इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा
काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन् । इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले ईक्यान कसरी विकास गर्छ र हामी कहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।’ उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् । आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्,‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’ केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरि घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ । पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको निर्वाचन आगामी असार ३० मा हुँदैछ ।
एसईई पछि पढ्ने विषय कसरी छनोट गर्ने, कसको सहयोग लिन सकिन्छ ?
काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय माध्यमिक शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गरेको पनि पाइन्छ । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आँफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोसिस गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सहि सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईई पछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । त्यस्तै, प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुलको पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आँफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुले पढ्ने विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्ने र उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको आचार्य बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सिमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर पढ्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै ऐच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न पनि सक्छन् । युवा राजनीतिकर्मी तथा शिक्षा क्षेत्रका अभियन्ता प्रदिप पाण्डेले विद्यार्थीहरुले विषय छनोट गर्दा मुख्यकुरा आफ्नो रुचीको विषयालाई ख्याल गर्नुपर्ने बताउँछन् । ‘पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा मज्जा आउँछ ? के काम गर्दा सामाजिक सञ्जाल चलाउन पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षकको र अभिभावकको सहयोग लिन पनि सक्नुहुन्छ’, पाण्डेको सुझाव छ ।
ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत विमानस्थलबाट पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राउत तत्कालिन समयमा भूमि सुधार मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । उक्त जग्गा प्रकरणमा तत्कालिन समयमा राउतको संलग्नता देखिएको छ । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन्
बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित, ४५ लाखको क्षति
बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पु¥याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए । ‘बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको’, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ । ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख बराबरको क्षति पु¥याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ । बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए । हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत तीन अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ । रासस
गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर
काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे कायम भएका छन् । यस्तै सञ्चालकहरुमा माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी भएका छन् भने स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।
वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर गएकाले समस्या आयो : अर्थमन्त्री महत
फाइल तस्वीर काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको ऋण दायित्व बढेको र खर्च गर्ने क्षमता घटेको बताएका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सर्वसाधारणमा पुँजी प्रवाह बढाउन सरकारले काम गरिरहेको बताए । ‘धेरै माध्यमबाट सर्वसाधारणमा पुजि प्रवाह गर्न सरकारले काम गरिरहेको छ । अब कागजका आधारमा भन्दा उत्पादननको आधारमा कृषि कर्जा प्रदान गर्नेतर्फ ध्यान दिइने छ’, उनले भने । संस्थाको मर्जरले खर्च घटाएर फाइदा बढाउन सहयोग गर्ने भन्दै मर्जभएको लघुवित्त आगामी दिनमा ७७ जिल्लामै पुग्ने र ग्रामीण क्षेत्रमा गरिबी घटाउन योगदान गर्ने अपेक्षा अर्थमन्त्रीले व्यक्त गरेका छन् । पछिल्ला दिनमा वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर जान थालेपछि समस्या देखिएको अर्थमन्त्री महतले बताए । ‘वित्तीय अवस्था कमजोर भएका व्यक्तिलाई कर्जा वा ऋण प्रवाह गर्दा ब्याज महङ्गो हुन थालेको छ । एउटा तहबाट लक्षित बर्गमा कर्जा पुग्दा ब्याज महङ्गो हुन पुगेको छ । अब यसलाई समाधान गर्नु पर्छ’, मन्त्री महतले भने ।
अदालतबाट आरोप प्रमाणित नहुँदासम्म पक्राउ नगर्न व्यवसायीको माग
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठनले अदालतले आरोप प्रमाणित गरेपछि मात्रै व्यवसायीलाई पक्राउ गर्न माग गरेको छ । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र त्रसित भएको बताएको छ । मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहेको र व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ । कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने उद्योगी व्यवसायीका छाता संगठनको भनाइ छ । ‘कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ । आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्रले आग्रह गरेको छ ।
सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने
काठमाडौं । सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताए । उनले प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी, डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यवसायीक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरुमा सुझाव पेश गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन भूमिका निर्वाह गर्नुपर्नेमा उनिहरुको जोड दिए । नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्ष बिशाल गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेशसरकारबिच साझेदारी सम्झौता, भिडियो प्रर्दशनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धी, वित्तीय पँहुच र साक्षरता र बैंक तथा वित्तीय संस्थाहरुको प्रवद्र्धनलगायतका विषयमा अर्थपूर्ण छलफल र निष्कर्ष निकालिने जानकारी दिए । सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नती सहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पुर्याउने गरी उच्चस्तरीय संजालको निर्माण गर्न व्यवसाय शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । स्थानीय र प्रदेशस्तरमा उद्यमशीलता प्रवद्र्धनका लागि प्राथमिकता प्राप्त क्षेत्रको पहिचान, सो को राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विद्यमान अवसर र बजार अवस्थाबारे तथ्यपरक प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन कार्यान्वयनका लागि ३ तहकै सरकारसँग पहल गर्ने व्यवसाय शिखर सम्मेलनको उद्देश्य रहेको छ । समग्र उद्योगी/व्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका सम्वन्धमा स्थानीय, प्रदेश र संघीय सरकारको उच्च नेतृत्वसँग संवाद गरी समाधानका लागि पहल गर्ने, सरकार र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितिमा उद्यम दर्ता तथा परामर्श केन्द्र सञ्चालन गर्ने, वित्तीय संस्थाबाट उत्पादन/रोजगार/निर्यातमुलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्थानीयस्तरका उद्यमीहरुले उत्पादन गरेका नेपाली उत्पादनको प्रचारप्रसार र प्रवद्र्धनका लागि सहयोग पुर्याउने, र स्थानीय प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटको दिशानिर्देशबारे छलफल गरी प्राप्त सुझावहरु सम्बन्धित निकायहरुलाई पृष्ठपोषण गरिने छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाबिचको दुरी कम र विश्वासनियतालाई प्रगाढ बनाउँदै सरकारले ल्याएको बजेट र कार्यक्रमलाई लगानीकर्ता/उद्यमीमैत्री बनाउन पहल गर्ने, हरेक स्थानीय तहमा वित्तीय संस्थाको पँहुच अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा लगानी प्रवद्र्धन, प्रदेशभित्र दिगो लगानीको वातावरण निमार्ण गर्न पहल गरिने छ । दुई दर्जन भन्दा बढि सरोकारवाला संस्थाहरुको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलनहरु आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढि वक्ता र करिव ३०० जना उद्यमी/व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने छ ।