विकासन्युज

जिल्लालाई शक्तिशाली निकायको रूपमा राख्नुपर्थ्याे तर कमजोर बनाइयो : माधव नेपाल

सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरू आयोजना गरी राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ । संघ, प्रदेश सरकारले मुल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै यो बेला नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस—एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो । संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरू संशोधन गर्ने बेला आएको कांग्रेस—एमाले नेताहरूले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षबीच संसदमा सवालजवाफ भइरहेको छ । संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन लगायतका विषयमा कुराकानी गरेको छ । यो श्रृंखला संविधान दिवसका दिनसम्म प्रस्तुत गर्नेछौं । प्रस्तुत छ संविधान दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गरेको कुराकानीको सम्पादित अंश: संविधान जारी भएको ९ वर्ष पूरा भएको छ, यस अवधिमा संविधानको कार्यान्वयनको अवस्था कस्तो रह्यो, कसरी समीक्षा गर्नुहुन्छ ? संविधान जारी भएको दशौं वर्षमा प्रवेश गर्दैछौं । दश वर्ष पूरा गरेर, दश वर्षको अनुभव प्राप्त गरेर, व्यापक छलफल गरेर, समीक्षा गरेर, संविधान संशोधनको दिशामा अगाडि बढ्नसके राम्रो हुन्थ्यो । किनभने कुनै पनि संविधान अपरिवर्तनीय हुँदैन । असंशोधनीय हुँदैन । त्यसले समय, काल, परिस्थितिअनुसार कतिपय कुरामा परिवर्तन गर्नुपर्छ । कतिपय कुरामा सुधार गर्नुपर्छ । संशोधन गर्नुपर्छ । संसारका प्रत्येक संविधान यस्तै हुन्छन् । त्यसो हुनाले पनि हाम्रो यो संविधानमा संशोधन गर्ने प्रावधान पनि छ । प्रावधान भइसकेपछि संविधान संशोधन गर्ने अधिकार संसदलाई हुन्छ । संसदका सांसदहरूलाई हुन्छ । सांसदहरू, राजनीतिक दलहरूले नै यस बारेमा सोंच्ने कुरा हो । त्यसो हुनाले यो सार्वजनिक छलफलको विषय बनाउनुपर्छ । यो संसदको विषय मात्र पनि होइन । यो आम जनताको, राष्ट्रको सरोकारको विषय पनि हो । त्यसो हुनाले जनताको चाहना र भावनालाई र हाम्रो आजसम्मको कामहरूलाई ध्यानमा राखेर कुन–कुन पक्षहरू अलि नमिलेको देखियो? के–केमा सुधार गर्नुपर्ने आवश्यकता छ ? भन्ने बारेमा बृहत छलफल गर्नुपर्दथ्यो । तर जसरी अहिले संशोधनको कुरा ल्याइएका छन्, त्यो मध्यरातमा हस्ताक्षर गरेर बडो शंकास्पद देखिन्छ । यसभित्र राम्रो नियत छ कि छैन ? बुझ्न सकिँदैन । यसै भन्न सकिँदैन । अचानक दुईवटा पार्टीको निजी पेवाजस्तो ठानेर यो संविधानलाई आफ्नो पेवा ठानेर जसरी लिन खोजियो त्यो बेठीक हो । पहिले पनि यो संविधानलाई मिच्ने कोसिस भएको थियो । त्यही सोंचकै कारणले हो । त्यही सोंचको निरन्तरता नै हो । त्यसो हुनाले यसलाई गुपचुप मध्यरातमा सहमतिको विषय नबनाएर व्यापक जनताको माझमा पस्किनु पर्दथ्यो । बृहत दायरामा छलफल चलाउनु पर्दथ्यो । समाजका सबै क्षेत्रलाई यसमा सहभागी गराउन पाए राम्रो हुन्थ्यो । अहिले पनि सहभागी गराउनुपर्छ । गुपचुप रूपमा पास गर्नु हुँदैन । संविधानले गरेका व्यवस्थाहरू कार्यान्वयनको तहमा जाँदा सफलता वा असफलताको दृष्टिले हेर्दा के देखिन्छ ? संविधान सफल नै हो । तर कुनैपनि संविधान आफैमा अपरिवर्तनीय, संशोधनीय हुँदैन । समय, काल, परिस्थितिअनुसार नै अनुभवहरू प्राप्त गर्नुपर्छ । अभ्यासहरूको समीक्षा गर्नुपर्छ । त्यसक्रममा कतिपय कुराहरूको कमजोरी भएको छ भने त्यसलाई सुधार गर्नुपर्छ । संशोधन गर्नुपर्छ । संविधान सहमतिकै दस्तावेज हो । विभिन्न पक्षहरूका बीचमा सहमति नभएको भए संविधान बन्ने थिएन । त्यसो हुनाले संविधान बन्दाखेरि कतिपय कुराहरू अरूको पनि मान्दिनुपर्ने स्थिति बन्थ्यो । त्यसैले मानिएको पनि छ । उदाहरणको निम्ति जिल्लालाई जसरी कमजोर बनाइयो त्यसको विरोधमा छु म । जिल्लालाई शक्तिशाली निकायको रूपमा राख्नुपर्दथ्यो । राख्नुपर्छ भन्ने मेरो अहिले पनि मान्यता छ । किनभने जिल्लामा विकास निर्माणको कामलाई अघि बढाउने कुरा होस् कि शान्ति सुरक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कुरा होस् । यी दुईवटै कुराका लागि जिल्लाको इकाइलाई बलियो बनाउनु भयो भने त्यसपछि त्यसले राम्ररी अनुगमन गर्नसक्छ । केन्द्र आफैले पनि तलको माध्यमबिना एक्लै अनुगमन गर्न सम्भव हुँदैन । त्यसैले प्रदेशको पनि अधिकारहरू पनि अलि थप गर्न सकेको भए राम्रो हुन्थ्यो । अधिकार त हामीले दिएका छौं कतिपय निकायलाई तर कर्तव्य पालन गर्ने कुरामा ध्यान गएको छैन । अनुगमन प्रणाली हाम्रो कमजोर छ । अनुगमनको सिस्टम बलियो भएको छैन । सम्पूर्ण कामहरूमा हाम्रो समस्या कहाँ छ भने मूल्याङ्कन गर्ने, अनुगमन गर्ने, सुपरभिजन गर्ने र त्यसको आधारमा कमीत्रुटिहरू सुधार गर्ने दिशामा जसरी अघि बढ्नुपर्थ्याे त्यसरी अगाडि बढ्न सकेका छैनौं । त्यसैगरी, प्रदेशका इकाइहरूले पाउनुपर्ने अधिकारहरू प्राप्त भएकाे छैन । त्यो बिना अधिकारको निकाय किन राख्ने ? कतिपय अरू पदहरू छन्, जस्तोः प्रदेश प्रमुखहरू । प्रदेश प्रमुखमा लाग्ने खर्च के गर्ने ? उपराष्ट्रपतिको पदलाई के गर्ने ? राष्ट्रियसभाका अध्यक्ष पदलाई के गर्ने ? यी विभिन्न देशका आ–आफ्ना अनुभवहरू छन् । हाम्रा अनुभवले के भन्छ ? यो पनि बृहत छलफलको विषय बनाउनु पर्छ । समावेशितालाई पालन गर्ने सन्दर्भमा कहाँ–कहाँ समस्या देखा परेका छन् ? समावेशिताको मूल्यमान्यतालाई आत्मसात् त गर्‍याैं । लोकतान्त्रिकरणको मूल्य र मान्यतालाई हामीले आत्मसात त गर्‍याैं । सुशासनको मूल्य र मान्यतालाई आत्मसात त गर्‍याैं । यी तीनवटै कुराको सन्दर्भमा हामीले आवश्यक अधिकार र कर्तव्यको संयोजन कति हुन सकेको छ त्यसको बारेमा पनि राम्ररी अध्ययन गर्ने, समीक्षा गर्नु आवश्यक आवश्यक छ । निर्वाचन प्रणालीका कारण सरकार अस्थिर भयो भनेर निर्वाचन प्रणाली फेर्ने बहस चलेको छ, कस्तो निर्वाचन प्रणाली बनाउने हो त अब ? निर्वाचन प्रणाली अथवा शासकीय प्रणालीको बारेमा छलफल गर्नैपर्ने कुरा हो । किनभने संसारको कुनैपनि शासन प्रणाली आफैमा उत्कृष्ट छैन । राष्ट्रपति भएको प्रणालीका एक भारी समस्या छन् । तानाशाही लाद्ने जस्तो गरिएको छ । त्यसबाट पनि शिक्षा लिनुपर्‍याे । त्यसैगरी, राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा अधिकारहरूको बाँडफाँड गर्ने अर्को प्रणाली छ, त्यसको पनि आफ्नै समस्या छ । संसदले प्रधानमन्त्री चयन हुने व्यवस्था छ, यी कुराको सन्दर्भमा हाम्रो त विचित्र देखियो । पहिला सबभन्दा ठूलो पार्टी र दोस्रो ठूलो पार्टी दुईवटै सरकारमा गए । कस्तो प्रतिष्पर्धा होला ? यी दुईवटामध्ये एउटाले त ठूलो पार्टी बन्न खोज्छ, खोज्छ । बहुमत ल्याउन खोज्छ । अहिले के देश राष्ट्रिय संकटमा परेको स्थिति हो र ? के राष्ट्रिय सहमतिको सरकार बनाउन खोजिएको हो र ? यो किन गरिएको होला ? गम्भीर प्रश्नहरू खडा भएको छ । यी सबै कुराको सन्दर्भमा हामीले छलफल गर्नुपर्छ। तर कुनैपनि सिस्टम आफैमा पर्फेक्ट छैन । त्यहाँको जनता, त्यहाँको राजनीतिक दलहरू र नेताहरूको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । सिस्टममा भएका त्रुटिहरूलाई सुधार्दै जानुपर्दछ । हामीले पनि ट्रेडिशनल वेस्ट मिनिस्टर सिस्टम पालन गरेका छैनौं । हामीले हाम्रै देशमा अनुभवको आधारमा सुधार्दै, अगाडि बढ्दै आएका पनि छौं । निर्वाचन प्रणालीकै कुरा गर्ने हो भनेपनि समानुपातिक निर्वाचन प्रणालीको पनि अभ्यास गर्‍याैं । त्यसमा पनि विकृतिहरू देखिरहेका छन् । त्यसको आफ्नै सीमितता देखिएका छन् । किनभने एक तिहाई महिलाको उपस्थिति कसरी गराउन सक्नुहुन्छ ? दलितहरूको उपस्थिति कसरी गराउन सक्नुहुन्छ ? समावेशी कसरी बनाउन सक्नुहुन्छ ? यी सबै कुराहरूको सन्दर्भमा पनि कुनै न कुनै उपाय त खोज्नुपर्छ । त्यो उपाय खोज्ने सन्दर्भमा तल्लो सदनलाई प्रत्यक्ष निर्वाचनबाट ल्याउने कुरा आयो । माथिल्लो सदनलाई समानुपातिकको आधारमा गरौं भन्ने पनि कुरा आयो । अहिले नै हामीले यसलाई छलफलको विषय बनाएका छैनौं । हामीले एजेण्डा बनाएका छैनौं । हामी भित्रै पनि छलफलको आवश्यकता छ । त्यसको निम्ति पहिले वृहत छलफलको प्रक्रिया सुरु हुनुपर्‍याे । मेरो निजी धारणा होला । मैले निजी धारणा भन्दै हिँड्ने कुरा भएन । सरकारले संविधान संशोधनको एजेण्डा प्रमुख रूपमा बोकेको छ, प्रतिनिधिसभाको यो कार्यकालमा संविधान संशोधन सम्भव छ त ? म देखिरहेको छैन । सबभन्दा पहिले राम्रो काम गराउनुपर्‍याे । भ्रष्टाचारको अन्त्य गर्नुपर्‍याे । सुशासनको प्रत्याभूति गर्नुपर्‍याे । विकास निर्माणको कामलाई गति दिनुपर्‍याे । विकास भनेको प्रतिफल प्राप्त भएको ठाउँमा लगानी गर्नुपर्‍याे । प्रतिफल प्राप्त नहुने ठाउँमा लगानी गर्ने होइन । अहिले हवाइजहाजमा लगानी गर्ने होइन । अहिले टावरमा लगानी गर्ने होइन । अनुत्पादक क्षेत्रमा गर्ने होइन । रोजगारी प्रवर्द्धन गर्ने क्षेत्रमा, उत्पादन वृद्धि गर्ने क्षेत्रमा, राज्यलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा, कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न कृषिलाई पहिलो प्राथमिकता दिन सक्नुपर्‍याे । जलविद्युत र पर्यटनलाई, पूर्वाधार र शिक्षालाई महत्व दिनुपर्‍याे । अध्ययन, अनुसन्धानमा लगानी गर्नुपर्‍याे । अनुसन्धान नगरी लगानी गर्ने परम्परा अन्त्य गर्नुपर्‍याे । काम समयमा सम्पन्न हुँदैन । गुणस्तरीय हुँदैन । अधुरो छोडिन्छ । दण्डित केही हुँदैन । दण्ड र पुरस्कारको प्रणाली स्थापना भइरहेको छैन । सुशासनमा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसकारण गर्नुपर्ने काम नगर्ने अनि नगरी नहुने काममा ध्यान नदिने । अनि अरू ठूल्ठूला कुरा गरेको कुनै अर्थ हुन्छ ? विगतमा केही निर्णयमा राष्ट्रपतिहरू विवादित पनि बने, राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको सम्बन्धमा संविधानमा अस्पष्टता भएर हो अथवा नियतमाथिको प्रश्न हो ? कतिपय कुरामा प्रष्टता चाहियो भने सर्वोच्च अदालतले, संवैधानिक अदालतले त्यसको व्याख्या गरिदिनु पर्छ । किनकि संविधानको प्रत्येक प्रावधानहरूलाई बुझ्ने, व्याख्या गर्ने एउटा आधार हुन्छ । हामीले त्यो बेलामा भएको बहसको छुट्टै रेकर्ड राख्नुपर्थ्याे आधिकारिकता दिएर । संवैधानिक अदालतले राष्ट्रपतिको अधिकारको सम्बन्धमा कुनै अस्पष्टता छ भने स्पष्ट पारिदिनु पर्‍याे । प्रथम राष्ट्रपति रामवरण यादवले त त्यो बेलामा राजनीतिक दलहरूको साथ, सहयोग समर्थनबाट गर्नुभएको हो । (तत्कालीन प्रधानसेनापतिको थमौती प्रकरण) एकलौटी गरेको होइन । तर पछिल्लो कालमा त्यो कुरा एउटा पार्टीको निम्ति मात्रै गरियो । जसलाई सर्वोच्च अदालतले अस्वीकार गरिदियो । त्यसबाट थाहा हुन्छ नि । सर्वोच्चको फैसलाले नै जनभावनाको पनि कदर, संविधानको मूल मर्मको पनि रक्षा गर्ने काम गर्‍याे । राजनीतिक दलहरूमा थ्रेसहोल्ड बढाउने कुरा छलफल हुन थालेका छन्, खासगरी दुई ठूला पार्टीले यसको वकालत गरिरहेका छन्, यसमा यहाँको प्रतिक्रिया के छ ? थ्रेसहोल्ड बढाउने कुरा भनेको आफ्नो पार्टीलाई कसरी ठूलो पार्टी बनाउने, अरू पार्टीलाई कसरी सिध्याउने ? काम गरेर होइन, जनताको मन जितेर होइन, चुनावमा बहुमत ल्याएर होइन, अरू पार्टीलाई टुक्र्याएर, लोभ–लालच बाँडेर, थ्रेसहोल्ड बढाएर यो सबै गरेर दुई दलीय शासन पनि होइन, एक दलिय शासनमा जाने कदम हो । यो समयमा बुझिएन भने पछि पछुताउनुपर्ने हुन्छ । राष्ट्रियसभाको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेका छन्, संविधान संशोधनको कुरा उठ्दा यो विषयमा पनि छलफल गर्नुपर्छ कि के छ ? छलफल गर्न सकिएला । तर दुईवटा सदन हुँदाखेरी बौद्धिक व्यक्तित्वहरूलाई अथवा विज्ञहरूलाई ठाउँ दिने स्थान हो राष्ट्रियसभा । समावेशी बनाउनका लागि पनि त्यसले भूमिका खेल्न सक्दछ । त्यसको आवश्यकता त देखिन्छ । एउटैमा सबैलाई मिलाऊँ भन्दा अब त्यसले कत्तिको भ्याउन सक्छ ? छलफलको विषय बनाऔं । हामी छलफल गर्न तयार छौं । अन्तिममा, संविधान संशोधन नै गर्ने हुँदा के–केमा गर्ने त ? धेरै कुरा छन् । चुनाव प्रणालीकै बारेमा । महिलाहरूका निम्ति बेग्लै प्रत्यक्ष चुनावबाट पनि जितेर आउने सिटहरू छुट्याउनु पर्छ । दलितको निम्ति पनि गर्नुपर्छ । अनेक त्यस्ता विषयहरू छन् । त्यो विषयहरू छलफलको विषय बन्नुपर्छ । हाम्रो समाज नै समावेशी समाज छ । समाजको जुन स्वरूप छ, त्यसलाई हाम्रो संविधानले र प्रणालीले पनि प्रतिविम्वित गर्नुपर्छ ।

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

परिश्रम गर्ने युवालाई दैशमै अवसर, केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लागेका उनले वार्षिक १३–१४ लाख रुपैयाँ बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएका किसान चौधरी भन्छन्, ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी बताउँछन् । उनी अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको बताउँछन् । किसान चौधरीले भने, ‘उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।’ भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनी बताउँछन् । उनीजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन् । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिएका हुन् । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताए । थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउँछन् । उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भने, ‘केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।’ कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउँछन् । जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । रासस

५ सय मेट्रिक टन मह बिक्री हुन नसक्दा चितवनका किसान चिन्तित

भरतपुर । चितवनमा उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए । उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए । यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उनले बताए । उनी भन्छन्, ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । उनले भने, ‘नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।’ यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ ।

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५७ हजार ३ सय

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजावी सुनको मूल्य पनि तोलाको ५ सय रुपैयाँले नै बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलाको १५ रपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइहरेको छ ।

कर्मचारी सञ्चय कोषले गर्‍याे ६३औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरि

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औं वार्षिकोत्सवका अवसरमा साेमबार प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ। कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो । कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएका छन्। कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै, सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् । प्रशासक धितालका अनुसार सञ्चयकोषमा पाँच खर्ब २९ अर्ब ६९ करोड रुपैयाँसहित करिब रु छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ । याे पनि पढ्नूहाेस्: एउटै प्रकृतिका चारवटा कोष हुँदा अन्यौलता बढ्यो, कोषको दायरा स्पष्ट पार्नुपर्छ: धिताल

सानिमा रिलायन्सले १८.३८ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को संचित नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल रहेको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत लाभांश स्वरुप बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नियमनकारी निकायको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर निर्धारण, अमेरिकी डलरको मूल्य बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ७८ पैसा र बिक्रीदर ९० रुपैँया १८ पैसा कायम भएको छ । आइतबार  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो । सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैँया २० पैसा र बिक्रीदर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ ।  आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैँया ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५६ पैसा कायम गरिएको थियो । चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो ।केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ०३ पैसा र बिक्रीदर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो । युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो ।स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो । डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार  कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो । राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।