विकासन्युज

नेपालद्वारा बहराइन १० विकेटले पराजित

काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो । नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सिता रानामगरले अविजित २ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिएन भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुवर, पूजा महतो र रुविना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।

आइएनजी स्किल एकेडेमीले वीरगञ्जमा आयोजना गर्‍याे प्रविधि प्रदर्शनी

काठमाडौं । आइएनजी स्किल एकेडेमीले वीरगञ्जको टाउन हल पार्टी प्यालेसमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा सफल व्यवसाय सुरु गर्न र प्रविधिको सहायताले त्यसलाई बढाउन गरेको सहयोगको बारेमा भएको अभिमुखीकरण चाखलाग्दो भएको कार्यक्रममा सहभागी आयुष श्रेष्ठले बताए । वीरगञ्जनको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब १५ सय विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

पशु बीमामा कृषकको आकर्षण

दमौली । तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा  १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमबाट दुई सय ७१ कृषक लाभान्वित भएका छन् । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम तीन सय १८ बङ्गुरको बीमा गरिएको थियो । बीमाका लागि  ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने  १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच सय ६४ गाई, चार सय ७८ भैँसी, एक हजार चार सय ८४ बाख्रा, २५ हजार छ सय ५० कुखुरा, तीन सय १८ बङ्गुरको बीमा गरिएको छ । जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने छ । ‘किसानले बीमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ’, प्रमुख डा. श्रेष्ठले भने, ‘कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।’ पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए । ‘बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ’, डा. श्रेष्ठले भने, ‘क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।’ बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, ‘पशुको मृत्यु भएको खण्डमा बीमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।’ रासस

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकले उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ । न्याय परिषद्को यही भदौ १० गतेको बैठकले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । समितिको बैठक ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको थियो ।

हामीलाई एयरपोर्ट पनि चाहिएको छ, विदेश पनि जानुछ, अनि भीड लाग्यो भनेर हुन्छ ?

अहिले विदेशीने व्यक्तिहरुको भीडलाई देखाएर ठूलो मतभेद र बहस हुने गरेको छ । सरकारले विदेश जान निरुत्साहित भन्दा पनि प्रोत्साहन गर्यो भन्ने धारणा पनि कतिपयको छ । फ्रि भिसा फ्रि टिकट सरकारले ल्याएको भन्ने बुझाइ पनि धेरैको छ । यो कार्यक्रम सरकारको होइन । यो आप्रवासन सम्बन्धीको एउटा सिद्धान्त नै हो । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले जादा खर्च नलाग्ने । त्यसको जति खर्च आउँछ त्यो सबै रोजगारदाता कम्पनीले ब्यहोने भनिएको हो । व्यक्तिमाथि थप भार नपरोस भन्ने मात्र हो । सिद्धान्त लिनु गलत होइन, सिद्धान्त विश्वव्यापी रुपमा र वैदेशिक रोजगारसम्बन्धी मान्यतामा आएको हो यो निती । तर अब हामीले सेवा शुल्क केही लाग्ने विषयमा छलफल भइरहेको छ । अहिले पनि साउदी र कतारका लागि १० हजार रुपैयाँ सेवासुविधा लाग्ने भनिएको छ, मलेसिया तथा अन्य मुलुकमा जाँदा श्रमिकले पैसा बुझाएको विषय धेरै छ । तर, त्यो कानुनी छैन । त्यो कानुनी नभएपछि सम्बन्धित कम्पनीले आफ्नो आम्दानीमा देखाउन पाएन । हामीले पछिल्लो समय यी विषयमा छलफल गरिसकेका छौं । हामीले न्यूनतम सेवा शुल्क तोक्कौँ, ताकि मानिसलाइ मार नपरोस् । मलेसिया जानकै लागि ३ लाख रुपैयाँ खर्च नलागोस्, युरोप जानुछ ५/७ लाख नगालोस, जापान जानुछ, ८ लाख रुपैयाँ नलागोस् । जति लाग्ने हो त्यति मात्र लागोस् । यसका केही सिद्धान्तहरु छन्, जस्तै भारत, फिलिपिन्स, वंगलादेश, भेतनाम लगायतका देशमा कतै एक महिनाको तलव, कतै डेढ महिनाको तलब त कतै ८०÷९० हजार रुपैयाँभन्दा कम नहुने गरी रेगुलेट गरिएको छ । तर, हामी त्यसो भनांैला, त्यो शुल्क व्यवसायीले देखाउलान् , तर, बाँकी शुल्क नदेखाउँदा झन ठूलो खर्च होला कि भन्ने हाम्रो बुझाइ छ । जो कामदार जाँदैछ उसले बैंक मार्फत नै पेमेन्ट गर्ने, उसलाइ जुन पैसा चाहिन्छ त्यो पैसा नै बैंक तथा वित्तीय संस्थाले सिधै भुक्तानी गर्ने र श्रमिकले उता भुक्तानी गर्ने, म्यानपावर कम्पनीले सहजीकरण गर्नेमात्र गर्नेगरी काम गर्न सकिन्छ कि भनेर हामीले आदर्श कल्पना गरेका छौं । तर, वैदेशिक रोजगारीमा जाने श्रमिक, म्यानपावर कम्पनीलाई अहिले भैरहेको कामलाइ ठ्याक्कै रोकेर अर्काेमा जानलाई असहयोग हुने हामीले अनुभूति गरेका छौं । कानूनमा त तालिम नलिई वैदेशिक रोजगारीका लागि विदेश जान पाइँदैन भनिएको छ, जानका लागि कुनै न कुनै सीप सिकेको हुनु पर्छ । तर, हामीले तालिम दिन सकेका छैनौं । अभिमुखीकरणसम्म १÷२ घण्टा दिएका छौं । नियममा २ दिन दिनुपर्छ भनिएको छ । महिलाहरुका लागि ५÷७ दिनको अभिमुखीकरण गर्नु पर्छ भनिएको छ, त्यसका लागि हामीले पे पनि गरेका छौं तैपनि अभिमुखीकरण नै नगरी गैरहेको अवस्था छ । वैदेशिक रोजगारीमा जाने भत्र्ति प्रणाली छ, यसलाई व्यवस्थित गर्नुछ । यो अलि अव्यवस्थित गरेको मैले पाएको छु । म श्रम मन्त्रालय आएको करिब साढे २ महिना भयो, तर मैले घटनाहरु सुन्दा एकदमै अव्यवस्थित भएको महसुस गरेको छु । यस विषयमा रोजगार व्यवसायीहरुसँग छलफल भैरहेको छ । रोजगार व्यवसायीहरुभन्दा बाहेकबाट अहिले अन्यत्रबाट धेरै वैदेशिक रोजगारीका लागि गएको पाइएको छ, उनीहरुलाई कसरी व्यवस्थित गर्नेभन्ने तर्फ हामीले ध्यान केन्द्रीत गरेका छौँ । अर्थतन्त्रको एउटा मूल प्रवाहमा वैदेशिक रोजगारी छ, अब हामी राजश्व आएन सरकार चलाउन गाह्रो भयो भनिरहेका छौँ । राजश्व उठाउनका लागि आयात गर्नुपर्याे, आयातका लागि विदेशी मुद्राको आवश्यक पर्याे । विदेशी मुद्रा गत आर्थिक वर्षमा ऐतिहास रुपमै बढी छ । हाम्रो आयात पनि विदेशी मुद्राको सञ्चिति सरह छ भनेपछि सम्पूर्ण आयातमा कतै न कतै वैदेशिक रोजगारको आय जोडिएको छ । वैदेशिक रोजगारीको क्षेत्रको आय अहिले एकदमै ठूलो क्षेत्र भैसक्यो । यसलाई व्यवस्थित गर्न सकियो भने मानिसहरु ठगिने कम हुन्छ । सरकारले वैदेशिक रोजगारीका लागि प्रोत्साहन गरेको छैन । पहिले वैदेशिक रोजगार प्रवद्र्धन कार्यक्रम थियो । तर, अहिले त्यो खारेज भैसक्यो । अहिले जति नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिनुभएको छ, ती सबै मानिसहरुलाई नेपालमा नै काम पुग्ने गरी रोजगारी सिर्जना गर्न हाम्रो अर्थतन्त्र बनिसकेको छैन । तर, धेरै काम यहाँ पनि छ । अहिले नै पनि धेरै कामहरु गर्नका लागि यहाँ नै पर्याप्त पनि छ । निर्माण व्यवसायीहरुले कामदार नै पाएनौँ भनिरहनुभएको छ । जसरी कामहरु असरल्ल छन्, बाटोहरु बनेका छैनन्, निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीहरुले कामदार पाएनौं भनिरहेका छन्, अहिले पनि नेपाली बजारमा झन्डै २ लाखका लागि रोजगारी दिनसक्ने बाटोहरु प्रसस्तै छन् । हाम्रो अर्थतन्त्रको अहिलेको आकारले जुन दरमा युवाहरु रोजगारीका लागि श्रमबजारमा आइरहेका छन् त्यसलाई थेग्न सक्दैन । वैदेशिक रोजगारी बाध्यता हो भन्ने भाष्य निर्माण गरिएको छ, त्यो पनि होइन । मानिस ग्लोबलाइज छन् । नेपालमा पनि झन्डै ३ हजार विभिन्न मूलका नागरिकहरुले (भारतीय मूलुकका बाहेक) काम गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि नेपालजस्तै अन्य देशका युवाहरु पनि श्रमका लागि विदेशिने क्रम बढ्दो रुपमा छ । केही देशको अर्थतन्त्र माइग्रेसनबाटै (रेमिट्यान्स) चलिरहेको पनि छ । हाम्रा देशका युवाहरु अहिले बढी मात्रामा खाडीमा गइरहेका छन्, तर त्यहाका युवाहरु पनि रोजगारीका लागि अन्य देशहरुमा गैरहेका छन् । यो ट्रेण्ड हो, विश्वव्यापी प्रविधि हो । तर, अहिले जुन रुपमा युवाहरु विदेशीएका छन् र जाँदाखेरि असुरक्षित हुनु परेको छ, त्यो अहम प्रश्न हो । कहीँ काम गर्न जाँदा सुरक्षित भएर जान सक्ने वातावरण हुनुपर्छ । व्यक्तिले रोजगारी मात्र होइन उसले त्यहाँको वातावरण र अनुशासन पनि सिक्छ । अहिले गल्फमा काम गर्ने धेरै नेपाली कामदारहरु होहल्ला गरेको, मदिरा सेवन गरेको, सार्वजनिक स्थानमा हुलहुल्जत गरेका केशहरुमा पनि परेका छन् । बाहिर जाँदैमा बिग्रीहाल्दैन । सीप सिकेर नै जनशक्ति आउँछ, यो भन्दै गर्दा मैले वैदेशिक रोजगारीको वकालत गरेको होइन । रोजगारीका लागि बाहिरिनेसँगै अहिले मृत्यु भएर फर्कनेको संख्या पनि बढ्दो छ । तथ्यांक अनुसार वार्षिक ६÷७ सय श्रमिकको मृत्यु भएको उल्लेख छ । केही जोखिमपूर्ण कामहरु छन्, जसलाई यहाँबाट छनोट गर्न सकिएन, केही व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको विषय छ त्यो पनि भएन । अर्काे आफुले नसिकेको काममा गएकाहरु पनि छन् । दुर्घटना तथा अन्य कारणले नेपालमा पनि मृत्यु हुनेहरुको संख्या बढ्दो क्रममा छन्, ती खासै हाइलाइट हुँदैनन् । हामीलाई वायुसेवा कम्पनी पनि चाहियो, एयरपोर्ट पनि चाहिने, नेपालीहरु विदेश जान पनि पाउनु पर्याे, कमाउन पनि पर्याे पनि भन्ने । तर, एयरपोर्टको बाहिरको भिडलाइ देखाएर विदेशीनेहरुको लर्काे भन्न मिल्यो ? मैले विदेशीनुपर्छ भन्ने पक्षमा भनेको होइन, हाम्रो अवस्थाको बारेमा भनेको मात्र हो । वैदेशिक रोजगारीका लागि मात्र नभएर अध्ययनका लागि पनि वार्षिक रुपमा २ लाखभन्दा बढी युवाहरु विदेशीएका छन् । कुनै विषयको प्रतिक्रिया दिनुभन्दा स्वदेशमा नै रोजगारीका लागि वातावरण बनाउनतर्फ लाग्नुपर्छ । स्वदेशमै रोजगारीका लागि नीति नियम बनाउने भूमिकामा सरकार छ । यसैगरी यहीँ व्यवसायमा लगानी बढाउन निजी क्षेत्रको भूमिका उत्तिकै छ । जुन किसिमको कामका नेपालीहरु विदेशीएका छन्, त्यसको ठूलो हिंसा नेपाली श्रम बजारमा नै रहेको छ । हामीकहाँ कामको सम्मान नै भएन्, स्वदेशमा यही काम गर्दा सानो हुने तर विदेशमा गएर गर्दा केही हुँदैन भन्ने मानसिकता छ, यसलाइ हटाउनुपर्छ । सबैले सबै कामको सम्मान गर्न सक्नुपर्छ । नेपालीहरु १७८ देशमा पुगेका छन् । नेपालीहरु बाहिर जानु नराम्रो होइन, तर शिक्षित भएर सुरक्षित रुपमा जानु राम्रो हो । तालिम लिएर वैदेशिक रोजगारीका लागि जानु, उताको पैसासँगै नयाँ सीप सिकेर नेपाल फर्र्किएपछि यही केही गर्नु राम्रो हो । अघिल्लो शताब्दीमा कुनै नेपाली युरोप, अमेरिका पुगेर आयो भने बाझागाजा बजाएर धुमधामका साथ गाउँमा स्वागत गरिथ्यो । वैदेशिक रोजगारीलाई हामीले प्रमोसन गर्ने होइन व्यवस्थित गर्ने मात्र हो । (भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव हुन् । )

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे

बाँके । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका-८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । ‘अरु बेला त राम्रै भीडभाड हुन्छ तर वर्षायामको दुई महिना जति पाहुना नआउँदा सुनसान हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले त पाहुना नआएका कारण सुनसानजस्तै छ, पाहुनाको पर्खाइमा बसेका छौं ।’ नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट सिजनमा पाहुनाको राम्रो चहलपहल हुने गर्छ । होमस्टेनजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहे पनि अहिले आन्तरिक पर्यटकको चहलपहल ठप्प रहेको नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताए । बैजनाथ गाउँपालिकामा रहेको जिल्लाकै चर्चित गाभर भ्याली होमस्टेमा पनि यतिबेला पाहुनाको चहलपहल छैन । वर्षातका कारण अहिले व्यवसाय ठप्पजस्तै रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना गर्दै आएको सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल कम भएपछि सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड बढी आम्दानी हुने गरेको चौधरीले जानकारी दिए । ‘अहिले त होमस्टे सुनसान छ, आएका पाहुनालाई खाने बसाउने गरेका छौं,’ बैजनाथको च्यामास्थित घरबास सञ्चालक गणेश चौधरीले भने, ‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, खर्च धान्न पनि मुस्किल भएको छ ।’ विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए । रासस

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँजात्राको तयारी

काठमाडौं । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ । राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ । वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गरेको इतिहास छ । आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको दृश्य देख्न सकिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुती पाइन्छ । मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौँ उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ । बौद्धमा रोपाइँ जात्राको तयारी प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँ जात्रा मनाउने प्रचलन छ । यसका लागि सबै तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । समितिको संयोजनमा बौद्ध क्षेत्रका सबै संस्थाको सहभागितामा जात्रा मनाउन लागिएको हो । सांस्कृतिक झाँकी, बाजा गाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाउने तयारी भएको हो । रोपाइँ जात्रा बौद्ध क्षेत्रको मौलिक पर्वका रुपमा स्थापित भएको छ । गाईजात्राको तेस्रो दिन अर्थात् भाद्रकृष्ण तृतीयाका दिन जगवागेश्वरीमा पनि रोपाइँजात्रा आयोजना गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भीड लाग्ने गर्छ । रासस

आठ वर्षपछि तातोपानी नाकाबाट सर्वसाधारणको नियमित आवतजावत सुरु

मेलम्ची । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ ९१ मे० बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाएका थिए । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । रासस