक तथा वित्तीय संस्थाले सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, सेवा आयातकर्तालाई जारी गरिएको बीलबीजक वा खरिद आदेश र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था लगायत अन्य प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरुको पालना भएको÷पालना हुने सम्बन्धी निर्यातकर्ताको स्वघोषणा गरेको हुनुपर्नेछ । निर्यातको भुक्तानी एसडब्लूआइएफटी, ड्राफ्ट/टी.टी. लगायत विद्युतीय भुक्तानीका उपकरणमार्फत् प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तर, भारतीय रुपैयाँमा भएको निर्यातको हकमा भने नेपाली रुपैयाँको खातामा मात्र जम्मा हुनेछ ।